तनहुँमा बढ्यो चुनावी सरगर्मी, उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्न थाले
भञ्ज्याङ समाचारदाता/दमौली

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तनहुँमा चुनावी सरगर्मी बढ्दै गएको छ । दुइ प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार गरी ५७ जनाले उम्मेदवारी दर्ता गरी अहिले चुनावी तयारीमा जुटेका छन् ।
तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी मैदानमा उत्रिएका छन् । विसं २०७४ को निर्वाचनमा तत्कालीन बाम गठबन्धनका उम्मेदवारसँग पराजित पौडेल यसपटक निर्वाचन जित्ने र प्रधानमन्त्री बन्ने दौडमा छन् । गत निर्वाचनमा जनतामा असझदारी पैदा हुँदा आफूले चुनाव हारेको बताउँदै नेता पौडेल यस पटक तनहुँका जनताले विजयी गराउनेमा विश्वास्त छन् ।
तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि दुइ पूर्व वनमन्त्रीबीच प्रतिस्पर्धा हुँदैछ । नेकपा (एमाले)बाट किरण गुरुङ र नेपाली कांग्रेसबाट शंकर भण्डारी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री समेत रहेका गुरुङ मुलुकको राजनीतिक स्थायित्व, स्थिरता, राष्ट्रिय स्वाभिमान, अखण्डता, मुलुकको समृद्धि र अग्रगामी परिवर्तनका लागि आफू उम्मेदवार बनेको बताएका छन् ।
उम्मेदवारको अन्तिम नामावली सार्वजनिक तथा चुनाव चिन्ह प्राप्त गरेसंगै जिल्लामा चुनावको माहोल बनेको होटल व्यवसायी संघ तनहुँका अध्यक्ष दुर्गाविलास भट्टराइ बताउँछन् । ‘उम्मेदवारी दर्ता अगाडि पनि चुनावको चर्चा हुने गरेको थियो, अब त उम्मेदवार आ-आफ्नो घोषणापत्र र प्रतिवद्धता लिएर मतदाताको घरदैलोमा पुग्न थालेसंगै माहोल चुनावमय बन्दै गएको छ’, उनले भने, ‘उम्मेदवारहरु अहिले आ-आफ्नो निर्वाचन सम्पर्क कार्यालय खोल्ने, घोषणापत्र तयार गर्ने तथा होटलहरुमा बसी चुनावी तयारीका विषयमा छलफल गर्ने जस्ता कार्यले चुनावी माहोल बनेको छ ।’
विसं २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले दुइ प्रतिनिधिसभा र चार प्रदेशसभा गरी छ सिट गुमाएको थियो । यो पटक छ वटै सिट कांग्रेस र गठबन्धनलाई विजयी गराउने हिसाबले निर्वाचनको तयारी भइरहेको नेपाली कांग्रेस जिल्ला सचिव लक्ष्मीभक्त खनालले बताए ।
निर्वाचनको तयारीस्वरुप सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलले बैठक, भेला सुरु गरेका छन् । नेकपा -एमाले) ले दुवै क्षेत्र र चार प्रदेशसभा क्षेत्रमा बैठक राखेर चुनावको रणनीति बनाउन थालेको उपाध्यक्ष हरिराज कँडेलले बताए ।
तनहुँ क्षेत्र नं. २ मा सत्तारुढ गठबन्धनको पहिलो चरणको बैठक बसिसकेको र यसलाई निरन्तरता दिइने नेकपा (माओवादी) केन्द्र शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मनराज गुरुङ बताए । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जिल्लाका दशमध्ये पाँच, नेकपा (एमाले)ले चार र नेकपा (माओवादी) केन्द्रले एक स्थानीय तहमा विजय हासिल गरेको छ ।
यस्तै, मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएर मैदानमा उत्रिएका उम्मेदवारहरु पनि तयारीमा जुटेका छन् । दलका उम्मेदवारहरु भन्दा फरक ढंगले चुनावी अभियान चलाउने तयारी गरेका स्वतन्त्र उम्मेदवारहरु आफुहरुलाई जनताले मतदान गरी विजयी गराउनमा विश्वास्त बनेका छन् ।
तनहुँमा दुइ लाख ४८ हजार ४९५ मतदाता छन् । स्थानीय तहको निर्वाचनपछि नयाँ मतदाता दर्ता र अद्यावधिक पछि निर्वाचन आयोगले तनहुँमा उक्त मतदाता संख्या कायम गरेको हो । स्थानीय तहको निर्वाचनपछि तनहुँमा ४ हजार १५५ मतदाता थपिएका छन् ।
स्थानीय तहको निर्वाचनमा दुइ लाख ४४ हजार ३४० मतदाता थिए । तनहुँ क्षेत्र नम्बर १ तर्फ एक लाख २३ हजार ४९० र क्षेत्र नम्बर २ तर्फ एक लाख २५ हजार ५ मतदाता कायम भएको छ । विसं २०७४ को प्रतिनिधि/प्रदेशसभा निर्वाचनमा जिल्लामा दुइ लाख ११ हजार ३९६ मतदाता थिए । पाँच वर्षको अवधिमा यहाँ ३७ हजार ९९ मतदाता थपिएका हुन् ।
तनहुँ क्षेत्र नम्बर १ प्रदेशसभा (१) मा ६७ हजार १४४ र प्रदेश सभा (२) मा ५६ हजार ३४६ मतदाता कायम भएका छन् । तनहुँ क्षेत्र नम्बर २ प्रदेश (१) मा ६७ हजार ३२ र प्रदेश (२) मा ५७ हजार ९७३ मतदाता कायम भएका छन् ।