शोकमा शक्ति बनेर आऊ

सुरेशकुमार पाण्डे

देशमा प्राकृतिक विपद् आइपरेका बेला राष्ट्रिय शक्तिको एकता अनिवार्य हुन्छ । विपद् कुनै सरकारलाई मात्र आएको होइन, प्रतिपक्षलाई मात्र आएको होइन, यो सिङ्गो देशमाथि आएको संकट हो। त्यसैले यस्तो दुःखद् घडीमा सत्ता र प्रतिपक्ष, दल र विचार, संस्था र व्यक्तिभन्दा माथि उठेर राष्ट्रको पक्षमा उभिनु आवश्यक हुन्छ । आज देश शोकमा छ । धेरै परिवारले आफ्ना आफन्त गुमाएका छन्। कतिपय परिवारका सदस्य अझै बेपत्ता छन् । कतिपय घाइते भएर उपचाररत छन् । घरबार, सम्पत्ति र जीवनयापनका आधार गुमाएका परिवारको पीडा शब्दमा व्यक्त गर्न कठिन छ । यस्तो अवस्थामा चाडपर्व, उत्सव र व्यक्तिगत खुसीलाई थाती राखेर पीडितसँग ऐक्यबद्धता जनाउनु मानवीय कर्तव्य हो ।

यस दुःखद् घडीमा ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरौँ। शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरौँ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरौँ। बेपत्ताहरूको खोजी तीव्र होस् र उनीहरू सकुशल भेटिऊन् भन्ने कामना गरौँ ।

यतिबेला जसले जहाँबाट जे सकिन्छ, त्यहीँबाट सहयोग गरिरहेका छन् । विपद्को घडीमा रातदिन नभनी उद्धार, राहत र खोजी कार्यमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, सामाजिक संघसंस्था तथा सर्वसाधारण सबै धन्यवादका पात्र छन्। उनीहरूको योगदानको सम्मान गर्नु र आवश्यक सहयोग उपलब्ध गराउनु हाम्रो सामूहिक दायित्व हो ।

तर दुःखको कुरा, विपद्को यस्तो संवेदनशील घडीमा पनि अनावश्यक राजनीतिक विवाद र आरोप–प्रत्यारोप सुरु हुने गरेका छन् । राजनीति गर्नुपर्ने समय आउँछ। सरकारको आलोचना गर्नुपर्ने विषय पनि हुन्छन् । राज्यका कमजोरीमाथि प्रश्न उठाउनु लोकतन्त्रको स्वाभाविक प्रक्रिया हो। तर प्रश्न के हो भने- के प्रत्येक विषय उठाउने समय एउटै हुन्छ ?

अहिले प्राथमिकता उद्धार हो, खोजी हो, उपचार हो र राहत हो। मानिसको जीवन बचाउने समय हो । त्यसैले काम गरिरहेकाहरूको मनोबल कमजोर हुने गरी अनावश्यक टीकाटिप्पणी गर्नु कसैको हितमा हुँदैन ।

यसको अर्थ सरकारका सबै काम सही छन् भन्ने होइन । राहत वितरणमा कमजोरी भए प्रश्न उठ्नुपर्छ। उद्धारमा ढिलाइ भए जवाफ मागिनुपर्छ । राज्यका संयन्त्रबीच समन्वयको अभाव देखिए त्यसको आलोचना हुनुपर्छ। तर आलोचना पनि रचनात्मक र जिम्मेवार हुनुपर्छ। संकट समाधान भएपछि कमजोरीको विस्तृत समीक्षा गर्न सकिन्छ। अहिले भने हातेमालो गरेर संकटबाट नागरिकलाई बाहिर निकाल्नु पहिलो प्राथमिकता हो ।

यतिबेला ‘ग्रिन आर्मी नेपाल’को विषयमा सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भइरहेका छन् । उनीहरूको पोसाक, परिचालन र भूमिकाबारे प्रश्न उठाइएका छन्। प्रश्न उठाउनु आफैँमा गलत होइन। लोकतन्त्रमा कुनै पनि संस्था वा व्यक्तिमाथि प्रश्न गर्न पाइन्छ। तर प्रश्न उठाउने समय र शैलीले पनि अर्थ राख्छ ।

यदि ग्रिन आर्मीको परिचालन, स्वरूप वा पोसाकबारे गम्भीर प्रश्न छन् भने त्यसबारे शान्त समयमा बहस गरौँ । यसको कानुनी हैसियत के हो ? यसको आवश्यकता कति छ? राज्यले कसरी परिचालन गर्नुपर्छ ? पोसाकको स्वरूप कस्तो हुनुपर्छ ? यस्ता प्रश्नमा खुला र तथ्यपरक बहस आवश्यक छ। तर उद्धार र राहतमा खटिएको समयमा निरन्तर विवाद सिर्जना गरेर स्वयंसेवकको मनोबल गिराउनु उचित हुँदैन ।

