सम्पादकीय : हुक्का डाँडाको प्रवर्द्धन र ग्रामीण पर्यटन

नेपालको ग्रामीण जीवन प्रकृति, संस्कृति र परम्परासँग जोडिएको छ । गाउँका उकाली–ओराली, हरियाली वन, खेतबारी, खोलानाला, पुराना बाटा, स्थानीय बस्ती र मौलिक जीवनशैली आफैँमा पर्यटनका सम्पत्ति हुन् । तर हामीले लामो समयसम्म आफ्नै वरिपरि रहेका यस्ता सम्भावनालाई पर्यटनको दृष्टिले हेर्न सकेनौँ । अहिले भने विस्तारै गाउँका कुनाकाप्चामा रहेका प्राकृतिक तथा सांस्कृतिक सम्पदाले पर्यटक तान्न थालेका छन्। तनहुँको भिमाद नगरपालिका–१ स्थित हुक्का डाँडा लिलिङ्कोट यसको एउटा उदाहरण हो । लिलिङ्कोटमा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दै जानु सामान्य घटना मात्र होइन । यसले ग्रामीण पर्यटनको सम्भावनातर्फ संकेत गरेको छ । किहुँ, हुक्का डाँडा, लिलिङकोट, सतिकोट गुफा हुँदै डाडाजोरसम्मका क्षेत्रलाई जोडेर एकीकृत पर्यटन सर्किट बनाउने पहल सुरु हुनु त्यस अर्थमा सकारात्मक कदम हो। छरिएर रहेका पर्यटकीय स्थललाई एउटै मार्ग र अवधारणामा जोड्न सके एउटा गन्तव्यमा आउने पर्यटकलाई अर्को गन्तव्यसम्म पुर्याउन सकिन्छ । यसबाट पर्यटकको बसाइ लम्बिन सक्छ र गाउँको अर्थतन्त्रमा त्यसको प्रत्यक्ष प्रभाव पर्न सक्छ ।
पर्यटनको वास्तविक अर्थ केवल बाहिरबाट मानिस ल्याउनु मात्र होइन । पर्यटनले गाउँमा पैसा ल्याउनुपर्छ, स्थानीय उत्पादनको बजार विस्तार गर्नुपर्छ र गाउँमै रोजगारी सिर्जना गर्नुपर्छ । लिलिङकोटमा पर्यटक आउँदा स्थानीयले उत्पादन गरेको दूध, दही, घिउ, मह, तरकारी, फलफूल, अचार, स्थानीय परिकार तथा हस्तकलाका सामग्री बिक्री हुन सक्ने वातावरण बनाउन सकिन्छ । स्थानीय युवाले गाइड, यातायात, होटल, होमस्टे, सरसफाइ, मनोरञ्जन र अन्य सेवामा रोजगारी पाउन सक्छन् । यसरी पर्यटनलाई स्थानीय अर्थतन्त्रसँग जोड्न सकियो भने गाउँबाट युवा पलायनको क्रमसमेत केही हदसम्म रोक्न सकिन्छ । ग्रामीण पर्यटनको अर्को महत्वपूर्ण पक्ष स्थानीय जीवनशैली हो । पर्यटक सहरको सुविधा खोजेर गाउँ जाँदैन । उसले त्यहाँ आफूले दैनिक जीवनमा नदेखेको मौलिकता खोज्छ । गाउँको घर, आँगन, खेतबारी, स्थानीय खाना, लोकगीत, नाच, भेषभूषा, परम्परा र मानिसको आत्मीय व्यवहार नै ग्रामीण पर्यटनका आकर्षण हुन् ।
त्यसैले गाउँलाई सहरजस्तै बनाउनेभन्दा गाउँको मौलिकता जोगाएर पर्यटन विकास गर्नु बुद्धिमानी हुन्छ । पर्यटनका नाममा कङ्क्रिटका संरचना मात्र थप्दै जाने हो भने ग्रामीण पर्यटनको वास्तविक पहिचान हराउन सक्छ। लिलिङ्कोटको प्राकृतिक सौन्दर्य यसको अर्को ठूलो सम्पत्ति हो । त्यहाँबाट स्याङ्जाको हरिनास क्षेत्रका हरिया डाँडा, पाखा, खेतबारी, वनजंगल तथा खोलानाला देखिन्छन् । पाल्पाका पहाडी भूभागदेखि आसपासका बस्ती र मगर गाउँसम्मको दृश्यावलोकन गर्न सकिन्छ । यस्तो प्राकृतिक सम्पदा निर्माण गर्नुपर्दैन, केवल संरक्षण गर्नुपर्छ । यही कारण पर्यटकीय पूर्वाधार विकास गर्दा वातावरण संरक्षणलाई पहिलो प्राथमिकता दिनुपर्छ ।
पर्यटक बढेपछि फोहोर बढ्नु स्वाभाविक हो । खानेपानीको स्रोतमा दबाब पर्न सक्छ । वन तथा जैविक विविधतामाथि असर पर्न सक्छ । अव्यवस्थित सडक र निर्माणले प्राकृतिक भू–दृश्य बिगार्न सक्छ । त्यसैले पर्यटन विकासको नाममा प्रकृतिको विनाश स्वीकार्य हुँदैन । फोहोर व्यवस्थापन, स्वच्छता, पानीको संरक्षण, पदमार्गको वैज्ञानिक निर्माण र वातावरणमैत्री पूर्वाधार अहिले नै योजनामा राखिनुपर्छ । आज पर्यटक ल्याउने नाममा प्रकृति बिगारियो भने भोलि पर्यटक आउने कारण नै समाप्त हुन सक्छ । लिलिङकोटको सम्भावना प्राकृतिक दृश्यमा मात्र सीमित छैन । यस क्षेत्रको ऐतिहासिक तथा राजनीतिक स्मृतिलाई पनि पर्यटनसँग जोड्न सकिन्छ ।
सामाजिक तथा राजनीतिक परिवर्तनका लागि जीवन बलिदान गरेका सहिदहरूको योगदानसँग जोडिएको भूगोल भएकाले इतिहास र स्मृतिको पर्यटन विकास गर्न सकिने सम्भावना छ । सहिद पार्क, स्मृति स्थल, सूचना केन्द्र तथा ऐतिहासिक विवरणलाई व्यवस्थित रूपमा प्रस्तुत गर्न सके नयाँ पुस्ताले इतिहास बुझ्ने र पर्यटकले फरक अनुभव प्राप्त गर्ने अवसर पाउनेछन् । तर पर्यटन विकास सरकार वा नगरपालिकाले मात्र गरेर सम्भव हुँदैन । स्थानीय समुदाय यसको मुख्य साझेदार हुनुपर्छ । पर्यटनबाट आम्दानी गर्ने अवसर केही व्यक्तिमा मात्र सीमित भयो भने यसले गाउँमा असमानता बढाउन सक्छ । त्यसैले स्थानीय समुदायको सहभागिता, महिला तथा युवाको भूमिका, सहिद परिवारको सम्मान र स्थानीय व्यवसायीको लगानीलाई समान रूपमा जोडिनुपर्छ । पर्यटनबाट हुने आम्दानी गाउँमै घुम्ने वातावरण बनाउनु आवश्यक छ ।
किहुँदेखि डाडाजोरसम्मको पर्यटन सर्किट केवल एउटा सडक वा पदमार्गको योजना बन्नु हुँदैन । यो ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने समग्र योजना बन्नुपर्छ । कहाँ होमस्टे सञ्चालन गर्ने, कहाँ स्थानीय उत्पादन बिक्री गर्ने, कहाँ पदयात्रा गर्ने, कहाँ सांस्कृतिक कार्यक्रम गर्ने, कहाँ ऐतिहासिक सूचना दिने र कहाँ प्राकृतिक दृश्यावलोकन गर्ने भन्ने स्पष्ट योजना आवश्यक छ । नेपालका धेरै गाउँमा पर्यटनको सम्भावना छ, तर सम्भावना मात्र भएर गाउँ समृद्ध हुँदैन । सम्भावनालाई उत्पादन, रोजगारी र आयआर्जनसँग जोड्न सक्नुपर्छ।
लिलिङकोटमा सुरु भएको आकर्षणलाई त्यही दिशामा अघि बढाउन सके पर्यटन गाउँको जीवन बदल्ने माध्यम बन्न सक्छ । त्यसका लागि प्रचारभन्दा पहिले योजना, योजनाभन्दा पहिले संरक्षण र संरक्षणसँगै स्थानीय जनताको स्वामित्व आवश्यक छ । हाम्रो गाउँको प्रकृति नै हाम्रो पूँजी हो । संस्कृति हाम्रो पहिचान हो । स्थानीय उत्पादन हाम्रो अर्थतन्त्रको आधार हो र श्रम गर्ने गाउँले नै पर्यटन विकासका वास्तविक साझेदार हुन् । त्यसैले हुक्का डाँडा लिलिङकोटदेखि डाडाजोरसम्मको पर्यटन अभियानलाई एउटा गन्तव्य निर्माणको प्रयासमा सीमित नराखी प्रकृति जोगाउँदै गाउँको जीवनस्तर उकास्ने र स्थानीय आम्दानी बढाउने अभियानका रूपमा अघि बढाउनुपर्छ । त्यसो गर्न सके पर्यटन केवल घुम्ने ठाउँको विकास हुनेछैन, गाउँमै भविष्य खोज्ने नयाँ बाटो पनि बन्नेछ ।










