सम्पादकीय : स्वरोजगारमा लगानी बिना समृद्धि सम्भव छैन

वैदेशिक रोजगारीले मुलुकमा ठूलो मात्रामा रेमिट्यान्स भित्र्याएको छ। यो तथ्य आफैँमा अस्वीकार गर्न नसकिने यथार्थ हो। तर दुःखद पक्ष के छ भने, यही रेमिट्यान्स मुलुकको दिगो आर्थिक विकासको आधार बन्न नसकी, जस्तो आयो त्यस्तै बाहिरिने क्रम बढ्दो छ। आयातमुखी उपभोग, विलासी जीवनशैली र उत्पादनभन्दा उपभोगलाई प्राथमिकता दिने प्रवृत्तिले नेपाली अर्थतन्त्रलाई कमजोर बनाउँदै लगेको छ। आजको अवस्था हेर्दा रेमिट्यान्स अर्थतन्त्रको सहारा बनेको छ, तर यही सहाराले भविष्यमा जोखिम पनि बोकेको छ । लाखौँ नेपाली युवा आज रोजगारीको खोजीमा विदेशिएका छन्। गाउँ–बस्ती युवाविहीन बन्दै गएका छन्। खेतबारी बाँझिदै गएका छन्। विकास निर्माणका काममा समेत श्रमिक अभाव देखिन थालेको छ ।
युवाशक्ति मुलुकको सबैभन्दा ठूलो पूँजी हो, तर यही पूँजी विदेशमा पसिना बगाइरहेको छ। जबसम्म देशभित्र युवाको सिर्जनात्मक शक्ति प्रयोग हुँदैन, तबसम्म नीति, योजना र बजेटले अपेक्षित उपलब्धि हासिल गर्न सक्दैनन्। नेपाली समाजको जीवनशैली तीव्र रूपमा परिवर्तन हुँदै गएको छ। हामी आफैँ उत्पादन गर्नेभन्दा आयातित वस्तु प्रयोग गर्न अभ्यस्त बन्दै गएका छौँ। चामलदेखि तरकारी, फलफूलदेखि दैनिक उपभोग्य सामग्रीसम्म विदेशमा निर्भर हुने अवस्था सिर्जना भएको छ। यसको प्रत्यक्ष असर व्यापार घाटा बढ्नु र स्वदेशी उत्पादन कमजोर हुनु हो। यस्तो अवस्थाले दीर्घकालमा मुलुकको अर्थतन्त्रलाई गम्भीर संकटतर्फ धकेल्न सक्छ । संघीय संरचनामा गइसकेपछि जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तह हो। युवाको समस्या, आवश्यकता र सम्भावना सबैभन्दा राम्रोसँग बुझ्न सक्ने निकाय पनि स्थानीय सरकार नै हो। त्यसैले अब स्थानीय तहले युवालाई स्वदेशमै रोजगारी र स्वरोजगारमा जोड्ने कार्यक्रमलाई प्राथमिकतामा राख्नैपर्छ। तर आजका युवाको मनोदशा गम्भीर छ– “पढेर के गर्नु, जागिर पाइँदैन। खेती गर्न जग्गा छैन, जग्गा भए पनि सीप छैन। उत्पादन गरियो भने बजार छैन। विदेश जान खोज्दा पैसा छैन।” यस्ता समस्याले युवापुस्ता दोधार र निराशाको दलदलमा फसेको छ।
शैक्षिक बेरोजगारी अर्को ठूलो चुनौती हो । शिक्षित युवा सबैभन्दा पहिले स्थायी जागिरको खोजीमा हुन्छन्। लोक सेवा आयोग वा अन्य सेवा आयोगका परीक्षा अत्यन्त प्रतिस्पर्धात्मक र कठिन छन्। करार सेवामा पनि कतै प्रतिस्पर्धा त कतै सोझै सम्झौतामार्फत नियुक्ति हुने गरेको पाइन्छ। सोझै सम्झौता हुने ठाउँमा सोर्स–फोर्स, नाता–सम्बन्ध र पहुँच हाबी हुने सम्भावना रहन्छ। यसले केही व्यक्तिलाई फाइदा पु¥याए पनि धेरै युवालाई निराश बनाइरहेको यथार्थ लुकाउन सकिँदैन। स्थानीय सरकारले यस्ता विषयमा निष्पक्षता र पारदर्शिता कायम गर्न नसके जनविश्वास गुम्ने खतरा रहन्छ। अब प्रश्न उठ्छ– समाधान के हो ? सबै युवालाई जागिर दिनु सम्भव नहुन सक्छ, तर युवालाई सक्षम बनाउने वातावरण सिर्जना गर्न सकिन्छ।
स्थानीय सरकारले सबैभन्दा पहिले युवाको अवस्था पहिचान गर्नुपर्छ। को जागिर चाहन्छ, को उद्यम गर्न चाहन्छ, को कृषि वा पशुपालनमा रुचि राख्छ– त्यसको वर्गीकरण आवश्यक छ। त्यसपछि आवश्यकताअनुसार सीपमूलक, ज्ञानमूलक र प्रतिस्पर्धामूलक तालिमको व्यवस्था गर्नुपर्छ। जागिरमुखी युवाका लागि लोक सेवा आयोग तथा अन्य सेवा आयोगको तयारी कक्षा स्थानीय तहबाट सञ्चालन गर्न सकिन्छ। यस्ता कक्षाले आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली युवालाई ठूलो सहयोग पु¥याउन सक्छ। यसबाट धेरै युवायुवती सरकारी सेवामा प्रवेश गरी सुरक्षित भविष्य निर्माण गर्न सक्छन्। उद्यम र व्यवसाय गर्न चाहने युवाका लागि उद्यमशीलता विकास तालिम, सीप विकास तालिम, अनुदान तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न सकिन्छ। बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी युवामैत्री ऋण कार्यक्रम ल्याउन सकिन्छ। यस्तै, कृषि र पशुपालनमा रुचि राख्ने तर जग्गा नहुने युवाका लागि जग्गाधनीसँग सम्झौता गरी जग्गा उपलब्ध गराउने मोडेल विकास गर्न सकिन्छ। मल, बिउ, औषधि र औजारको व्यवस्था गर्दै बजार सुनिश्चित गर्ने हो भने बाँझो जमिन उत्पादनशील बन्न सक्छ।
विदेश जान चाहने युवाका लागि पनि वैकल्पिक सोच आवश्यक छ। विदेश जान लाग्ने खर्च बराबरको रकम स्वदेशमै कुनै उत्पादनमूलक काममा लगानी गर्ने वातावरण बनाइदिन सके धेरै युवा देशमै टिक्न सक्छन्। यसका लागि परामर्श, प्राविधिक सहयोग र प्रारम्भिक पूँजी व्यवस्थापनमा स्थानीय सरकारको भूमिका निर्णायक हुन सक्छ। युवालाई स्वरोजगार बनाउने, उत्पादनमा जोड्ने र स्वदेशमै भविष्य देख्न सक्ने वातावरण सिर्जना गर्न सके मात्र रेमिट्यान्समा अडिएको अर्थतन्त्र उत्पादनमुखी अर्थतन्त्रतर्फ मोडिन सक्छ।
अन्ततः युवाको समस्या बुझ्ने र समाधानतर्फ इमान्दार प्रयास गर्ने सरकार नै लोकप्रिय र सफल हुन्छ। समृद्ध नेपाल निर्माणको सपना युवाविना पूरा हुन सक्दैन। त्यसैले युवालाई गाउँमै काम, आम्दानी र सम्मान दिलाउने नीति आजको अपरिहार्य आवश्यकता हो। युवाले पनि अवसरको खोजी मात्र होइन, स्वदेशमै केही गर्ने साहस र सोच विकास गर्नुपर्छ। सरकार र युवा दुवै सचेत र सहकार्यशील बने भने मात्र मुलुक समृद्धिको बाटोमा अगाडि बढ्न सक्छ।