ग्रिन आर्मीको उत्पत्ति, दर्ता, उद्देश्य र पोसाक निर्धारणका विषयमा विभिन्न विवरण सार्वजनिक भएका छन् । वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा युवा परिचालनसँग जोडिएको सामाजिक अभियानका रूपमा यसको विकास भएको बताइन्छ । यसको संस्थागत स्वरूप, सरकारी निकायसँगको सम्बन्ध र पोसाकसम्बन्धी विषयमा समेत सार्वजनिक रूपमा विभिन्न दाबी र प्रश्न उठिरहेका छन् । यी विषयमा आवश्यक परे सम्बन्धित निकायले स्पष्ट पार्नुपर्छ। तर अहिलेको मुख्य प्रश्न भने त्यो होइन ।

मुख्य प्रश्न हो- विपद्को घडीमा नागरिकको ज्यान कसरी जोगाउने ?

कुनै स्वयंसेवकले आफ्नो समय, श्रम र जोखिम मोलेर उद्धारमा योगदान गरिरहेको छ भने उसको कामलाई प्रोत्साहन गर्नुपर्छ । उसको काममा कमजोरी छ भने सुधारका लागि सुझाव दिनुपर्छ । तर निरुत्साहित पार्ने गरी आरोप–प्रत्यारोपमा उत्रिनु हुँदैन ।

हामीले …कसले के ग¥यो ?Ú भनेर हिसाब खोज्नुभन्दा पहिले …मैले के गर्न सक्छु ?Ú भनेर सोच्ने बेला हो। सहयोग गर्न सकिन्छ भने सहयोग गरौँ। आर्थिक सहयोग गर्न सकिन्छ भने गरौँ। श्रमदान गर्न सकिन्छ भने गरौँ । रक्तदान गर्न सकिन्छ भने गरौँ। सूचना प्रवाहमा सहयोग गर्न सकिन्छ भने गरौँ। केही गर्न सकिँदैन भने कम्तीमा राहत र उद्धारमा जुटेकाहरूको बाटो छेक्ने अनावश्यक टिप्पणी नगरौँ ।

नेपालमा सरकारी तथा गैरसरकारी संस्थाहरूको ठूलो सञ्जाल छ । विभिन्न गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू पनि विपद्का बेला सक्रिय हुने गरेका छन् । उनीहरूले कस्तो भूमिका निर्वाह गरिरहेका छन्, स्रोतसाधन कहाँ र कसरी परिचालन भइरहेको छ, राहत लक्षित समुदायसम्म पुगेको छ कि छैन– यी विषयमा नागरिक निगरानी आवश्यक छ । तर निगरानीको नाममा काम गरिरहेका सबैलाई एउटै दृष्टिले हेर्नु पनि न्यायसंगत हुँदैन ।

अहिलेको संकटले राज्य, नागरिक समाज र स्वयंसेवी संस्थाहरू सबैको परीक्षा लिइरहेको छ । यो परीक्षा केवल सरकारको होइन । हाम्रो सामाजिक चेतना, नागरिक जिम्मेवारी र राष्ट्रिय एकताको पनि परीक्षा हो ।

यही सन्दर्भमा प्रधानमन्त्री बालेन्द्र शाहले समेत विपद्को गम्भीरतालाई अन्तर्राष्ट्रिय तहमा उठाउन खोजेको विषयलाई सकारात्मक पहलका रूपमा लिन सकिन्छ । विपद्को कारण, प्रभाव र क्षतिको अन्तर्राष्ट्रिय आयाम छ भने त्यसलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष तथ्यसहित प्रस्तुत गर्नु आवश्यक हुन्छ । तर त्यसका लागि पनि राष्ट्रिय तहमा साझा धारणा निर्माण गर्नुपर्छ ।

यो विपद् केवल तत्कालीन उद्धार र राहतको विषय मात्र होइन । जलवायु परिवर्तन, हिमाली क्षेत्रमा बढ्दो तापक्रम, हिमताल तथा हिमनदीमा भइरहेको परिवर्तन र त्यसबाट उत्पन्न हुने जोखिमबारे नेपालले अन्तर्राष्ट्रिय मञ्चमा अझ बलियो आवाज उठाउनुपर्छ। विश्वका औद्योगिक तथा शक्तिशाली राष्ट्रहरूले उत्सर्जन घटाउने प्रतिबद्धता व्यवहारमा कति पूरा गरेका छन् भन्ने प्रश्न पनि उठाउनुपर्छ ।

नेपालजस्ता हिमाली मुलुकले जलवायु परिवर्तनको मूल्य असमान रूपमा चुकाइरहेका छन्। विश्वव्यापी तापक्रम वृद्धिमा नेपालको योगदान अत्यन्त न्यून भए पनि यसको असर भने हिमाल, नदी, कृषि, पर्यटन र मानव जीवनमा गम्भीर रूपमा परेको छ । त्यसैले नेपाललाई दया होइन, न्याय चाहिएको छ ।

