सम्पादकीय : माघे संक्रान्ति – आस्था, स्वास्थ्य र सामाजिक एकताको पर्व

नेपाली समाजमा माघे संक्रान्ति केवल पात्रो फेरिने दिन मात्र होइन, जीवनशैली, आस्था र स्वास्थ्यसँग गहिरो रूपमा जोडिएको सांस्कृतिक पर्व हो । माघ महिनाको पहिलो दिन आज बिहानै स्नान, जप, तप, ध्यान र साधना गरी घ्यू, चाकु, तिलका परिकार सेवन गर्दै माघे संक्रान्ति मनाउने परम्परा सनातनदेखि चलिआएको छ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई मकर संक्रान्ति पनि भनिन्छ । यही दिनदेखि उत्तरायण सुरु हुने विश्वास गरिन्छ, जसले अन्धकारभन्दा प्रकाशको यात्रालाई प्रतीकात्मक रूपमा संकेत गर्छ । माघे संक्रान्तिको धार्मिक महत्व अत्यन्त गहिरो छ । वैदिक सनातन हिन्दू धर्मअनुसार उत्तरायणको सुरुआत पुण्यकाल मानिन्छ । यस अवधिमा गरिने स्नान, जप, तप, ध्यान, साधना र दानलाई विशेष फलदायी मानिएको छ । यही विश्वासका कारण आजका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका पवित्र तीर्थस्थलहरूमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । तीर्थस्नानमार्फत आत्मशुद्धि र पापमोचनको अनुभूति गर्ने जनविश्वास आज पनि उस्तै सशक्त छ।

माघे संक्रान्ति तराई–मधेश क्षेत्रमा ‘नहान’ पर्वका रूपमा पनि मनाइन्छ । वर्षभर नियमित स्नान नगरे पनि आजको दिन भने अनिवार्य नुहाउनैपर्ने मान्यता छ । यसले पर्वलाई धार्मिक सीमाभन्दा बाहिर लगेर सामाजिक र सांस्कृतिक एकताको रूपमा स्थापित गरेको छ । धर्मसिन्धु ग्रन्थमा उल्लेख गरिएअनुसार माघ १ गते स्नान, दान, ध्यान नगर्ने तथा घ्यू, चाकु, तिलका परिकार नखाने व्यक्ति जीवनभर रोगी हुने भनिएको छ । यस्ता धार्मिक मान्यताले मानिसलाई अनुशासित जीवनतर्फ डो¥याउने भूमिका खेलेका छन् । माघे संक्रान्तिको अर्को महत्वपूर्ण पाटो स्वास्थ्यसँग जोडिएको छ । जाडोको मौसममा घ्यू, चाकु, तिल, तरुल, चरुल, लड्डुजस्ता परिकार सेवन गर्नु केवल सांस्कृतिक परम्परा मात्र होइन, वैज्ञानिक रूपमा पनि उपयोगी मानिन्छ । आयुर्वेद शास्त्रअनुसार तिलको तेलले शरीरमा मालिस गर्दा नाडी, स्नायुमण्डल र हड्डी सुदृढ हुने तथा शरीरका दूषित पदार्थ बाहिर निस्कने विश्वास छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुग्ने आयुर्वेदका विज्ञहरूको मत छ । यस अर्थमा माघे संक्रान्ति स्वास्थ्य चेतनासँग जोडिएको पर्व पनि हो ।

माघे संक्रान्तिको राष्ट्रिय महत्व देवघाटधामसँग विशेष रूपमा गाँसिएको छ । तनहुँ, चितवन र नवलपुरको संगमस्थल देवघाटधाममा यस वर्ष करिब तीन लाख भक्तजन आउने अनुमान गरिएको छ । नेपाल र भारतका विभिन्न स्थानबाट आएका दर्शनार्थीहरूले देवघाटको वेणीमा स्नान गरी पुण्य प्राप्त गर्ने विश्वास राख्छन् । ‘माघ १ गते देवताहरू पनि देवघाटमा स्नान गर्न आउने’ जनविश्वासले यस तीर्थस्थलको महिमा झनै बढाएको छ । यही विश्वासका कारण संक्रान्तिको दुई दिनअघिदेखि नै देवघाट क्षेत्रमा भक्तजनको चहलपहल सुरु भइसकेको छ । पुस मसान्तको रात धुनी बालेर जाग्राम बस्ने र बिहान वेणीमा स्नान गरी फर्किने परम्पराले देवघाटलाई आध्यात्मिक जागरणको केन्द्र बनाएको छ । देवघाट क्षेत्र विकास समितिले यस वर्ष पनि प्रशासन, स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी माघेसंक्रान्ति मेलाको व्यवस्थापन गरेको छ । भीड व्यवस्थापन, डुंगा र ¥याफ्टिङमार्फत नदी पार गर्ने व्यवस्था, धुमपान तथा माँस–मदिरा निषेधजस्ता पहलले धार्मिक मर्यादा कायम राख्न मद्दत पु¥याएको छ ।

माघे संक्रान्तिले केवल धार्मिक आस्था मात्र होइन, सामाजिक सद्भाव र दानशीलताको भावना पनि सन्देश दिन्छ । भविष्य पुराण, विष्णुवचन र धर्मसिन्धुजस्ता ग्रन्थमा यस दिन घ्यू, चाकु, तिलका लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र सिदा दान गरेमा विशेष फल प्राप्त हुने उल्लेख छ । दानको संस्कारले समाजमा आपसी सहयोग र मानवीय मूल्यलाई बलियो बनाउँछ । आजको आधुनिक जीवनशैलीमा परम्परा र संस्कृतिको महत्व कहिलेकाहीँ ओझेलमा पर्ने खतरा छ । तर माघे संक्रान्तिजस्ता पर्वले हाम्रो मौलिक पहिचान, स्वास्थ्य चेतना र सामाजिक एकतालाई स्मरण गराउँछन् । आस्था र विज्ञान, परम्परा र स्वास्थ्यबीचको सन्तुलन नै माघे संक्रान्तिको मूल सन्देश हो । त्यसैले माघे संक्रान्ति केवल पर्व होइन, जीवनलाई अनुशासित, स्वस्थ र सहिष्णु बनाउने एउटा संस्कार हो । त्यस्तै, माघे संक्रान्तिलाई मगर समुदायले विशेष पर्वका रुपमा मनाउने गर्दछन् ।

यस्तै, मगर समुदायले यस दिनलाई माघ्या सकराटी पर्वका रुपमा मनाउने गर्दछन्। मगर समुदायको सांस्कृतिक पहिचान, सामाजिक एकता र ऐतिहासिक चेतनाको सशक्त आधारका रूपमा स्थापित रहेको यो पर्वले समयचक्र, प्रकृति, पितृ, समाज र अर्थतन्त्रलाई एउटै सांस्कृतिक सूत्रमा बाँध्दछ । आधुनिक परिवर्तन र वैश्वीकरणका बीच पनि माघ्या सकराटीले बोकेको मौलिक दर्शन र मूल्य संरक्षण गर्न सकेमा यो पर्व भावी पुस्ताका लागि जीवनदर्शन, सामाजिक चेतना र सांस्कृतिक निरन्तरताको महत्वपूर्ण स्रोत बन्ने मगर समुदायका अग्रजहरु बताउँछन् । सबैलाई माघे संक्रान्ति पर्वको शुभकामना ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker