मुग्लिन पोखरा सडक विस्तार : पूर्वी खण्डको कालोपत्र अन्तिमचरणमा

दमौली : पृथ्वीराजमार्गको मुग्लिन पोखरा सडक खण्डको विस्तार कार्यलाई तीब्र पारिएको छ । आँवुखैरेनी–जामुनेलाई पूर्वी खण्ड र जामुने–पोखरालाई पश्चिम खण्ड गरी दुई खण्डमा विभाजन गरी यतिबेला सडक वस्तारको कार्य भइरहेको छ । मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत पूर्वी खण्डको विस्तार कार्य अन्तिमचरणमा पु¥याइएको छ । यस खण्डमा असार महिनाभित्रै कालोपत्र सक्ने तयारी साथ काम भइरहेको योजनाले जनाएको छ ।
आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.४५ किलोमिटर दूरीमध्ये अब करिब तीन किलोमिटर मात्रै कालोपत्र गर्न बाँकी रहेको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।
यो खण्डको म्याद तेस्रो पटक थपिएकामा आगामी असार २९ गतेसम्म रहेकामा त्यसअवधिभित्रै काम सम्पन्न गरिने आयोजनाका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार व्यास नगरपालिकाको दमौली बजारको एक किलोमिटर ८०० मिटर, बन्दीपुर गाउँपालिकास्थित डुम्रे बजार नजिक ३०० मिटर र सोही गाउँपालिकाको विमलनगरमा ७०० मिटर खण्डमात्रै कालोपत्र गर्न बाँकी छ ।
दमौली बजारअन्तर्गत बागबजार र मुख्यचोकमा एकतर्फी कालोपत्र भइसकेको छ । अर्कोतर्फ कालोपत्रका लागि पूर्वतयारीका काम जारी छ । त्यस क्षेत्रमा कालोपत्रका लागि काम भइरहेको छ । पूर्वी खण्डका कालोपत्र सकिएका ठाउँमा सडक मार्किङ गर्ने काम पनि भइरहेको छ । पाण्डले भने, “तेस्रो पटक थप भएको म्यादभित्रै बाँकी काम सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको छ ।”
पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । वि.सं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।
त्यस्तै पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्मको खण्डको प्रगति ५२ प्रतिशत पुगेको छ । यो खण्डका लागि विसं २०७८ जेठ ३ गते सम्झौता भएको थियो । यो खण्डको ठेक्का एनहुई केयुएन हाइवे एन्ड ब्रिजले रु सात अर्ब ४० करोडमा पाएको थियो । निर्माण पक्षले यस खण्डमा पनि विस्तर कार्यलाई तीब्रता दिंदै आएको छ ।










