व्यास–८ मा प्रशासनिक भवन निर्माण, सेवा प्रवाहमा सहजता आउने विश्वास

दमौली : तनहुँको व्यास नगरपालिका वडा नम्बर ८ को नयाँ प्रशासनिक भवन निर्माण गरिएको छ । नवनिर्मित उक्त भवनको बुधबार नगर प्रमुख बैकुण्ठ न्यौपानेले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।
नगर प्रमुख न्यौपानेले वडा कार्यालय नागरिकसँग प्रत्यक्ष जोडिएको निकाय भएकाले यहाँबाट पारदर्शी, निष्पक्ष र नागरिकमैत्री सेवा प्रवाह हुनुपर्नेमा जोड दिए। उनले नयाँ भवनले सेवाको गुणस्तर अभिवृद्धि गर्नुका साथै सेवाग्राही र कर्मचारीका लागि सहज वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा उपप्रमुख इन्दिरा दरैले विकाससँगै सेवा प्रणाली पनि सुदृढ हुनुपर्ने बताउँदै प्रभावकारी सेवा प्रवाहबाटै स्थानीय तहप्रति जनविश्वास बढ्ने धारणा राखिन् ।
प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले आधुनिक संरचनाले प्रशासनिक कामलाई व्यवस्थित र छरितो बनाउन सहयोग पुग्ने बताए ।
वडा अध्यक्ष युवराज गुरुडको अध्यक्षतामा आयोजित कार्यक्रममा निवर्तमान वडा अध्यक्ष ओजराज पौडेल, वडा नम्बर ४ का अध्यक्ष मनबहादुर गुरुङ, वडा नम्बर २ का अध्यक्ष काशिराम श्रेष्ठ, वडा सदस्य विष्णुमाया राना लगायतले नयाँ भवनले सेवा प्रवाहमा गुणस्तर ल्याउने विश्वास व्यक्त गरे ।
त्यसैगरी राजनीतिक तथा सामाजिक क्षेत्रका प्रतिनिधि नेत्र रेग्मी, सूर्यचन्द्र लम्साल, तिला रेग्मी र कार्यपालिका सदस्य चन्द्रमायाँ परिचारले विकास निर्माणमा सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
सो अवसरमा वडा प्राविधिक विशाल थापाले भवन निर्माणसम्बन्धी विवरण प्रस्तुत गर्दै ७४ लाख २२ हजार ४ सय ५ रुपैयाँ लागतमा करिब १२ महिनामा निर्माण सम्पन्न भएको जानकारी दिए । दुई तले आरसिसी संरचनामा चार कोठा र ४० जनाभन्दा बढी क्षमताको सभाहल रहेको भवन निर्माण गरिएको छ ।
कार्यक्रमको सहजीकरण वडा सचिव काजिमान गुरुडले गरेका थिए । नयाँ भवन सञ्चालनमा आएसँगै वडा कार्यालयले सेवा प्रवाहलाई थप छिटो, सहज र प्रभावकारी बनाउने जनाएको छ ।










