सम्पादकीय : हुक्का डाँडाको प्रवर्द्धन र ग्रामीण पर्यटन

नेपालको ग्रामीण जीवन प्रकृति, संस्कृति र परम्परासँग जोडिएको छ । गाउँका उकाली–ओराली, हरियाली वन, खेतबारी, खोलानाला, पुराना बाटा, स्थानीय बस्ती र मौलिक जीवनशैली आफैँमा पर्यटनका सम्पत्ति हुन् । तर हामीले लामो समयसम्म आफ्नै वरिपरि रहेका यस्ता सम्भावनालाई पर्यटनको दृष्टिले हेर्न सकेनौँ । अहिले भने विस्तारै गाउँका कुनाकाप्चामा रहेका प्राकृतिक तथा सांस्कृतिक सम्पदाले पर्यटक तान्न थालेका छन्। तनहुँको भिमाद नगरपालिका–१ स्थित हुक्का डाँडा लिलिङ्कोट यसको एउटा उदाहरण हो । लिलिङ्कोटमा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दै जानु सामान्य घटना मात्र होइन । यसले ग्रामीण पर्यटनको सम्भावनातर्फ संकेत गरेको छ । किहुँ, हुक्का डाँडा, लिलिङकोट, सतिकोट गुफा हुँदै डाडाजोरसम्मका क्षेत्रलाई जोडेर एकीकृत पर्यटन सर्किट बनाउने पहल सुरु हुनु त्यस अर्थमा सकारात्मक कदम हो। छरिएर रहेका पर्यटकीय स्थललाई एउटै मार्ग र अवधारणामा जोड्न सके एउटा गन्तव्यमा आउने पर्यटकलाई अर्को गन्तव्यसम्म पुर्याउन सकिन्छ । यसबाट पर्यटकको बसाइ लम्बिन सक्छ र गाउँको अर्थतन्त्रमा त्यसको प्रत्यक्ष प्रभाव पर्न सक्छ ।

पर्यटनको वास्तविक अर्थ केवल बाहिरबाट मानिस ल्याउनु मात्र होइन । पर्यटनले गाउँमा पैसा ल्याउनुपर्छ, स्थानीय उत्पादनको बजार विस्तार गर्नुपर्छ र गाउँमै रोजगारी सिर्जना गर्नुपर्छ । लिलिङकोटमा पर्यटक आउँदा स्थानीयले उत्पादन गरेको दूध, दही, घिउ, मह, तरकारी, फलफूल, अचार, स्थानीय परिकार तथा हस्तकलाका सामग्री बिक्री हुन सक्ने वातावरण बनाउन सकिन्छ । स्थानीय युवाले गाइड, यातायात, होटल, होमस्टे, सरसफाइ, मनोरञ्जन र अन्य सेवामा रोजगारी पाउन सक्छन् । यसरी पर्यटनलाई स्थानीय अर्थतन्त्रसँग जोड्न सकियो भने गाउँबाट युवा पलायनको क्रमसमेत केही हदसम्म रोक्न सकिन्छ । ग्रामीण पर्यटनको अर्को महत्वपूर्ण पक्ष स्थानीय जीवनशैली हो । पर्यटक सहरको सुविधा खोजेर गाउँ जाँदैन । उसले त्यहाँ आफूले दैनिक जीवनमा नदेखेको मौलिकता खोज्छ । गाउँको घर, आँगन, खेतबारी, स्थानीय खाना, लोकगीत, नाच, भेषभूषा, परम्परा र मानिसको आत्मीय व्यवहार नै ग्रामीण पर्यटनका आकर्षण हुन् ।

त्यसैले गाउँलाई सहरजस्तै बनाउनेभन्दा गाउँको मौलिकता जोगाएर पर्यटन विकास गर्नु बुद्धिमानी हुन्छ । पर्यटनका नाममा कङ्क्रिटका संरचना मात्र थप्दै जाने हो भने ग्रामीण पर्यटनको वास्तविक पहिचान हराउन सक्छ। लिलिङ्कोटको प्राकृतिक सौन्दर्य यसको अर्को ठूलो सम्पत्ति हो । त्यहाँबाट स्याङ्जाको हरिनास क्षेत्रका हरिया डाँडा, पाखा, खेतबारी, वनजंगल तथा खोलानाला देखिन्छन् । पाल्पाका पहाडी भूभागदेखि आसपासका बस्ती र मगर गाउँसम्मको दृश्यावलोकन गर्न सकिन्छ । यस्तो प्राकृतिक सम्पदा निर्माण गर्नुपर्दैन, केवल संरक्षण गर्नुपर्छ । यही कारण पर्यटकीय पूर्वाधार विकास गर्दा वातावरण संरक्षणलाई पहिलो प्राथमिकता दिनुपर्छ ।

पर्यटक बढेपछि फोहोर बढ्नु स्वाभाविक हो । खानेपानीको स्रोतमा दबाब पर्न सक्छ । वन तथा जैविक विविधतामाथि असर पर्न सक्छ । अव्यवस्थित सडक र निर्माणले प्राकृतिक भू–दृश्य बिगार्न सक्छ । त्यसैले पर्यटन विकासको नाममा प्रकृतिको विनाश स्वीकार्य हुँदैन । फोहोर व्यवस्थापन, स्वच्छता, पानीको संरक्षण, पदमार्गको वैज्ञानिक निर्माण र वातावरणमैत्री पूर्वाधार अहिले नै योजनामा राखिनुपर्छ । आज पर्यटक ल्याउने नाममा प्रकृति बिगारियो भने भोलि पर्यटक आउने कारण नै समाप्त हुन सक्छ । लिलिङकोटको सम्भावना प्राकृतिक दृश्यमा मात्र सीमित छैन । यस क्षेत्रको ऐतिहासिक तथा राजनीतिक स्मृतिलाई पनि पर्यटनसँग जोड्न सकिन्छ ।

सामाजिक तथा राजनीतिक परिवर्तनका लागि जीवन बलिदान गरेका सहिदहरूको योगदानसँग जोडिएको भूगोल भएकाले इतिहास र स्मृतिको पर्यटन विकास गर्न सकिने सम्भावना छ । सहिद पार्क, स्मृति स्थल, सूचना केन्द्र तथा ऐतिहासिक विवरणलाई व्यवस्थित रूपमा प्रस्तुत गर्न सके नयाँ पुस्ताले इतिहास बुझ्ने र पर्यटकले फरक अनुभव प्राप्त गर्ने अवसर पाउनेछन् । तर पर्यटन विकास सरकार वा नगरपालिकाले मात्र गरेर सम्भव हुँदैन । स्थानीय समुदाय यसको मुख्य साझेदार हुनुपर्छ । पर्यटनबाट आम्दानी गर्ने अवसर केही व्यक्तिमा मात्र सीमित भयो भने यसले गाउँमा असमानता बढाउन सक्छ । त्यसैले स्थानीय समुदायको सहभागिता, महिला तथा युवाको भूमिका, सहिद परिवारको सम्मान र स्थानीय व्यवसायीको लगानीलाई समान रूपमा जोडिनुपर्छ । पर्यटनबाट हुने आम्दानी गाउँमै घुम्ने वातावरण बनाउनु आवश्यक छ ।

किहुँदेखि डाडाजोरसम्मको पर्यटन सर्किट केवल एउटा सडक वा पदमार्गको योजना बन्नु हुँदैन । यो ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने समग्र योजना बन्नुपर्छ । कहाँ होमस्टे सञ्चालन गर्ने, कहाँ स्थानीय उत्पादन बिक्री गर्ने, कहाँ पदयात्रा गर्ने, कहाँ सांस्कृतिक कार्यक्रम गर्ने, कहाँ ऐतिहासिक सूचना दिने र कहाँ प्राकृतिक दृश्यावलोकन गर्ने भन्ने स्पष्ट योजना आवश्यक छ । नेपालका धेरै गाउँमा पर्यटनको सम्भावना छ, तर सम्भावना मात्र भएर गाउँ समृद्ध हुँदैन । सम्भावनालाई उत्पादन, रोजगारी र आयआर्जनसँग जोड्न सक्नुपर्छ।

लिलिङकोटमा सुरु भएको आकर्षणलाई त्यही दिशामा अघि बढाउन सके पर्यटन गाउँको जीवन बदल्ने माध्यम बन्न सक्छ । त्यसका लागि प्रचारभन्दा पहिले योजना, योजनाभन्दा पहिले संरक्षण र संरक्षणसँगै स्थानीय जनताको स्वामित्व आवश्यक छ । हाम्रो गाउँको प्रकृति नै हाम्रो पूँजी हो । संस्कृति हाम्रो पहिचान हो । स्थानीय उत्पादन हाम्रो अर्थतन्त्रको आधार हो र श्रम गर्ने गाउँले नै पर्यटन विकासका वास्तविक साझेदार हुन् । त्यसैले हुक्का डाँडा लिलिङकोटदेखि डाडाजोरसम्मको पर्यटन अभियानलाई एउटा गन्तव्य निर्माणको प्रयासमा सीमित नराखी प्रकृति जोगाउँदै गाउँको जीवनस्तर उकास्ने र स्थानीय आम्दानी बढाउने अभियानका रूपमा अघि बढाउनुपर्छ । त्यसो गर्न सके पर्यटन केवल घुम्ने ठाउँको विकास हुनेछैन, गाउँमै भविष्य खोज्ने नयाँ बाटो पनि बन्नेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker