भिमाद प्राथमिक स्वास्थ्य केन्द्र : भवन र जनशक्ति अभावका चुनौतीबीच सेवा दिंदै
डा. सुदन अधिकारी

डा. सुदन अधिकारी
प्रमुख : भिमाद प्राथमिक स्वास्थ्य केन्द्र
तनहुँको भिमाद नगरपालिका–६ मा रहेको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रले सीमित स्रोतसाधनका बाबजुद दैनिक १५० भन्दा बढी बिरामीलाई सेवा दिँदै आएको छ । केन्द्रका प्रमुख डा. सुदन अधिकारीले भवन अभाव र जनशक्ति कमीका कारण सेवा प्रवाहमा चुनौती रहेको बताए ।
वि.सं. २०५२ असार ३० गते स्थापना भएको यस केन्द्रमा भिमादसहित रिसिङ गाउँपालिका, घिरिङ गाउँपालिका र म्याग्दे गाउँपालिका बाट समेत बिरामी आउने गरेका छन् । केन्द्रमा हाल डाक्टर, नर्स र अहेबसहित २० जना स्वास्थ्यकर्मी कार्यरत छन् भने २४सै घण्टा आकस्मिक सेवा सञ्चालनमा छ ।
केन्द्रमा वार्षिक १०० भन्दा बढी सामान्य प्रसूति हुने गरेको छ, जुन तनहुँ जिल्लामा दमौली अस्पताल पछि दोस्रो ठूलो संख्या हो । यहाँ ओपिडी, इमर्जेन्सी, आँखा, ल्याब, फार्मेसी, एक्स–रे, भिडियो एक्स–रे तथा इसिजी सेवा उपलब्ध छन् ।
तर प्रस्तावित १५ शय्याको अस्पतालका लागि आवश्यक जनशक्ति भने अपुग रहेको डा. अधिकारीले बताए । उनले भने, ‘दरबन्दी अनुसार कर्मचारी भए पनि बिरामीको चापअनुसार थप जनशक्ति आवश्यक छ ।’

स्वास्थ्य केन्द्रलाई नगर अस्पतालका रुपमा विकास गर्न निर्माण गर्न लागिएको भवन लामो समयदेखि अधुरो अवस्थामा रहँदा सेवा विस्तारमा समस्या भएको छ। सानो भवन र सीमित कोठाबाट अस्पतालस्तरको सेवा दिनुपर्दा कठिनाइ भएको केन्द्रले जनाएको छ। यद्यपि, ठेकेदार पुनः सम्पर्कमा आएर निर्माण कार्य अघि बढेकाले अब भवन सम्पन्न हुने अपेक्षा गरिएको छ ।
डा. अधिकारीका अनुसार केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय अभाव तथा सीमित स्रोतसाधनका कारण सेवा व्यवस्थापनमा समस्या देखिएको छ । उनले भने, ‘स्थानीय तहले धेरै अपेक्षा पूरा गर्नुपरेको छ, तर स्रोत सीमित छ ।’
स्वास्थ्य सेवा प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय र आवश्यक जनशक्ति तथा स्रोत व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए। स्वास्थ्य केन्द्रले सीमित स्रोत र संरचनात्मक समस्याका बाबजुद क्षेत्रीय स्तरमै महत्त्वपूर्ण स्वास्थ्य सेवा दिइरहेको छ । तर भवन निर्माण कार्य अलपत्र हुन, जनशक्ति वृद्धि र प्रभावकारी समन्वय बिना दीर्घकालीन रूपमा गुणस्तरीय सेवा विस्तार चुनौतीपूर्ण देखिन्छ ।










