भानु नगरपालिकाद्वारा ट्राफिक सचेतना बोर्ड हस्तान्तरण

- भञ्ज्याङ समाचारदाता (भानु)
भानु नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय दमौलीलाई जानकारी एवं मुलक सन्देश भएका ट्राफिक सचेतना बोर्ड वितरण हस्तान्तरण गरेको छ । नगरपालिकको सेवा कार्यलय भानु-१ भन्सारमा विहीबार एक कार्यक्रमका बीच नगरप्रमुख उदयराज गौलीले जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम बहादुर रानाभाटलाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेका हुन् । डुम्रे-बेसीसहर राजमार्गमा साँघुरो र घुम्ति सडकका कारण दुर्घटना हुन सक्ने सम्भावना भएको हुँदा नगरपालिकाको क्षेत्र अन्तर्गत उक्त खण्डको डुम्रेदेखि पाउँदीसम्म उक्त सचेतनामुलक होर्डिङबोर्डहरु राखिने बताउँदै ट्राफिक प्रहरी प्रमुख रानाभाटले सवारी दुर्घटना न्यूनीकरणमा साथ र सहयोग गरेकोमा नगरपालिकालाई धन्यबाद व्यक्त गरेका थिए ।
नगरपलिकाका प्रमुख उदयराज गौलीले नगरपालिकाको तर्फबाट दूर्घटना न्यूनीकरणका लागि सानो सहायोग गर्न पाउँदा खुसी लागेको र आगामी दिनमा पनि यसरी नै निरन्तर रूपमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डे, बरिष्ठ अधिकृत सुनिल पाण्डे, इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रमुख प्रकाश भुसाल, नगरपालिकाका कार्यालय सदस्य देव बहादुर भुजेल, स्थानीय विष्णु अधिकारी लगायतले उपलब्ध सचेतना सामाग्रिको सही रुपमा प्रयोग गर्न आग्रह गरेका थिए ।










