दमौलीमा ट्राफिक व्यवस्थापन कडाइ, सफा सडकमा पार्किङ पूर्ण निषेध

दमौली : तनहुँको व्यास नगरपालिकाको दमौली बजार क्षेत्रमा बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ तथा बजार सुरक्षालाई व्यवस्थित बनाउन व्यापक ट्राफिक व्यवस्थापन योजना लागू गरिने भएको छ। नगर प्रमुख वैकुण्ठ न्यौपानेको संयोजकत्वमा बुधबार बसेको सरोकारवालाहरूको संयुक्त बैठकले दमौली बजार क्षेत्रको ट्राफिक तथा बजार सुरक्षा व्यवस्थापनका लागि विभिन्न निर्णयहरु गरिएका छन् ।
नगर उप–प्रमुख, तनहुँका प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख, वडा नं. २, ३ र ४ का वडाध्यक्ष, उद्योग वाणिज्य संघका प्रतिनिधि, पृथ्वी राजमार्ग पूर्वी सडक आयोजना, यातायात व्यवसायी समिति, अटो व्यवसायी समिति लगायतको सहभागितामा बसेको बैठकले बजार व्यवस्थापनका विषयमा छलफल गरेका थिए ।
बैठकमा सहभागिहरुले दमौली बजार क्षेत्रमा जथाभावी सवारी पार्किङका कारण बजार अस्तव्यस्त बनेको, सडक सुरक्षामा समस्या उत्पन्न भएको तथा बजार सुरक्षाका लागि जडान गरिएका सिसिटिभी क्यामेरा, जेब्रा क्रसिङ र फुटपाथ व्यवस्थापन प्रभावकारी नभएको निष्कर्ष निकाल्दै विस्तृत समीक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी गराए।
उनका अनुसार बजार सुरक्षालाई प्रभावकारी बनाउन बिग्रिएका सिसिटिभी क्यामेराको मर्मत तथा आवश्यक स्थानमा थप क्यामेरा जडान गरिनेछ । यसको खर्च व्यवस्थापन व्यास नगरपालिकाले गर्ने तथा निगरानीको जिम्मेवारी जिल्ला प्रहरी कार्यालयले लिने निर्णय गरिएको छ ।
बैठकले पृथ्वी राजमार्ग पुनःनिर्माणसँगै सर्भिस लेन व्यवस्थापन, पार्किङ तथा बजार ट्राफिकलाई व्यवस्थित बनाउन आगामी २०८३ जेठ १० गतेदेखि १५ दिनसम्म परीक्षणकालका रूपमा नयाँ ट्राफिक योजना लागू गरिने भएको छ ।
सफा सडकमा पार्किङ पूर्ण निषेध
निर्णयअनुसार दमौलीको सफा सडक क्षेत्रमा दुईतर्फी सवारी सञ्चालन गरिनेछ भने उक्त क्षेत्रमा सबै प्रकारका सवारी पार्किङ पूर्ण रूपमा निषेध गरिने भएको छ। पार्किङका लागि शाखा सडक, विभिन्न चोक, नगरपालिकाको पार्किङ ग्राउण्ड तथा अनशन चौतारी क्षेत्रमा निःशुल्क व्यवस्था गरिने जनाइएको छ।
विभिन्न रुटका सवारी बसपार्कमा पठाइने
भोर्लेटार, परेवा डाँडा, शिसाघाट, पुलिमरयाङ, लमजुङको भोर्लेटार, सोतीपसल, जिता तथा कुन्छातर्फ सञ्चालन हुने ठूला सवारी साधनलाई बाघभञ्ज्याङ हुँदै सिमलटारतर्फबाट बसपार्कमा प्रवेश गराइने भएको छ। छुट्ने समयमा चौतारी होटल चोकमा एक/एकवटा सवारीलाई १५/१५ मिनेट ‘बोर्डिङ टाइम’ दिने निर्णय गरिएको छ।
त्यसैगरी दमौली–काठमाडौँ र दमौली–मुग्लिन चल्ने माइक्रो तथा बसलाई बसपार्कमा पठाइने र छुट्ने बेलामा पाँच मिनेटसम्म यात्रु चढाउन अनुमति दिइने भएको छ। काठमाडौँ तथा पूर्वी खण्डबाट आउने छोटो तथा लामो दूरीका सवारीलाई भने भोर्लेटार चोकमा दुई मिनेटसम्म ‘पिकअप/ड्रप’ गर्न समय दिइनेछ। तालघरे, डिहीगाउँ, घाँसीकुवा हुँदै व्यास–१० र ११ तर्फ चल्ने म्याजिक तथा बसलाई बसपार्क पठाइने र छुट्ने समयमा एक/एकवटा सवारीलाई मात्र दुई मिनेट ‘पिकअप’ अनुमति दिने निर्णय गरिएको छ।
ट्राफिक चोक र साँगेचोकमा क्यू व्यवस्थापन
ट्राफिक चोकमा दमौली–पोखरा चल्ने माइक्रो तथा ट्याक्सीलाई अबदेखि ११ वटासम्म मात्र क्यू थाप्न दिइनेछ भने बाँकी सवारी बसपार्कमा पठाइनेछ। त्यस्तै व्यास–३ साँगेचोकमा तरकारी लाइनको पूर्वतर्फ दमौली–पोखरा बस क्यू थाप्ने तथा पश्चिमतर्फबाट व्यास–५ देखि ६ सम्म चल्ने म्याजिक र ठूला सवारीलाई दुर्गा मन्दिर पश्चिम एक/एकवटा मात्र राख्न दिइने भएको छ।
भित्री बजारमा पनि कडाइ
न्यूरोडस्थित नगरपालिकाको भवन पछाडिबाट ऋषिङ र घिरिङतर्फ चल्ने जीप तथा माछापुच्छ्रे बैंक अगाडिबाट छुट्ने ठूला सवारीलाई एक/एकवटा मात्र क्यू थाप्न दिइनेछ। गणेशमान चोकमा छाब्दी बाराही तथा व्यास–१३ र १४ तर्फ जाने सवारीलाई पनि एक/एकवटा मात्र राख्न पाइने निर्णय गरिएको छ। अटो रिक्सा व्यवस्थापनतर्फ उल्लेखित चोकहरूमा दुई/दुईवटा तथा अनशन चौतारीमा दुईवटा मात्र अटो राख्न दिइनेछ। अन्य सबै अटो, बस, माइक्रो, जीप तथा ट्याक्सीलाई बसपार्कमा पठाइने भएको छ। साथै सर्भिस लेनमा मोटरसाइकल लगायत दुईपाङ्ग्रे सवारी पार्किङ गर्न पूर्ण रोक लगाइएको छ ।
विद्यालय र कार्यालय समयमा हेभी सवारी निषेध
सोमबारदेखि शुक्रबारसम्म बिहान ८ः३० देखि १०ः१५ बजेसम्म तथा साँझ ३ः३० देखि ५ः१५ बजेसम्म सफा सडक, ग्रिन सिटी टोल, गणेशमान चोक, अमरापुरी सत्यवती विद्यालय तथा सरकारी कार्यालय आसपासका क्षेत्रमा मालवाहक ट्रक, ट्र्याक्टर तथा हेभी सवारी सञ्चालनमा रोक लगाइने भएको छ ।
विभिन्न सडकमा ‘वन वे’ लागू
बैठकले बजारका केही सडकलाई एकतर्फी बनाउने निर्णय पनि गरेको छ। वडा नं. २ अन्तर्गत पृथ्वी राजमार्गबाट ग्रिनसिटी टोल हुँदै भेटघाट चोक जाने सडक, तरकारी लाइन हुँदै महर्षि चोक जाने सडक, पुरानो बैंक लाइनदेखि कालिका मार्ग हुँदै राजमार्ग निस्कने सडक तथा प्रहरी कार्यालय दक्षिण–पश्चिम चोकबाट दुर्गा मन्दिरतर्फ जाने सडकलाई ‘वन वे’ बनाइने भएको छ। ती सडकमा कुनै पनि सवारी पार्किङ गर्न नपाइने निर्णय गरिएको छ।
फुटपाथ खाली गराइने
पैदल यात्रुको सहज आवतजावतका लागि सबै फुटपाथ खाली राख्ने निर्णय गरिएको छ। सडक पेटीमा सामान राखेर व्यापार गर्दै आएका व्यवसायीलाई तत्काल हटाउन नगरपालिकाले निर्देशन दिएको छ।
बसपार्क व्यवस्थापनमा सुधार
व्यास–१ करङ्गकाठस्थित बसपार्कमा बत्ती, खानेपानी तथा शौचालय व्यवस्थापनको जिम्मा नगरपालिकाले लिने भएको छ। साथै भोर्लेटार चोक र व्यास चोक क्षेत्रमा ट्राफिक पोस्ट, सिसिटिभी क्यामेरा तथा सडक बत्ती व्यवस्थापन गरिने निर्णय पनि गरिएको छ।
यसैगरी ‘नो पार्किङ’ सम्बन्धी आवश्यक सामग्री नगरपालिकाले उपलब्ध गराउने तथा बसपार्कमा टिकट काउन्टर सञ्चालनका लागि भवन कोठा उपलब्ध गराइने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत लम्सालले जानकारी गराए ।










