ठाडोभाका जोगाउने एक प्रतिबद्ध स्वर : बुद्धिमान दुरा ‘धम्पु’
देव बस्न्यात

नेपालको सांस्कृतिक पहिचान केवल मन्दिर, पर्व र परम्परामा मात्र सीमित छैन यो जनजीवनसँग गाँसिएका गीत, भाका र लोकधुनहरूमा अझ जीवन्त रूपमा प्रकट हुन्छ। यिनै मौलिक सांगीतिक परम्परामध्ये ठाडोभाका लोकगीत गण्डकी क्षेत्रको एक विशिष्ट सांस्कृतिक धरोहर हो। समयको बहावसँगै धेरै लोकपरम्परा ओझेलमा पर्दै गएका बेला ठाडोभाकालाई जीवन्त राख्न आफ्नो सम्पूर्ण जीवन समर्पित गर्ने एक साधक हुने– बुद्धिमान दुरा ‘धम्पु’ ।
लमजुङको सिन्दुरेढुङ्गा ठूलोस्वाँराको साधारण परिवारमा वि.सं. २०१२ साल बैशाख ५ गते जन्मिएका धम्पुको बाल्यकाल सहज थिएन। १२ वर्षको उमेरमै पिताको निधन भएपछि परिवारको जिम्मेवारीले उनलाई समयभन्दा अघि परिपक्व बनायो। जीवनको यो प्रारम्भिक पीडाले उनलाई कमजोर बनाएन, बरु संघर्षशील र आत्मनिर्भर बनायो। यही संघर्षले उनलाई पछि गएर सांस्कृतिक क्षेत्रमा अदम्य ऊर्जा सहित उभिन प्रेरित गर्यो ।
त्यतिबेला गाउँघरका युवाहरूको प्रमुख सपना लाहुरे बन्ने हुन्थ्यो। धम्पु पनि त्यही चाहनाले प्रेरित भई साथीहरूसँग ब्रिटिस आर्मीको भर्तीमा पुगे। तर केही इञ्च उचाइ नपुग्दा उनी असफल भए। सामान्यतः यस्तो असफलताले धेरैलाई निराश बनाउँछ, तर धम्पुको जीवनमा यही मोडले नयाँ ढोका खोल्यो। भर्ती हुन नसके पनि आर्मी क्याम्पमै काम गर्ने अवसर पाए, जहाँ उनको भेट कर्णेल जेप्रिक्ससँग भयो।
वि.सं. २०३२ फागुन ४ गते भएको त्यो भेट केवल औपचारिक परिचय थिएन, त्यो जीवन परिवर्तन गर्ने क्षण थियो। कर्णेल जेप्रिक्सले धम्पुको लगनशीलता, इमान्दारिता र सरल स्वभावबाट प्रभावित भई उनलाई धर्मपुत्रका रूपमा स्वीकार गरे। यो सम्बन्धले धम्पुको जीवनमा अभिभावकीय अभाव मात्र पूर्ति गरेन, जीवन दृष्टिकोणमै परिवर्तन ल्यायो। कर्णेलसँग ट्रेकिङमा जाँदा, विभिन्न स्थानका जनजीवन बुझ्दा र विकासका आयाम नियाल्दा धम्पुले समाजलाई व्यापक दृष्टिले हेर्न सिके।

तर धम्पुको वास्तविक परिचय भने संगीतसँग गाँसिएको छ। किशोरावस्थादेखि नै ठाडोभाका लोकगीत गाउन थालेका उनी विस्तारै यस विधाका अग्रणी हस्ती बन्न पुगे। ठाडोभाका केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो संवाद, भावनाको आदानप्रदान र सामुदायिक सम्बन्ध सुदृढ गर्ने सांस्कृतिक अभ्यास हो। मेलापर्व, पूजाआजा र सामाजिक जमघटमा गाइने यस भाकाले गाउँघरको जीवनशैलीलाई प्रतिविम्बित गर्दछ ।
इतिहासतर्फ फर्केर हेर्दा, ठाडोभाकाको विकास वि.सं. १८७४ तिर बागलुङ क्षेत्रमा सुरु भएको मानिन्छ। मानवीर खत्री र गोर्या श्रीषले यसको आधार तयार गरे भने पछि बौद्धसिंह गुरुङ, देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङ जस्ता व्यक्तित्वहरूले यसलाई विस्तार र परिष्कार गरे। यही परम्परालाई पछिल्लो पुस्तासम्म जीवन्त राख्ने जिम्मेवारी धम्पुजस्ता साधकहरूले निर्वाह गरिरहेका छन्।
समयको परिवर्तनसँगै आधुनिक संगीतको प्रभाव बढ्दै गइरहेको अवस्थामा लोकगीतहरू ओझेलमा पर्न थालेका छन्। यस्तो अवस्थामा ठाडोभाकाको संरक्षण गर्नु सहज काम होइन। यसका लागि न केवल प्रतिभा, तर समर्पण, धैर्य र निरन्तर प्रयास आवश्यक हुन्छ। धम्पुले यही चुनौतीलाई अवसरका रूपमा लिएर आफ्नो जीवन यस विधाको जगेर्नामा अर्पण गरेका छन्।
