व्यासको गौरवको आयोजना : पराशर मार्गको कामले गति लिन सकेन

दमौली : तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनाको पराशर मार्गको कामले गति लिन सकेको छैन । विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गको स्तरोन्नतिको काम सुस्त गतिमा भएको छ । समय सकिन साढे तीन महिना बाँकी रहुँदा भौतिक प्रगति १४ प्रतिशत मात्रै छ ।
गत जेठ महिनादेखि सुरु भएको सडकको स्तरोन्नतिको काम सुस्त भएपछि गति बढाउन नगरपालिकाले सम्बन्धित निर्माण व्यावसायीलाई निर्देशन दिएको छ । पटकपटक अनुगमन गरेर छिटो सम्पन्न गर्न निर्देशन दिएपछि हाल कामदारको संख्या निर्माण व्यावसायीले बढाएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।
विश्व बैंकको सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत चार वडा जोड्ने पराशर मार्ग स्तरोन्नतिको काम भइरहेकोमा हालसम्म भौतिक प्रगति १४ प्रतिशत मात्रै रहेको व्यास नगरपालिकाका सिनियर डिभिजन इन्जिनियर डा. राजु पौडेलले जानकारी दिए ।
पौडेलले भने, “यही गतिमा काम भएमा असार मसान्त सम्ममा आधा काम पूरा हुने देखिएको छ, काम छिटो पूरा गर्न पत्रचार गरेका छौं ।” व्यास नगरपालिको ७, ९, १० र ११ गरी चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण हुन लागेको डा. पौडेलले जानकारी दिए ।
बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कुल–कलेस्ती सडक जोडिने उक्त खण्डमा १०.५५ किलोमिटर दूरी कालोपत्र हुनेछ । उक्त सडक स्तरोन्नतिका लागि गत वैशाख १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो।
सडक स्तरोन्नतिका लागि रु ४० करोड ८३ लाख ३५ हजार ९२१ मा निर्माण कम्पनी बिकेएचटिडिसिएल एसिपिएल जेभी कालीमाटीसँग सम्झौता भएको थियो । सडक स्तरोन्नतिका लागि गत विसं २०८० पुस २६ गते ५२ करोड ७८ लाख ३० हजार ४२७ को ठेक्का आह्वान भएको थियो ।
त्यसमध्ये नौ वटा फर्मले बोलपत्र दर्ता गराएकामा २३.४१ प्रतिशत घटी बोलपत्र दर्ता गराउने फर्मको बोलपत्र स्वीकृत भएको थियो । वि.सं. २०८२ असारसम्म यसको म्याद छ । अनुगमनको क्रममा सडक स्तरोन्नतिको काम अत्यन्त सुस्त गतिमा भएको पाइएको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले बताए। १०.५५ किलोमिटर उक्त सडकखण्डमा कालोपत्र, नाला तथा अन्य संरचना निर्माण गरिने छ ।
उक्त सडकले व्यास नगरपालिका–११ स्थित बुल्दीखोला, बेल्टारी, फराकचौर, व्यास नगरपालिका–१० अधेरीभन्ज्याङ, पोख्रेलफाँट, व्यास नगरपालिका–९ कुमालगाउँ, व्यास नगरपालिका–७ समता स्कूल, कलेस्ती लगायतका ठाउँ जोड्छ ।
सहरीकरण बढ्दै जाने क्षेत्रलाई प्राथमिकता राखेर काम गर्ने क्रममा पराशर मार्ग छनोटमा परेको नगर प्रमुख न्यौपानेले बताए । सडक सञ्चालनमा आएपछि बजार सम्मको सहज र छिटो पहुँच गर्नुका साथै सामाजिक सेवा प्रदान गर्ने नगर प्रमुख न्यौपानेको भनाइ छ । काम ढिलो हुँदा स्थानीयलाई धुलोले सास्ती दिएको सो सडकका उपभोक्ता व्यास नगरपालिका–११ पोल्याङ निवासी लोकराज सेढाँईले जानकारी दिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker