नकुहिने फोहरबाट आम्दानी गर्ने योजना बनाउँदै व्यास नगरपालिका

दमौली । तनहुँको व्यास नगरपालिकाले खेर गइरहेको फोहर व्यवस्थापनबाट आम्दानी गर्ने योजना अगाडि ल्याएको छ । पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने सोचसहित सूक्ष्म रूपमा वर्गीकरण गरेर बिक्री वितरण गर्ने प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ ।
वन, वातावरण तथा सरसफाइ शाखा प्रमुख नवराज कँडेलले विगत लामो समयदेखि नकुहिने फोहरलाई खाडल खनेर पुर्दै आएकामा हाल कार्यालय परिसरमै व्यवस्थापन गरी बिक्री वितरणको तयारी गरिएको बताए ।
‘यसअघि वडा नं ३ मादीनदी किनारस्थित भतेरीमा नकुहिने फोहर व्यवस्थापन गर्दै आएका थियौँ । त्यहाँको सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहर व्यवस्थापन गर्न लागिएको छ’, उनले भने, ‘यसरी संकलित फोहरको वर्गीकरण गरी बिक्री वितरणको योजना बनाएका छौँ । त्यसका लागि ट्रष्ट निर्माण र व्यवस्थित वर्गीकरणका लागि आवश्यक मेसिन खरिदको काम भइरहेको छ ।’
नगरपालिका क्षेत्रमा हाल दैनिक १५ टन नकुहिने र सात टन कुहिने फोहर संकलन हुने गरेको छ । यसको दिगो व्यवस्थापनका लागि वडा नं १३ मा जग्गा खरिद प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । यहाँ पूर्वनिर्धारित स्थलमा फोहर विसर्जनका लागि भएको सम्झौता अवधि सकिएपछि यही साउन १ गतेदेखि दमौली बजारलगायत आसपासका क्षेत्रबाट नकुहिने फोहर संकलनमा समस्या भइरहेको छ । कुहिने फोहर वडा नं १० दुम्सीस्थित गौ संरक्षण केन्द्रमा व्यवस्थापन हुँदै आएको छ ।
प्रमुख प्रशासकीय अधिकृत काशिराम गैरेले प्लाष्टिक, सिसा, कपडा र फलामलगायत नकुहिने वस्तुलाई छ किसिमले सूक्ष्म वर्गीकरण गरी बिक्री गर्ने योजना बनाइएको बताए । यसबाट मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखिएको छ । यसअघि खाडल खनेर पुरिँदै आएको नकुहिने फोहर अब सरसफाइ शाखाका कर्मचारी परिचालन गरी वर्गीकरण गर्ने र त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर बिक्री वितरण गरिने गैरेले बताए।
नगर प्रमुख बैकुण्ठ न्यौपानेले हालसम्म फोहर व्यवस्थापनका लागि लाखौँ रकम खर्च गरिरहेको नगरले अब त्यसैबाट आम्दानी गर्ने गरी काम गर्ने बताए । ‘हामीले सिसाका बोतल खरिद गर्न प्रस्ताव माग गरिसकेका छौं । सबै किसिमका वस्तु बिक्रीका लागि आवश्यक तयारी भइरहेको छ’, उनले भने, ‘सरसफाइ क्षेत्रमा लाखौँ खर्च गर्दै आएकामा अब फोहरलाई आम्दानीको स्रोतका रूपमा अगाडि बढाउने छ । सोहीअनुसार आवश्यक काम भइरहेका छन् ।’
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker