खुला पुरुष भलिबल प्रतियोगिता अयाोजना

दमौली : तनहुँको व्यास नगरपालिका वडा नं. ५ र म्याग्दे गाउँपालिका वडा नं. १ का विभिन्न स्थानमा बसोबास गर्दै आएका युवाहरूको पहलमा सामाजिक, आर्थिक, सांस्कृतिक, खेलकुद तथा स्वास्थ्यसम्बन्धी गतिविधि सञ्चालन गर्ने उद्देश्यसहित ‘द नाइनटिज युवा क्लब’ जिल्ला प्रशासन कार्यालय तनहुँमा विधिवत रूपमा दर्ता गरिएको छ ।
एक कुमार श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ। नयाँ गठनसँगै युवाहरूको सक्रियतामा खुला वडा स्तरीय प्रथम ‘द नाइनटिज पुरुष भलिबल प्रतियोगिता–२०८३’ आयोजना गरिने भएको छ ।
प्रतियोगिता व्यास नगरपालिका वडा नं. ५ स्थित निवुवाखोलामा रहेको खेलमैदानमा यही जेठ १५ देखि १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय युवाहरूको खेल प्रतिभा उजागर गर्नुका साथै व्यास नगरपालिकालाई खेलकुद तथा पर्यटनका माध्यमबाट परिचित गराउनु रहेको क्लबले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा करिब ४० टिमको सहभागिता रहने अपेक्षा गरिएको छ। टिम दर्ताका लागि सम्बन्धित वडाको सिफारिस तथा क्लबको लेटरप्याडमा खेलाडीको नाम उल्लेख गरी जेठ १४ गतेभित्र इमेल, फेसबुक वा ह्वाट्सएपमार्फत पठाउनुपर्नेछ। दर्ता शुल्क रु. ३,५०० तोकिएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार रु. ३३,३३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार रु. २२,२२२ सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा तृतीय पुरस्कार रु. ११,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताइएको छ । साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी तथा मेडलद्वारा सम्मान गरिने आयोजकले जनाएको छ ।
कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न आर्थिक व्यवस्थापन, प्रचार–प्रसार, मञ्च व्यवस्थापन, यातायात, अतिथि सत्कार तथा समग्र कार्यक्रम व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू गठन गरिएको जनाइएको छ ।
क्लबका अध्यक्ष एक कुमार श्रेष्ठले युवाहरूलाई संगठित गर्दै खेलकुदमार्फत समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने लक्ष्य रहेको बताएका छन् ।










