विद्यार्थीलाई कृषि शिक्षा र विषादी सुरक्षित प्रयोगबारे सचेतना

भिमाद : कृषि विकास कार्यालय तनहुँले विद्यालय शिक्षा कार्यक्रम अन्तर्गत भिमाद नगरपालिका–६ स्थित श्री जनज्योति माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई कृषि शिक्षाको अवसर, सम्भावना तथा सुरक्षित कृषि अभ्यासबारे जानकारी प्रदान गर्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम गरिएको छ ।
कार्यक्रममा नेपालमा कृषि शिक्षाको वर्तमान अवस्था, कृषि क्षेत्रमा उपलब्ध अध्ययन तथा रोजगारीका अवसर, आधुनिक कृषि प्रविधि र कृषि क्षेत्रको भविष्यबारे विद्यार्थीहरूलाई जानकारी गराइएको कार्यायका सूचना अधिकारी किरण परियारले जानकारी गराए । उनका अनुसार कृषिलाई सम्मानजनक र सम्भावनायुक्त पेशाका रूपमा विकास गर्न युवापुस्ताको भूमिका महत्वपूर्ण रहने विषयमा समेत जोड दिइएको थियो ।
त्यसैगरी, बालीनालीमा प्रयोग हुने विषादीको सुरक्षित प्रयोग, त्यसबाट मानव स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने असर, विषादी प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी तथा जैविक एवं सुरक्षित कृषि अभ्यासका विषयमा विद्यार्थीहरूलाई सचेतना प्रदान गरिएको उनले बताए ।
कार्यक्रमले विद्यार्थीहरूमा कृषि शिक्षाप्रति रुचि अभिवृद्धि गर्नुका साथै सुरक्षित र दिगो कृषि प्रणालीबारे सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन् ।










