कृषि क्षेत्रमा बजेट बढ्दो, उत्पादन घट्दो

राजाराम कार्की/रासस

काठमाडौँ : पछिल्ला एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादनबीचको अन्तर बढेको छ । बजेट बढ्दै गएपनि उत्पादन तथा उर्वर जमिन भने घट्दै गएको छ ।
आर्थिक वर्ष २०७०/७१ देखि २०८०/८१ सम्म मुख्य खाद्यान्नबालीको उत्पादनमा उतारचढाव देखिएको हो । केही बालीको उत्पादन वृद्धि भए पनि परम्परागत बाली सङ्कटउन्मुख देखिएका छन् । नेपालीको मुख्य खाद्यान्नबाली  धान, मकै, गहुँ, कोदो र फापर हो ।
सरकारले प्रतिवर्ष कृषि क्षेत्रमा १० दशमलव सात प्रतिशतले बजेट बढाउँदै लगेको छ । आव २०७०/७१ मा २१ अर्ब ४० करोड र २०८१/८२ मा ५९ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।
साविक कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको ‘नेपालको कृषिसम्बन्धी तथ्याङ्क जानकारी’ पुस्तकमा उल्लेख भएअनुसार आव २०७०/७१ मा धान ५० लाख ४७ हजार ४७, मकै २२ लाख ८३ हजार २२२ गहुँ, १८ लाख ८३ हजार १४७, कोदो तीन लाख चार हजार १०५ र फापर एक लाख ३३५ मेट्रिकटन उत्पादन भएको थियो ।
पछिल्ला वर्षमा गहुँबाहेक धान, चामल, भारत, कोदो, फापर चीन, अर्जेन्टिना, मलेसियालगायत मुलुकबाट आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
आव २०८१/८२ मा धान र चामल गरी सात लाख ५३ हजार ३०५ मेट्रिकटन, मकै दुई लाख ९९ हजार ९८९ मेट्रिकटन, कोदो आठ हजार ४४३ मेट्रिकटन र फापर ६९८ मेट्रिकटन आयात भएको छ ।
आव २०८१/८२ मा धान चामल खरिदमा ४० अर्ब १८ करोड, मकै १९ अर्ब २७ करोड, कोदो ४२ करोड ३० लाख र फापर खरिद गर्न पाँच करोड ३० लाख रुपैयाँ गरी सो वर्ष कुल ५९ अर्ब ९२ करोड ६० लाख रुपैयाँ बाहिरिएको छ ।
सोही आवमा  सरकाले कृषि क्षेत्रको विकासका लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । जुन बजेट कृषि विकासका लागि आयातमा चार दशमलव शून्य ६ प्रतिशत अर्थात् दुई अर्ब ६३ करोड ६० लाख रुपैयाँले बढी हो ।
तथ्याङ्कअनुसार धानको उत्पादन प्रतिवर्ष एक दशमलव ०३४ प्रतिशतले र जनसङ्ख्या वृद्धिदर भने प्रतिवर्ष शून्य दशमलव ९२ प्रतिशतले वृद्धि भइरहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । २०७८ सालको जनगणना अनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।
कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभागका वरिष्ठ कृषि अर्थ विज्ञ तिलकराज चौलागाईका अनुसार तीन करोड जनसङ्ख्यालाई धान्न करिब ७० लाख मेट्रिकटन धानको आवश्यकता रहेको बताउनुहुन्छ । सो जनसङ्ख्यालाई धान्न १३ लाख मेट्रिकटन धानको उत्पादन वृद्धि गर्नुपर्नेछ ।
आव २०८१/८२ मा ३१ लाख ९३ हजार ८६९ मेट्रिकटन मकै उत्पादन भएको छ । दश वर्षमा नौ लाख १० हजार ६४७ मेट्रिकटन उत्पादन बढेको छ । जुन प्रतिवर्ष तीन दशमलव नौ आठ प्रतिशतले वृद्धि हो । गहुँको उत्पादन आठ प्रतिशतले वृद्धि भई २० लाख ३५ हजार ५५९ मेट्रिकटन पुगेको छ । जुन प्रतिवर्ष शून्य आठ प्रतिशतले वृद्धि हो ।
कोदो र फापरको उत्पादन १० वर्षमा निकै खस्किएको छ । आव २०७०/७१ मा कोदो तीन लाख चार हजार १०५ मेट्रिकटन थियो भने २०८०/८१ मा २४ हजार ९३१ मेट्रिकटन छ । प्रतिवर्ष कोदोको उत्पादन २२ दशमलव एक प्रतिशतले घटेको छ ।
त्यसैगरी, फापर २०७०/७१ मा एक लाख ३३५ मेट्रिकटन थियो भने आव २०८०/८१ मा १४ हजार ५१६ मेट्रिकटन मात्र भयो । फापरको उत्पादन प्रतिवर्ष १७ दशमलव छ प्रतिशतले घटेको छ ।
दशवर्षमा सरकारले कृषि क्षेत्रको बजेट १० दशमलव सात प्रतिशतले बढाउँदै लगेको छ भने उत्पादन धानको प्रतिवर्ष एक दशमलव शून्य ३४ मकैको तीन दशमलव ९८, गहुँको ०८ प्रतिशतले वृद्धि भएको छ भने कोदोको प्रतिवर्ष २२ दशमलव एक र फापरको १७ दशमलव छ प्रतिशतले गिरावट आएको छ ।
अर्कातर्फ खेतीयोग्य जमिन पनि घट्दै गएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार २०६८ सालको कृषि गणनामा २५ लाख २५ हजार ६३९ हेक्टर र त्यसको १० वर्षपछि अर्थात् २०७८ सालको कृषि गणनामा आइपुग्दा झण्डै तीन लाख हेक्टर जमिन घट्न गई २२ लाख १८ हजार ४१० हेक्टर जमिन खेतीयोग्यमा खुम्चिएको उल्लेख छ ।
नेपालमा प्रत्येक १०/१० वर्षमा कृषि गणना गरिँदै आएको छ । कृषि गणनाको सुरुआत विसं २०१८ देखि प्रारम्भ गरिएको हो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker