सम्पादकीय : माघे संक्रान्ति – आस्था, स्वास्थ्य र सामाजिक एकताको पर्व

नेपाली समाजमा माघे संक्रान्ति केवल पात्रो फेरिने दिन मात्र होइन, जीवनशैली, आस्था र स्वास्थ्यसँग गहिरो रूपमा जोडिएको सांस्कृतिक पर्व हो । माघ महिनाको पहिलो दिन आज बिहानै स्नान, जप, तप, ध्यान र साधना गरी घ्यू, चाकु, तिलका परिकार सेवन गर्दै माघे संक्रान्ति मनाउने परम्परा सनातनदेखि चलिआएको छ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई मकर संक्रान्ति पनि भनिन्छ । यही दिनदेखि उत्तरायण सुरु हुने विश्वास गरिन्छ, जसले अन्धकारभन्दा प्रकाशको यात्रालाई प्रतीकात्मक रूपमा संकेत गर्छ । माघे संक्रान्तिको धार्मिक महत्व अत्यन्त गहिरो छ । वैदिक सनातन हिन्दू धर्मअनुसार उत्तरायणको सुरुआत पुण्यकाल मानिन्छ । यस अवधिमा गरिने स्नान, जप, तप, ध्यान, साधना र दानलाई विशेष फलदायी मानिएको छ । यही विश्वासका कारण आजका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका पवित्र तीर्थस्थलहरूमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । तीर्थस्नानमार्फत आत्मशुद्धि र पापमोचनको अनुभूति गर्ने जनविश्वास आज पनि उस्तै सशक्त छ।
माघे संक्रान्ति तराई–मधेश क्षेत्रमा ‘नहान’ पर्वका रूपमा पनि मनाइन्छ । वर्षभर नियमित स्नान नगरे पनि आजको दिन भने अनिवार्य नुहाउनैपर्ने मान्यता छ । यसले पर्वलाई धार्मिक सीमाभन्दा बाहिर लगेर सामाजिक र सांस्कृतिक एकताको रूपमा स्थापित गरेको छ । धर्मसिन्धु ग्रन्थमा उल्लेख गरिएअनुसार माघ १ गते स्नान, दान, ध्यान नगर्ने तथा घ्यू, चाकु, तिलका परिकार नखाने व्यक्ति जीवनभर रोगी हुने भनिएको छ । यस्ता धार्मिक मान्यताले मानिसलाई अनुशासित जीवनतर्फ डो¥याउने भूमिका खेलेका छन् । माघे संक्रान्तिको अर्को महत्वपूर्ण पाटो स्वास्थ्यसँग जोडिएको छ । जाडोको मौसममा घ्यू, चाकु, तिल, तरुल, चरुल, लड्डुजस्ता परिकार सेवन गर्नु केवल सांस्कृतिक परम्परा मात्र होइन, वैज्ञानिक रूपमा पनि उपयोगी मानिन्छ । आयुर्वेद शास्त्रअनुसार तिलको तेलले शरीरमा मालिस गर्दा नाडी, स्नायुमण्डल र हड्डी सुदृढ हुने तथा शरीरका दूषित पदार्थ बाहिर निस्कने विश्वास छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुग्ने आयुर्वेदका विज्ञहरूको मत छ । यस अर्थमा माघे संक्रान्ति स्वास्थ्य चेतनासँग जोडिएको पर्व पनि हो ।
माघे संक्रान्तिको राष्ट्रिय महत्व देवघाटधामसँग विशेष रूपमा गाँसिएको छ । तनहुँ, चितवन र नवलपुरको संगमस्थल देवघाटधाममा यस वर्ष करिब तीन लाख भक्तजन आउने अनुमान गरिएको छ । नेपाल र भारतका विभिन्न स्थानबाट आएका दर्शनार्थीहरूले देवघाटको वेणीमा स्नान गरी पुण्य प्राप्त गर्ने विश्वास राख्छन् । ‘माघ १ गते देवताहरू पनि देवघाटमा स्नान गर्न आउने’ जनविश्वासले यस तीर्थस्थलको महिमा झनै बढाएको छ । यही विश्वासका कारण संक्रान्तिको दुई दिनअघिदेखि नै देवघाट क्षेत्रमा भक्तजनको चहलपहल सुरु भइसकेको छ । पुस मसान्तको रात धुनी बालेर जाग्राम बस्ने र बिहान वेणीमा स्नान गरी फर्किने परम्पराले देवघाटलाई आध्यात्मिक जागरणको केन्द्र बनाएको छ । देवघाट क्षेत्र विकास समितिले यस वर्ष पनि प्रशासन, स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी माघेसंक्रान्ति मेलाको व्यवस्थापन गरेको छ । भीड व्यवस्थापन, डुंगा र ¥याफ्टिङमार्फत नदी पार गर्ने व्यवस्था, धुमपान तथा माँस–मदिरा निषेधजस्ता पहलले धार्मिक मर्यादा कायम राख्न मद्दत पु¥याएको छ ।
माघे संक्रान्तिले केवल धार्मिक आस्था मात्र होइन, सामाजिक सद्भाव र दानशीलताको भावना पनि सन्देश दिन्छ । भविष्य पुराण, विष्णुवचन र धर्मसिन्धुजस्ता ग्रन्थमा यस दिन घ्यू, चाकु, तिलका लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र सिदा दान गरेमा विशेष फल प्राप्त हुने उल्लेख छ । दानको संस्कारले समाजमा आपसी सहयोग र मानवीय मूल्यलाई बलियो बनाउँछ । आजको आधुनिक जीवनशैलीमा परम्परा र संस्कृतिको महत्व कहिलेकाहीँ ओझेलमा पर्ने खतरा छ । तर माघे संक्रान्तिजस्ता पर्वले हाम्रो मौलिक पहिचान, स्वास्थ्य चेतना र सामाजिक एकतालाई स्मरण गराउँछन् । आस्था र विज्ञान, परम्परा र स्वास्थ्यबीचको सन्तुलन नै माघे संक्रान्तिको मूल सन्देश हो । त्यसैले माघे संक्रान्ति केवल पर्व होइन, जीवनलाई अनुशासित, स्वस्थ र सहिष्णु बनाउने एउटा संस्कार हो । त्यस्तै, माघे संक्रान्तिलाई मगर समुदायले विशेष पर्वका रुपमा मनाउने गर्दछन् ।
यस्तै, मगर समुदायले यस दिनलाई माघ्या सकराटी पर्वका रुपमा मनाउने गर्दछन्। मगर समुदायको सांस्कृतिक पहिचान, सामाजिक एकता र ऐतिहासिक चेतनाको सशक्त आधारका रूपमा स्थापित रहेको यो पर्वले समयचक्र, प्रकृति, पितृ, समाज र अर्थतन्त्रलाई एउटै सांस्कृतिक सूत्रमा बाँध्दछ । आधुनिक परिवर्तन र वैश्वीकरणका बीच पनि माघ्या सकराटीले बोकेको मौलिक दर्शन र मूल्य संरक्षण गर्न सकेमा यो पर्व भावी पुस्ताका लागि जीवनदर्शन, सामाजिक चेतना र सांस्कृतिक निरन्तरताको महत्वपूर्ण स्रोत बन्ने मगर समुदायका अग्रजहरु बताउँछन् । सबैलाई माघे संक्रान्ति पर्वको शुभकामना ।










