तनहुँको व्यास नगरपालिकाले ३२औं स्थापना दिवस मनायो (तस्विरसहित)
भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिकाले विविध कार्यक्रम गरी ३२औं स्थापना दिवस मनाएको छ । वि.सं. २०४८ साल चैत ३० गते स्थापना भएको नगरपालिकाले शुक्रबार स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसका अवसरमा नगरपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट योग्दान पुर्याउने व्यक्त तथा संघ संस्थाहरुलाई सम्मान गरेको छ । नगरपालिकाले शिक्षकहरुको तर्फबाट ५ जना, कृषि तथा पशुपंशीतर्फ ४ जना, उपभोक्ता समितितर्फ ५ जना, टोल विकास संस्थातर्फ ४ जनालाई सम्मान गरेको छ ।

यस्तै, करदातातर्फ ४ जना, कर्मचारीतर्फ ६ जना, निवर्तमान वडाध्यक्ष लेख बहादुर राना र विद्यार्थी तर्फ ९ जनालाई एवं प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको छ ।
स्थापना दिवसको अवसरमा नगरपालिकाले प्रकाशन गरेको व्यास नगर दर्पण पुस्तक विमोचन समेत गरिएको थियो । तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले उक्त पुस्तकको विमोचन गरेका थिए ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आयोजित स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पूर्वमन्त्री भण्डारीले कृषि र पर्यटनलाई प्राथमिकतामा राखी योजना बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य पदम परियार, पूर्व सदस्य प्रकाश पन्थ, प्रदेश सभासदस्य अशोककुमार श्रेष्ठ, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै, स्थापना दिवसका अवसरमा नगरपालिका भित्रका बिभिन्न जनजाति तथा समुदायले आ-आफ्नो पहिचान झल्कने भेषभूषामा सजिएर साँस्कृतिक कार्यक्रम प्रस्तुत समेत गरेका थिए ।
वि.सं. २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनापछि सम्पन्न पहिलो आम निर्वाचनबाट तत्कालिन सरकारद्वारा २०४८ चैत ३० गते व्यास नगरपालिका स्थापना भएको थियो ।

तत्कालिन जिल्ला विकास समिति तनहुँको (हालको कृषि ज्ञान केन्द्रको कार्यालय पूर्वपट्टी) सानो टिनको छाना भएको भवनमा नगरपालिकाको कार्यालय चलेको थियो ।