उनी केवल गायक मात्र होइनन्. प्रशिक्षक, आयोजक र सांस्कृतिक अभियन्ता पनि हुन्। गण्डकी प्रदेशका विभिन्न स्थानमा पुगेर उनले ठाडोभाका प्रशिक्षण दिएका छन्। नयाँ पुस्तालाई यस विधाप्रति आकर्षित गर्ने, यसको लय, शैली र भाव बुझाउने काममा उनको योगदान उल्लेखनीय छ। व्यासनगर प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षकका रूपमा उनको भूमिका यसैको उदाहरण हो ।
धम्पुको अर्को महत्वपूर्ण पक्ष भनेको सामाजिक सक्रियता हो। उनले दुरा सेवा समिति कास्कीको अध्यक्ष भएर ९ वर्षसम्म काम गरे। राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान लगायत विभिन्न संस्थामा आबद्ध रहँदै उनले लोकसंस्कृतिको संरक्षणमा संस्थागत योगदान पनि दिएका छन्। समाजसेवा र संस्कृतिसेवा उनका लागि फरक विषय होइनन्, यी दुवै एकअर्काका पूरक हुन् ।
उनको जीवन यात्रामा शिक्षा पनि एउटा प्रेरणादायी पक्ष हो। २७ वर्षको उमेरमा विद्यालय भर्ना भई एसएलसी उत्तीर्ण गर्नु र त्यसपछि उच्च शिक्षा हासिल गर्नु आफैंमा संघर्ष र लगनशीलताको उदाहरण हो। यसले देखाउँछ- सिकाइको कुनै उमेर हुँदैन।
धम्पुको योगदान केवल गायनमा सीमित छैन। उनले दुरा जातिको संस्कृति, चाडपर्व, सोरठी, घाटु, झ्याउरे लगायत विषयमा लेखन पनि गरेका छन्। उनका यी कृतिहरू केवल साहित्यिक अभिव्यक्ति मात्र होइनन्, यी सांस्कृतिक दस्तावेज हुन्, जसले भविष्यका पुस्तालाई आफ्नो पहिचान बुझ्न सहयोग पुर्याउनेछ।
आज धम्पु दुरा ‘ठाडोभाका’का पर्यायजस्तै बनेका छन्। उनका स्वरमा गाउँघरको माटो बोल्छ, इतिहास बोल्छ र संस्कृतिको आत्मा बोल्छ। जब उनी ‘हा हा हा हो हो..’ भन्दै गीत सुरु गर्छन्, त्यो केवल प्रस्तुति हुँदैन– त्यो सांस्कृतिक पुनर्जागरणको आवाज हुन्छ।
तर प्रश्न उठ्छ–के धम्पुजस्ता व्यक्तित्वको प्रयास मात्र पर्याप्त छ ?
लोकसंस्कृति जोगाउनु केवल केही व्यक्तिको जिम्मेवारी होइन, यो राज्य, समाज र प्रत्येक नागरिकको साझा दायित्व हो। यदि समयमै संरक्षण र प्रवर्द्धनका प्रभावकारी पहल भएनन् भने यस्ता अमूल्य सम्पदाहरू क्रमशः हराउँदै जाने खतरा रहन्छ ।
आज आवश्यक छ–
– लोककलाकारलाई सम्मानजनक स्थान दिनु,
– स्थानीय तहबाट सांस्कृतिक कार्यक्रमहरूलाई प्राथमिकता दिनु,
– र शिक्षामा लोकसंस्कृतिलाई समावेश गर्नु।
यस्ता कदमले मात्र ठाडोभाका जस्ता परम्परालाई दीर्घकालसम्म जोगाउन सकिन्छ।
धम्पुको जीवन एउटा प्रेरणादायी कथा हो- संघर्षबाट सिर्जनातर्फको यात्रा। बाल्यकालको अभाव, युवावस्थाको असफलता र जीवनभरको साधनाले उनलाई आजको स्थानमा पुर्याएको छ। उनले देखाएका छन्– यदि इच्छाशक्ति बलियो छ भने कुनै पनि चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सकिन्छ ।
अन्ततः, बुद्धिमान दुरा ‘धम्पु’ केवल एक कलाकार होइनन्, उनी एउटा संस्था हुन्, एउटा आन्दोलन हुन्। ठाडोभाका लोकगीतप्रतिको उनको समर्पणले नेपाली सांस्कृतिक क्षेत्रमा अमिट छाप छोडेको छ ।
उनको स्वर गुञ्जिरहुन्,
उनको साधना निरन्तर रहोस्,
र ठाडोभाका पुस्तौंदेखि पुस्तासम्म जीवन्त रहिरहोस्
यही कामना ।










