आस्थाको महापर्व छठको विधि शुरु

  • हिमांशु चौधरी (जनकपुरधाम)

मानव सभ्यता बोधक, प्रकृत्रि्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठपर्वको मुख्य विधि बुधबारदेखि शुरू भएको छ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा-अरबाइन गरिन्छ, जसलाई नहाय-खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । मानव सभ्यताको विकास नदी किनार हुँदै भएको, पञ्चतत्वमध्ये सूर्य र जल अपरिहार्य तत्व रहेकाले यी दुइ तत्वप्रति श्रद्धाभाव व्यक्त तथा जीवन, जगत्, प्रकृति, वनस्पति, ग्रह, नक्षत्र, संवत्सर, समय, काल सबैका कारक रहेका सूर्यको आराधनाले आपसी, सद्भाव, एकता र सहिष्णुताको सन्देश यस पर्वमा सन्निहित छ ।

छठको पहिलो दिन (चतुर्थी) व्रतीले भोजनमा माछामासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्दछन् । पर्वको दोस्रो दिन (पञ्चमी) खरना गरिन्छ, जसलाई पापको क्षय पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रतालु यो दिन दिनभर निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) अर्पण गर्छन् । तेस्रो दिन (षष्ठी) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान-पिसान गरी सोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाँजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन् ।

परिकारहरू जलाशयको किनारमा राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक साष्टाङ्ग दण्डवत गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरूप अरिपन चित्र कोरेका हुन्छन् । त्यसपछि व्रतीले सन्ध्याकालीन अर्घ्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्छन् । यस क्रममा व्रतीले दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् ।

पर्वको चौथो (अन्तिम) दिन पार्वण गरिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्‍याइ प्रातःकालीन सूर्यलाई अर्घ्य दिन्छन् । अर्घ्य सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्ने र सुनाउने परम्परा रहेको छ । सूर्यलाई आदिदेवता पनि भनिन्छ । मानव मात्रको अस्तित्वपछि र्सवप्रथम उज्यालो दिने, जीउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधीबाट जोगाउने सूर्य नै रहेको मान्यता पाइन्छ । रात्रिको अन्धकारबाट भयभीत भएकालाई सूर्यको प्रकाशले त्राण दिने भएकाले आदिकालीन मानवले सूर्यको उपासना पूजा गर्ने गरेका थिए । उत्तर वैदिककालका मिथिलाका प्रसिद्ध चिन्तक र दार्शनिक याज्ञवल्क्यले सूर्यलाई गुरू मानेका थिए । वैदिक साहित्यको मुख्य सार सूर्य उपासना नै हो । वेदमा सूर्यलाई ऐश्वर्य र ऋग्वेदमा सबै देवताको स्रोत, महाभारतमा सम्पूर्ण जगत्का प्राणीसित सम्बद्ध भएको बताइएको छ । सृष्टिका सबै जीव र वनस्पति सूर्यको तापबाट बाँचेका छन् । त्यस्तै सूर्योपनिषद्मा ब्रहृमा, विष्णु र रूद्र भनिएको छ । महाभारतमा धर्मराज युधिष्ठिर सूर्य स्तवन गर्दै सूर्यलाई ब्रहृमा, विष्णु र रूद्रका अतिरिक्त इन्द्र, प्रजापति, अग्नि, मनु, प्रभु, चराचर जगत्का पालनकर्ता र मोक्षदाता रूपमा वर्णन गरिएको छ । ऐतरेय ब्राहृमण उपनिषद्मा सूर्यको उत्पति सन्दर्भमा सूर्यलाई पार्थिव अन्तरिक्ष एवम् दिव्य अग्निको पिण्ड भएको उल्लेख गर्दै अग्निमा सोमको आहुतिबाट सूर्यको उत्पत्ति भएको भनिएको छ ।

यसका अतिरिक्त वैज्ञानिक, ज्योतिषी तथा चिकित्सकले सूर्य तत्वबाट आफ्नो ज्ञान अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेको प्रसङ्ग पनि पाइन्छ । सूर्यको किरणबाट चिकित्साबारे देश विकासका कैयौँ चिकित्सकले ग्रन्थ लेखेका छन् तथा कैयौँ असाध्य तथा अक्षय रोगहरूको आश्चर्यजनक उपचार खोजिएको छ । अथर्ववेदमा खुट्टा, जोर्नी, त्रि्रा, काँध, मस्तक, कपाल तथा मुटुसम्बन्धी रोगहरूको उपचार उदीयमान सूर्य किरणद्वारा निस्तेज गरिने उल्लेख गरिएको छ । सूर्यद्वारा चर्मरोगसम्बन्धी रोगको अचुक उपचार गर्नुका साथै दुसाध्य कुष्ठरोगको मुक्ति पाउनका लागि कैयौँ प्राचीन साहित्यमा उपचार प्रसङ्ग पाइन्छ ।

संस्कृतिविद् रामभरोस कापडीका अनुसार साम्बपुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको श्रापले कुष्ठरोगबाट पीडित कृष्णपुत्र साम्ब सूर्यको आराधनाले रोगमुक्त भएको चर्चा गरिएको छ । मिथिला क्षेत्रमा कुनै पनि पूजा, अनुष्ठान इत्यादि गर्दा आरम्भमा शुद्धीकरणपछि र्सवप्रथम पञ्चदेवता र विष्णुको पूजा गर्ने प्रचलन छ । पञ्चदेवतामध्ये सूर्य पनि एक हुन् । सूर्यलाई आइतबारको देवताको रूपमा पनि चिनिन्छ ।

जीवनदायी शक्ति सूर्य देवता र छठीमाताको उपासना गरी मनाइने यस पर्वको व्रतलाई कठिन व्रत मानिन्छ । अत्यन्त श्रद्धा र निष्ठाले मनाइने पर्व छठ ‘षष्ठी’ शब्दको लोककरण हो । सूर्यलाई आरोग्यका देवताका साथै निर्धनताका निवारक पनि मानिन्छ । छर्ठपर्वमा सूर्यको पूजाअर्चना गर्नु मूल तत्व मानिए पनि छठ परमेश्वरी र भगवान सूर्य उपासनाको सम्मिलित पर्व मानिन्छ। यसरी एउटै आराध्यदेवलाई पुरूष र स्त्री दुवै संज्ञाले भक्तिभाव प्रकट गर्नुको अभिप्राय सृष्टिको प्राकृतिक स्वरूपप्रति सम्मान गर्नु हो । पहिला मिथिलाञ्चलमा मात्र सीमित रहेको छर्ठपर्व अहिले राजधानी, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै गएको छ ।

छठ शब्द षष्ठी शब्दको तद्भव रूप हो । षष्ठीका दिन षष्ठीका देवीको पूजा भएकाले यस पर्वको नाम षष्ठी, छठी र छठ हुन गएको बुझिन्छ । यस पर्वमा अस्ताउने र उदाउने सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोका रूपमा लिनु हो । छठमा धनी, गरिब, कथित तल्ला र माथिल्ला जातिहरू एकै ठाउँमा उपस्थित भई पूजा गर्नु भनेको इश्वरीय सत्ताको दृष्टिमा सबै समान हुन भन्ने सन्देश अन्तरनिहीत रहेको पाइन्छ । सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको हुनाले सूर्यप्रति कृतज्ञताको अभिव्यक्तिका साथै नारी सर्वोच्चता स्थापित गर्ने र आफ्नै खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता रहेको छ ।

छठ प्रकृति र पुरूषको पूजा हो, सन्तान उत्पादनका लागि दैवी कृपाको अपेक्षा यस व्रतसँग जोडिएको छ । सामुदायिक सद्भाव मूलमन्त्र रहेको यस पर्वमा कुलीन भनिएको परिवारका बुहारीले छठको आशीर्वादस्वरूप प्रसादका निम्ति थापेको आँचलमा कुनै दलितको अर्घ्यको ठेकुवा आए पनि सहर्ष स्वीकार्ने यसको विशिष्ट पक्ष मानिन्छ । छर्ठपर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइने भएकाले यसका लागि कात्तिक शुक्ल पक्ष लाग्नेबित्तिकै व्रतीले सात्विक भोजनका साथै अपवित्र मानिने दाल, तरकारी र सागपात आदि खाने गरिँदैन यस पर्वमा नैवेद्यका लागि आवश्यक गहुँ र गम्हरी (धानको एक प्रकार, कालो रङको गर्भमै पाक्ने पवित्र अन्न) को व्यवस्थाको व्यवस्था केही दिन पहिलेदेखि नै गरिएको हुन्छ । गम्हरीलाई साठी पनि भनिन्छ । छर्ठपर्वमा साठी प्रकारको वस्तु चाहिने भनिन्छ, तिनमा गम्हरीलाई कुटेर त्यसको केही कमी रहन गएमा गम्हरीको प्रयोगले त्यसको पूर्ति भइहाल्ने लोकविश्वास रहेको छ । चामललाई पर्वका अवसरमा बनाइने नैवेद्यका लागि उपयोग गरिन्छ ।

आरोग्य लाभ मुख्य उद्देश्य भएको छर्ठपर्व उत्सवको रूपमा मात्र नभई कठिन व्रत र उपवास गरिने तपस्याको रूपमा देखिन्छ । चोखोपना, संयम र पूर्ण ब्रहृमचर्यसाथ छठीमाताको भक्तिपूर्ण आराधना गर्दा मात्र छठपूजाको फल प्राप्ति हुने जनविश्वास रहेको पाइन्छ । छर्ठपर्वको पूजन एवं तयारीका क्रममा छठ सामग्रीलाई जुठो गर्न नहुने र कुनै प्रकारको व्यवधान जानी वा नजानी गरिएमा अनिष्ट हुने निश्चित मानिएको छ । छठपर्व विशुद्धरूपमा प्रकति र पुरूषको पूजा हो । सन्तान प्राप्तिका लागि दैवी कृपाको अपेक्षा यस व्रतले गरेको छ । झट्ट हेर्दा यो सूर्यको पूजाझैँ देखिए पनि पुराणअनुसार यो मूल प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवीको पूजा छ । देवी भागवतमा षष्ठी देवीले पुत्रहीनलाई पुत्र प्रदान, पत्नीहीनलाई पत्नी प्रदान, धनहीनलाई धन र कर्मवानलाई उत्तम फल प्रदान गर्ने उल्लेख गरिएको छ। यसै कारण यो पर्व साझा समानताको पर्वका रूपमा लोककरण भएको पाइन्छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker