“भुईचम्पा”
विष्णु पौडेल 'निरिस'

उ रंगिन शहरका
चिल्ला फूलहरूभन्दा अलग थिई
सधैं जमिनमा हिँड्ने
तर आँखामा आकाश राख्ने
भुईचम्पा ।
न गमलामा कैद
न ग्रीनहाउसमा हुर्केकी
जमिनमै उम्रिएकी उ
घाम पानीलाई सहेर
रंगको विद्रोह गर्न जानेकी।
उसको मुस्कान गुलाबी
त्यही मुस्कान जसले
कठोर समयलाई पगाल्न सक्छ ।
उसका लाम्चा पातहरु
कहिले हावाको शितल स्पर्स
कहिले घामको न्यानो स्पर्स बिच
मुस्कुराउँछन
बोकेर प्रेमकथा ।
जसलाई कहिले कसैले सोधेन
बुझेन, मात्र हेरेर चुकचुकाए।
ऊ फूल थिई
उ बास्ना थिई मनभित्रको
तर महँगो परफ्युमले होइन
माटोको गन्धले बाँध्ने ।
नजिक पुग्दा मात्र थाहा भयो
कति बलियो
उसको मौनता बोल्थ्यो
प्रेमले गहिराइमा तान्ने।
धेरैले उसलाई उपेक्षा गरें होलान
किनकि ऊ
रोशनीको केन्द्रमा उभिन जान्दिन
ऊ कहिल्यै सहानुभूति खोज्दिन ।
उ सँगको मेरो प्रेमले पायो
ऊ आफैंमा एउटा मौसम हो
न वसन्त माग्ने
न शरद कुराउने
तर जसरी वसन्त आफैं आउँछ
ऊ पनि आउँछे
मौन, ममतामय, अनि पुरै रंगीन बनेर
भुईचम्पा ।
उसलाई हेप्ने हिम्मत
कसले गरोस !
उ आफ्नो धरातल
कहिल्यै बिर्सिन्न
किनभने ऊ जमिनमा फुल्छे
भुईचम्पा ।
न चिसिएको रेष्टुरेन्टको
रङीन टेबलमा सजिन्छे
न महलका झ्यालबाट हेर्ने
रमणीय दृश्य बन्छे
जब समयले मलाई चिप्ल्यायो
म ढल्दा भुईमा देखेँ
त्यही बेला ऊ भेटिई
फुलिरहेकी भुईचम्पा
माथि हेर्नेहरूका लागि होइन
तल हेरेर खोज्नेहरूका लागि ।
उसको प्रेम
फूलजस्तै होइन
भुईजस्तै थियो
जहाँ फुल्नका लागि शर्तहरू थिएनन्
जहाँ मेरो धैर्यता भित्र
उ आफैंमा एउटा प्रीय कविता बनी
भुईचम्पा ।
मेरो टुक्रिएको मनलाई
जोड्ने औसधी
उ भुइँचम्पा
एक प्रेमिका
जसले मलाई
प्रेम गर्न बाध्य पारिन
तर प्रेम गरिन्छ भन्ने
पाठ पढाइ ।
उसको गुलाबी, श्वेत पछ्यौरी
ओढ्दै निदाउन पाउँदा
देख्छु रङीन सपना
अब त लागेको छ मलाई
उ सगै फुल्न सकुँ
सपना पनि बिपना बनोस्
अनि जीवनभर
उ सगै फुल्न
उसलाई फुलाउन
म उसैको जरा बन्न सकुँ
उसैको अब उसैको
मेरो उ प्रीय भुइँचम्पा ।










