उडुस मार्दै रात काट्दै कैदीबन्दी

- जनक श्रेष्ठ (लमजुङ)
वरिपरि अग्लो पर्खाल । पर्खालबाट भित्र छिर्ने सानो ढोकाभित्र असरल्ल त्रिपालको बार। त्यहाँभित्र भुइँमै छरपष्ट ओछयान। त्यहाँभित्र जीर्ण भवनको ससाना र अँध्यारो कोठामा पनि अटेसमटेस विस्तारा, लुगाफाटा र झिटीगुण्टा। खचाखच मानिस । नजिकै शौचालयबाट आइरहेको हृवास्स दुर्गन्ध । यो कष्टकर र अत्यासलाग्दो अवस्था हो- जिल्ला कारागारको। मापदण्ड अनुसारको यहाँको कारागारको संरचना छैन। एक कैदीबन्दी बराबर एक मिटर लम्बाइ र चार मिटर चौडाइ क्षेत्रफलको व्यवस्था गर्नुपर्ने कानूनी प्रावधान रहेको छ । कारागार ३५ जनाका लागि मात्रै उपयुक्त देखिन्छ । अहिले ९१ कैदीबन्दी रहेका छन् ।
पुरानो संरचना र क्षमताभन्दा बढी कैदीबन्दी कारागारमा बस्न बाध्य छन् । बेंसीशहर नगरपालिका वडा नं ८ मा स्थित जिल्लाको एकमात्र कारागारमा विभिन्न सजय भुक्तानी गर्दै आएका कैदीबन्दीलाई चिन्ता र कष्टले सताइरहन्छ । उनीहरु यतिबेला चिसोको मारमा छन् । संरचनाको अभाव तथा जीर्ण हुँदै गएको कारागारमा चिसोयाम होस् वा गर्मी याम । यहाँ उनीहरुलाई बार्है्र महिना दिनरात समस्या हुने गर्दा चिन्तामै हुने गरेका हुन् । चार वर्षदेखि कैद भुक्तानी गर्दै आइरहेका सुवास रानाभाटले भन्नुभयो, “पुस माघको समयमा हामीलाई सुत्न बस्नलाई नै समस्या भइरहेको छ। तल भुइँबाट सिमेन्टीको चिसो आउने गर्दछ। चिसो भुइँमा सुत्नुपर्छ ।” धेरैजना भएकाले भुइँमा लमतन्न भित्र छिर्ने ढोकादेखि शौचालयसम्मै म्याट ओछयाएर सुत्नुपर्दा विभिन्न समस्या भइरहेको उहाँको भनाइ छ । सिमेन्टको चिसो दिउँसो घाम लाग्दा पनि ओभानो हुँदैन । रातमा त बढी नै चिसो हुने र बिहान कतिबेला घाम लाग्ला र बाहिर घाम ताप्न पाइला भन्दै रात कटाउने गरेको उहाँले दुःखेसो पोख्नुभयो ।
“यहाँ बढी केन्दीबन्दी हुँदा शौचालय जाने बाटोसम्मै सुत्ने गरेको छौँ । राति शौचालय जाने ठाउँ पनि पाइँदैन । बिहान पालो कुर्दाकुर्दै घण्टौँ बित्छ”, उहाँले भन्नुभयो । यस्तो समस्यामा दिनरात कटाउनुपर्दा निकै चिन्ता हुने गरेको छ । सात वर्षदेखि कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तानी गर्दै आएका जीवन अधिकारीले भन्नुभयो, “हामीलाई सुत्ने, बस्ने ठाउँमा चिस्यान नै चिस्यान छ। समाधान छैन । यही चिसोका कारणले यहाँ दिनहुँ दुइ चार जना रुघाखोकीको बिरामी हुने र निको हुने गरेको छ ।” यति मात्र होइन कोभिडका बेला सामाजिक दूरी कायम गरी उनीहरु सुत्ने र बस्ने गरेका थिए । कोचिएर एउटै ठाउँमा खानुपर्दा कोरोनाको धेरै डर त्रास हुने गरेको थियो । अहिले कोभिडको जोखिम कम छ । चिसो मौसम सकिएर गर्मी मौसम शुरु हुनेबेला भएको छ ।
गर्मी मौसममा त झन् बढी समस्या हुने गरेको उहाँको भनाइ छ । गर्मीले उकुसमुकुस बनाउने, कारागारको पर्खालदेखि सुत्ने ठाउँको भवन जीर्ण भएकाले कतिबेला भत्किएर ज्यान लिन्छ कि भन्ने डरैडरमा कैदीबन्दी रहेका छन् । “गर्मीका बेला खुला हावा आउने हुनुपर्दछ । सबै एउटै ठाउँमा कोचिएर बस्नुपर्दा श्वास फेर्नसमेत कठिन हुने गर्दछ ।” उहाँले भन्नुभयो । शौचायलय जानसमेत पालो कुरेर बस्नुपर्ने, अझै दुर्गन्धित भएकाले रोग लाग्ने बढी सम्भावना गर्मी याममा हुने गरेको छ ।
तीन वर्षदेखि कैद सजाय काट्दै आएका मङ्गलबहादुर गुरुङले भन्नुभयो “राणाकालको आँखीझयाल जस्तो हामी बस्ने ठाउँ छ । धेरै बस्दा एकअर्काको रोग सर्ने सम्भावना पनि उच्च रहेको छ । वर्षेनी गर्मीमा ओछयानमा उडुस पर्ने गर्छ । टोकेर सुत्नै मुस्किल हुन्छ । राति १२ बजेसम्म उडुस मार्नमै व्यस्त हुने गर्दा राम्रोसँग सुत्नसमेत समस्या हुने गर्दा गर्मी शुरु हुन लाग्दा थप चिन्तामा छौ ।
चिसोको समयमा खानेपानी आउने गरे पनि गर्मीमा त खानेपानीको समस्या कारागारमा हुने गरेको छ । पानी कम हुँदा सरसफाइ समेत राम्रोसँग गर्न नपाउने समस्या यहाँका कैदीबन्दीको विगतदेखि कै हो । कैदीबन्दी बस्ने ठाउँ फराकिलो र नयाँ संरचना भएमा सहज हुने कैन्दीबन्दीको भनाइ छ । यहाँका कैदीबन्दीले समस्याको समाधान गर्न सरकारसँग माग गर्दै आए पनि समस्या जहाँतहीँ जीवित छ। यस कारागार विसं २०२८ मा कुन्छाबाट बेँसीशहरमा सदरमुकाम सरेसँगै निर्माण गरिएको थियो । कारागारको कार्यालयदेखि कैदीबन्दी बसोबास गर्ने संरचना गरी चार रोपनी क्षेत्रफलमा फैलिएको छ । संख्याका आधारमा कारागारका लागि आठ रोपनी क्षेत्रफल आवश्यक पर्ने कारागारका सूचना अधिकृत रमेश विकको भनाइ छ ।
कारागार पुरानो र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा दिनहुँ उनीहरुलाई विभिन्न समस्या हुने गरेको छ । खान, बस्न, सुत्नदेखि शौचालय जानसमेत उनीहरूलाई कठिन भइरहेको र सम्बन्धित ठाउँमा समस्याको समाधान गर्न पहल गरिरहेको उहाँले जानकारी दिनुभयो । सम्बन्धित निकायबाट उक्त कारागारमा नयाँ भवन बनाउन उपयुक्त हुन्छ/हुँदैन भनेर अघिल्लो गत वर्षमाटो परीक्षणको कामसमेत भइसकेको छ। नयाँ भवन बनाउनका लागि उपयुक्त भएको ठहरसमेत प्राविधिक टोलीले गरेको थियो । अहिलेसम्म पनि कुनै काम अघि बढ्न नसकेको जिल्ला कारागारले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले क्षमताभन्दा बढी कैदीबन्दी र पुरानो संरचना हुँदा धेरै समस्या भए पनि समाधान हुन नसक्दा कानुनी मापदण्डअनुसारको हुन नसकेको बताउनुभयो । नेपालकै पुरानो कारागारमध्ये एक भएको जनाउँदै उहाँले दिनहुँ दिन कैदीबन्दी थपिँदै जाँदा नयाँ भवन निर्माण गर्नुपर्ने भए पनि नयाँ भवन उपलब्ध हुन नसक्दा विभिन्न समस्या भइरहेको जानकारी दिनुभयो । यस्तो संरचनामा कैदीबन्दी राख्दा उनीहरुको मनोबलसमेत गिर्ने भएकाले कारागार व्यवस्थापन विभागमा लेखापढी गरेर आवश्यक पहल गर्न अनुरोध गरिएको भए पनि कायान्वयन हुन नसकेको उहाँको भनाइ छ । झण्डै ४९ वर्ष अघि निर्माण भएको यस कारागार अहिलेसम्म पनि खासै मर्मत तथा आवश्यकताअनुसार कारागारको भवन निर्माण हुन सकेको छैन । यसलाई थप व्यवस्थित र कैदीबन्दीलाई मध्यनजर गरेर सोहीअनुरुप संरचना निर्माण नहुँदा यस्ता समस्या देखिएको छ । यहाँ अब भने सरकारले भवन निर्माण गर्ने बताइएको छ ।
कारागार २५ पुरुष र १० महिला गरी ३५ जनाको क्षमता हो । हाल रहेको ९१ जना कैन्दीबन्दीमध्ये ८२ कैदीबन्दी पुरुष ८० र ११ कैदीबन्दी महिला रहेका छन् । यसैगरी ४७ कैदी र ४४ थुनुवा रहेका छन् । तीमध्ये ३९ कैदी पुरुष र आठ कैदी महिला रहेको कारागारले जनाएको छ। त्यस्तै ४१ जना पुरुष र तीन जना महिला थुनुवा (पुर्पक्षका लागि राखिएको) रहेका छन् । कैदीमध्ये बढी जबर्जस्ती करणी उद्योग, कर्तव्य ज्यान मुद्दाका बढी छन् । रासस