जलवायुजन्य विपद्बाट हुने क्षतिको क्षतिपूर्ति, अनुकूलनका लागि आवश्यक स्रोत र जोखिम न्यूनीकरणमा अन्तर्राष्ट्रिय सहयोगका विषयमा नेपालले एउटै राष्ट्रिय आवाज उठाउनुपर्छ । यसका लागि सत्तापक्ष र प्रतिपक्षबीच साझा धारणा आवश्यक छ । राष्ट्रिय स्वार्थका प्रश्नमा दलहरूबीचको मतभेदभन्दा माथि देशको हित हुनुपर्छ ।

विपद् कसैको राजनीतिक उपलब्धि बनाउने अवसर होइन। न त कसैको राजनीतिक असफलता प्रमाणित गर्ने मैदान नै हो। यो नागरिकको जीवन बचाउने घडी हो। अहिले कसैले राहतमा सहयोग गर्छ भने उसको राजनीतिक विचार नखोजौँ। कसैले उद्धार गर्छ भने उसको संगठन नखोजौँ। पहिले उसको मानवीय योगदानलाई सम्मान गरौँ ।

तर यसको अर्थ गलत कामलाई ढाकछोप गर्नु पनि होइन। गलत कामको आलोचना हुनुपर्छ। अनियमितता भए छानबिन हुनुपर्छ । राहतमा पक्षपात भए प्रश्न उठ्नुपर्छ । राज्य संयन्त्रले काम नगरे जवाफदेहिता खोजिनुपर्छ । तर अहिलेको आवश्यकता विरोधका लागि विरोध र समर्थनका लागि समर्थन होइनÙ सही कामको समर्थन र गलत कामको तथ्यपरक आलोचना हो ।

इतिहासले संकटको समयमा समाजको चरित्र पहिचान गर्छ। विपद् आउँदा को तमासा हेर्छ, को आलोचना मात्र गर्छ र को मैदानमा उत्रिएर हात थाम्छ– त्यहीँबाट समाजको वास्तविक शक्ति देखिन्छ ।

आज नेपाली समाज गहिरो पीडामा छ। हजारौँ परिवारको आँखामा आँसु छ। धेरैको घरमा चुलो बलेको छैन । धेरैका मनमा आफन्त फर्केर आउने आशा अझै बाँकी छ । यस्तो बेला हामीले एकअर्काको मनोबल बढाउनुपर्छ ।

राजनीतिक दलहरूलाई पनि आग्रह छ– अहिले प्रतिस्पर्धा होइन, सहकार्यको समय हो। संघसंस्थाहरूलाई आग्रह छ–आफ्नो सामथ्र्यअनुसार सहयोगमा जुटौँ। नागरिकलाई आग्रह छ– सक्नेले सहयोग गरौँ, नसक्नेले सहयोगीहरूको मनोबल बढाऔँ । सरकारलाई पनि आग्रह छ–आलोचनालाई शत्रुता नठानौँ र सहयोगलाई राजनीतिक समर्थनको रूपमा नबुझौँ । सबै पक्षले आ–आफ्नो जिम्मेवारी पूरा गरौँ ।

हामीले शोकलाई कमजोरी बन्न दिनु हुँदैन। यही शोकलाई राष्ट्रिय एकताको शक्तिमा बदल्नुपर्छ। यही पीडालाई विपद् व्यवस्थापन सुधारको संकल्पमा बदल्नुपर्छ । यही क्षतिलाई सुरक्षित भविष्य निर्माण गर्ने चेतावनीका रूपमा लिनुपर्छ ।

आज देशलाई विभाजन गर्ने आवाज होइन, जोड्ने आवाज चाहिएको छ । दोषारोपण होइन, समाधान चाहिएको छ। तमासा होइन, जिम्मेवारी चाहिएको छ। स्वार्थ होइन, राष्ट्रिय हित चाहिएको छ ।

त्यसैले राजनीतिक दलहरू, सामाजिक संघसंस्था, नागरिक समाज र आम नागरिक—विरोधमा होइन, राष्ट्रिय शोकलाई शक्तिमा बदल्ने एकताको सन्देश लिएर आऊ ।

आऊ, पीडितको आँसु पुछ्न हात बढाऊ ।
आऊ, उद्धारमा जुटेकाहरूको मनोबल बन ।
आऊ, संकटमा एकअर्काको शक्ति बन ।
आऊ, आजका कमजोरीबाट भोलिको सुरक्षित नेपाल निर्माण गर्ने संकल्प गरौँ ।
देश शोकमा छ ।
तर यही शोकबाट शक्ति जन्माउन सकिन्छ ।
त्यसैले–शोकमा शक्ति बनेर आऊ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker