विद्यालय तहको शिक्षा सुधारमा स्थानीय तहको भूमिका

शिवदत्ता चापागाई

विद्यालय तहको शिक्षा देशको सामाजिक, आर्थिक र सांस्कृतिक विकासको आधार हो । बालबालिकाले विद्यालयबाट प्राप्त गर्ने ज्ञान, सीप, संस्कार र दृष्टिकोणले उनीहरूको व्यक्तिगत भविष्यसँगै राष्ट्रको भविष्य पनि निर्धारण गर्छ । त्यसैले विद्यालय शिक्षालाई गुणस्तरीय, समावेशी, व्यवहारिक र समयानुकूल बनाउनु राज्यका सबै तहको साझा दायित्व हो । नेपालको संघीय शासन व्यवस्थामा विद्यालय शिक्षासम्बन्धी धेरै अधिकार स्थानीय तहमा हस्तान्तरण भएका छन् । यसले स्थानीय सरकारलाई आफ्नै क्षेत्रका शैक्षिक समस्या पहिचान गरी स्थानीय आवश्यकता र सम्भावनाअनुसार शिक्षा सुधार गर्ने अवसर दिएको छ ।
तर अधिकारसँगै जिम्मेवारी, स्रोत व्यवस्थापन, जवाफदेहिता र प्रभावकारी नेतृत्वको आवश्यकता पनि उत्तिकै महत्वपूर्ण हुन्छ । विद्यालय तहको शिक्षा सुधारका लागि स्थानीय तहले प्रशासनिक भूमिका मात्र निर्वाह गरेर पुग्दैन। उसले विद्यालयको शैक्षिक नेतृत्व, शिक्षकको क्षमता विकास, आधुनिक शिक्षणशैली, विद्यार्थीको सिकाइ उपलब्धि, प्रविधिको प्रयोग, अभिभावक सहभागिता र विद्यालयको पारदर्शी व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्छ ।
स्थानीय आवश्यकतामा आधारित शिक्षा योजनाः हरेक स्थानीय तहको भौगोलिक, सामाजिक, आर्थिक र सांस्कृतिक अवस्था फरक हुन्छ। हिमाली क्षेत्रमा विद्यालयको पहुँच र यातायात चुनौतीपूर्ण हुन सक्छ भने ग्रामीण क्षेत्रमा शिक्षक अभाव, विद्यार्थी अनुपस्थिती र बसाइँसराइ प्रमुख समस्या हुन सक्छ। कतिपय क्षेत्रमा भाषिक विविधता, गरिबी तथा अपाङ्गता भएका बालबालिकाको पहुँच मुख्य चुनौती बन्न सक्छ । त्यसैले स्थानीय तहले केन्द्रबाट आएको सामान्य योजनालाई मात्र पछ्याउनुको सट्टा आफ्नै क्षेत्रको वास्तविक अवस्था अध्ययन गर्नुपर्छ ।
विद्यालयको संख्या, विद्यार्थी उपस्थिती, शिक्षकको दरबन्दी, सिकाइ उपलब्धि, विद्यालय छाड्ने दर, पूर्वाधार र समुदायको आवश्यकता सम्बन्धी तथ्याङ्क संकलन गर्नुपर्छ । यिनै तथ्यका आधारमा स्थानीय शिक्षा योजना तयार गर्नुपर्छ । योजना बनाउँदा शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, वडा प्रतिनिधि, शिक्षा विज्ञ र स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्नुपर्छ । सहभागितामूलक योजनाले विद्यालय सुधारमा अपनत्व र उत्तरदायित्व बढाउँछ ।
गुणस्तरीय शिक्षक र शैक्षिक नेतृत्वः शिक्षाको गुणस्तर सुधारमा शिक्षकको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ। भवन, प्रविधि र पाठ्यपुस्तक आवश्यक भए पनि प्रभावकारी शिक्षकबिना विद्यार्थीको सिकाइ अपेक्षित रूपमा अघि बढ्न सक्दैन। स्थानीय तहले शिक्षकको नियमित उपस्थिती, कक्षा सञ्चालन र पाठ्यक्रम कार्यान्वयनको प्रभावकारी अनुगमन गर्नुपर्छ। शिक्षकलाई दोष लगाउनेभन्दा उनीहरूलाई आवश्यक स्रोत, तालिम, सहकार्य र पेशागत विकासको अवसर प्रदान गर्नुपर्छ। आधुनिक शिक्षणशैलीअनुसार शिक्षकले विद्यार्थीलाई केवल सूचना दिने होइन, सिकाइ प्रक्रियाको सहजकर्ता बन्नुपर्छ। यसका लागि शिक्षकलाई परियोजनामा आधारित सिकाइ, समस्या समाधानमा आधारित शिक्षण, समूहकार्य, प्रयोगात्मक शिक्षण, डिजिटल प्रविधि, बालमनोविज्ञान र समावेशी कक्षा व्यवस्थापनसम्बन्धी तालिम दिनुपर्छ । विद्यालय सुधारमा प्रधानाध्यापकको नेतृत्व पनि निर्णायक हुन्छ। प्रधानाध्यापकलाई प्रशासनिक काममा मात्र सीमित नराखी शैक्षिक नेतृत्वको जिम्मेवारी दिनुपर्छ । प्रधानाध्यापक छनोटमा योग्यता, अनुभव, नेतृत्व क्षमता र कार्यसम्पादनलाई प्राथमिकता दिन आवश्यक छ ।
आधुनिक शिक्षणशैली समावेशः वर्तमान समयमा शिक्षा कण्ठ गर्ने र परीक्षा दिने प्रक्रियामा सीमित रहन सक्दैन। विद्यार्थीले सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्न, प्रश्न गर्न, विश्लेषण गर्न, सिर्जना गर्न र समस्या समाधान गर्न सक्नुपर्छ । स्थानीय तहले विद्यालयमा विद्यार्थीकेन्द्रित र गतिविधिमूलक शिक्षणलाई प्रोत्साहन गर्नुपर्छ। कक्षाकोठामा शिक्षकको एकतर्फी व्याख्यानभन्दा छलफल, प्रयोग, परियोजना, प्रस्तुति र सहकार्यमा आधारित सिकाइलाई प्राथमिकता दिनुपर्छ। शक्षणशैलीका परियोजनामा आधारित सिकाइ, समस्या समाधानमा आधारित शिक्षण, समूहकार्य र सहकार्यात्मक सिकाइ, प्रयोग तथा अवलोकनमा आधारित सिकाइ, खेल र गतिविधिमा आधारित प्रारम्भिक शिक्षा, स्थानीय परिवेशमा आधारित अध्ययन, डिजिटल सामग्री र मल्टिमिडियाको प्रयोग, विद्यार्थीको क्षमता र रुचिअनुसार फरक शिक्षण विधि, निरन्तर मूल्याङ्कन र सुधारात्मक पृष्ठपोषण यस्ता महत्वपूर्ण अभ्यासहरूको प्रयोग गरिनु पदर्छ । उदाहरणका लागि, जलस्रोत सम्बन्धी पाठ पढाउँदा विद्यार्थीलाई पाठ्यपुस्तक पढाएर मात्र रोक्नु हुँदैन। उनीहरूलाई स्थानीय धारा, कुवा, पोखरी वा नदीको अवस्था अवलोकन गर्न लगाउन सकिन्छ । त्यसपछि पानीको उपयोग, प्रदूषण र संरक्षणका उपायबारे प्रतिवेदन तथा प्रस्तुति तयार गराउन सकिन्छ। यस्तो अभ्यासले विषयगत ज्ञानसँगै अनुसन्धान, लेखन, सञ्चार र समस्या समाधान गर्ने क्षमता विकास गर्छ ।
सूचना प्रविधिको अर्थपूर्ण प्रयोगः शिक्षामा सूचना प्रविधिको उपयोगले सिकाइलाई सहज, रोचक र प्रभावकारी बनाउन सक्छ । स्थानीय तहले विद्यालयमा कम्प्युटर, इन्टरनेट, प्रोजेक्टर, डिजिटल पुस्तकालय र अन्य आवश्यक सामग्रीको व्यवस्था गर्नुपर्छ। तर उपकरण उपलब्ध गराउनु मात्र पर्याप्त हुँदैन । शिक्षकले ती साधनलाई पाठसँग जोडेर प्रयोग गर्न सक्नुपर्छ। डिजिटल सामग्रीको प्रयोग गर्दा विद्यार्थीको उमेर, भाषा, विषय र सिकाइको स्तरलाई ध्यान दिनुपर्छ । इन्टरनेट वा विद्युत् सुविधा नियमित नभएका क्षेत्रमा अफलाइन डिजिटल सामग्री, डाउनलोड गरिएका शैक्षिक भिडियो, रेडियो कार्यक्रम, मुद्रित स्रोत र स्थानीय रूपमा तयार गरिएका सिकाइ सामग्री प्रयोग गर्न सकिन्छ। प्रविधि शिक्षकको विकल्प होइनÙ शिक्षकको शिक्षणलाई प्रभावकारी बनाउने माध्यम हो ।
आधारभूत सिकाइ र निरन्तर मूल्याङ्कन : विद्यालय तहको शिक्षामा बालबालिकाले पढ्न, लेख्न, बुझ्न, गणना गर्न र आफ्ना विचार व्यक्त गर्न सक्नु आधारभूत उपलब्धि हो। प्रारम्भिक तहमा सिकाइ कमजोर भएमा माथिल्ला कक्षामा विद्यार्थीलाई थप कठिनाइ हुन्छ। स्थानीय तहले विद्यालयमा आधारभूत पढाइ, लेखाइ र गणितीय सीपको नियमित मापन गर्ने व्यवस्था गर्नुपर्छ। कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा, पुनःशिक्षण, सहपाठी सहयोग र व्यक्तिगत सिकाइ योजना लागू गर्न सकिन्छ । विद्यार्थीको क्षमता केवल वार्षिक परीक्षाको अंकबाट मापन गर्नु उचित हुँदैन। कक्षा सहभागिता, परियोजना कार्य, प्रयोगात्मक अभ्यास, प्रस्तुति, लेखन, मौखिक अभिव्यक्ति र व्यवहारिक सीपलाई पनि मूल्याङ्कनमा समेटिनुपर्छ। मूल्याङ्कनको उद्देश्य विद्यार्थीलाई असफल घोषणा गर्नु होइन, उनीहरूको सिकाइमा सुधार ल्याउनु हो। शिक्षकले मूल्याङ्कनपछि विद्यार्थीलाई स्पष्ट पृष्ठपोषण दिनुपर्छ र आवश्यकताअनुसार पुनःशिक्षण गर्नुपर्छ ।
पूर्वाधार र सिकाइ वातावरणः सुरक्षित भवन, पर्याप्त कक्षाकोठा, स्वच्छ खानेपानी, लैङ्गिकमैत्री शौचालय, पुस्तकालय, प्रयोगशाला, खेलमैदान र विद्युत् विद्यालयका आधारभूत पूर्वाधार हुन् । स्थानीय तहले विद्यालयको आवश्यकता, विद्यार्थी संख्या र भौगोलिक अवस्थाका आधारमा पूर्वाधार विकास गर्नुपर्छ । पूर्वाधार निर्माण गर्दा अपाङ्गमैत्री संरचना, बालसुरक्षा, वातावरणीय प्रभाव र भविष्यको उपयोगलाई ध्यान दिनुपर्छ। निर्माणपछि मर्मतसम्भारका लागि पनि नियमित बजेट छुट्याउनुपर्छ । विद्यालयको बजेट भवन र रंगरोगनमा मात्र खर्च गर्नु हुँदैन। पुस्तकालयका पुस्तक, विज्ञान सामग्री, खेलकुद, कला, संगीत, सूचना प्रविधि र विद्यार्थीको सिर्जनात्मक गतिविधिमा पनि लगानी गर्नुपर्छ ।
समावेशी र बालमैत्री शिक्षा : विद्यालय शिक्षा सबै बालबालिकाका लागि समान रूपमा पहुँचयोग्य र सुरक्षित हुनुपर्छ । आर्थिक रूपमा विपन्न, दलित, जनजाति, अपाङ्गता भएका, भाषिक रूपमा फरक तथा जोखिममा रहेका बालबालिकाका लागि विशेष सहयोग आवश्यक हुन्छ। स्थानीय तहले छात्रवृत्ति, दिवा खाजा, शैक्षिक सामग्री, यातायात सुविधा र मनोसामाजिक परामर्शका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्छ। विद्यालयमा हिंसा, विभेद, दुव्र्यवहार र अपमान हुन नदिन बाल संरक्षणसम्बन्धी स्पष्ट व्यवस्था हुनुपर्छ। बालमैत्री कक्षामा विद्यार्थीले प्रश्न गर्न, आफ्ना विचार राख्न र गल्तीबाट सिक्न पाउनुपर्छ । दण्ड र डरमा आधारित शिक्षणले विद्यार्थीको सिर्जनशीलता दबाउँछ । त्यसैले शिक्षकले संवाद, प्रोत्साहन र सहयोगमा आधारित कक्षा वातावरण निर्माण गर्नुपर्छ ।
स्थानीय ज्ञान र जीवनोपयोगी शिक्षाः स्थानीय तहले विद्यालय शिक्षालाई स्थानीय भाषा, संस्कृति, इतिहास, वातावरण, कृषि, स्वास्थ्य र जीवनपद्धतिसँग जोड्न सक्छ । स्थानीय ज्ञान र अनुभवलाई पाठ्यक्रम तथा अतिरिक्त क्रियाकलापमा समावेश गर्दा विद्यार्थीले आफ्नो समाज र परिवेशलाई गहिराइमा बुझ्न सक्छन्। स्थानीय किसान, स्वास्थ्यकर्मी, उद्यमी, कलाकार, प्राविधिक, संरक्षणकर्मी र ज्येष्ठ नागरिकलाई विद्यालयको सिकाइ प्रक्रियामा सहभागी गराउन सकिन्छ । यसबाट विद्यार्थीले पुस्तकबाहिरको व्यवहारिक ज्ञान र अनुभव प्राप्त गर्छन् । वित्तीय साक्षरता, स्वास्थ्य तथा सरसफाइ, विपद् व्यवस्थापन, वातावरण संरक्षण, सञ्चार सीप, सूचना प्रविधि, नेतृत्व र उद्यमशीलतालाई पनि विद्यालय शिक्षासँग जोड्नुपर्छ । यस्ता सीपले विद्यार्थीलाई जीवनका वास्तविक चुनौती सामना गर्न सक्षम बनाउँछन् ।
अभिभावक र समुदायको सहभागिताः विद्यालय सुधार शिक्षक र सरकारको मात्र जिम्मेवारी होइन। अभिभावक र समुदायको सक्रिय सहभागिता बिना विद्यालयप्रतिको विश्वास र अपनत्व बलियो बन्न सक्दैन। स्थानीय तहले नियमित अभिभावक भेला, शैक्षिक संवाद, सामाजिक परीक्षण र सार्वजनिक सुनुवाइको व्यवस्था गर्नुपर्छ। विद्यालयको बजेट, विद्यार्थी उपस्थिती, सिकाइ उपलब्धि र सुधार योजनाबारे अभिभावकलाई स्पष्ट जानकारी दिनुपर्छ। विद्यालय व्यवस्थापन समितिलाई राजनीतिक प्रभावबाट मुक्त गर्दै शैक्षिक सुधारको साझेदार बनाउनुपर्छ। अभिभावकले आफ्ना बालबालिकाको उपस्थिती, गृहकार्य, पढाइको वातावरण र व्यवहारिक विकासमा नियमित ध्यान दिनुपर्ने वातावरण पनि निर्माण गर्नुपर्छ ।
पारदर्शी अनुगमन र मूल्याङ्कनः स्थानीय तहको अनुगमन विद्यालयका कागजपत्र जाँच्ने औपचारिक प्रक्रियामा सीमित हुनु हुँदैन । अनुगमन टोलीले कक्षा अवलोकन गर्ने, विद्यार्थी र शिक्षकसँग छलफल गर्ने तथा अभिभावकको अनुभव बुझ्ने गर्नुपर्छ। विद्यालय मूल्याङ्कनका लागि विद्यार्थी उपस्थिती, शिक्षक नियमितता, आधारभूत सिकाइ, पाठ्यक्रम कार्यान्वयन, परीक्षाको नतिजा, विद्यालय छाड्ने दर, अभिभावक सहभागिता र बजेट पारदर्शिताजस्ता सूचक निर्धारण गर्न सकिन्छ । अनुगमनको उद्देश्य कमजोरी देखाएर दण्ड दिनु मात्र होइन, विद्यालयलाई सुधारका लागि आवश्यक सहयोग उपलब्ध गराउनु हुनुपर्छ। हरेक विद्यालयले वार्षिक रूपमा आफ्नो उपलब्धि, चुनौती र आगामी सुधार योजना सार्वजनिक गर्नुपर्छ ।
शिक्षा क्षेत्रमा सुशासनः शिक्षा सुधारका लागि राजनीतिक हस्तक्षेप, अपारदर्शी बजेट र भागबन्डाको अन्त्य आवश्यक छ। शिक्षक नियुक्ति, सरुवा, प्रधानाध्यापक छनोट, विद्यालय निर्माण र स्रोत वितरणमा योग्यता, आवश्यकता र पारदर्शितालाई आधार बनाउनुपर्छ । स्थानीय तहको शिक्षा शाखालाई दक्ष जनशक्ति, पर्याप्त बजेट र आवश्यक प्राविधिक क्षमता दिनुपर्छ। शिक्षा शाखा कमजोर भए विद्यालयको अनुगमन, शिक्षक सहयोग र योजना कार्यान्वयन प्रभावकारी हुन सक्दैन। स्थानीय जनप्रतिनिधिले शिक्षा क्षेत्रलाई निर्वाचनमुखी कार्यक्रमभन्दा दीर्घकालीन सार्वजनिक लगानीका रूपमा बुझ्नुपर्छ। शिक्षा सुधारको परिणाम तत्काल नदेखिए पनि यसको प्रभाव पुस्तौँसम्म रहने भएकाले निरन्तरता र स्थिरता आवश्यक हुन्छ ।
विद्यालय तहको शिक्षा सुधारमा स्थानीय तहको भूमिका प्रशासनिक मात्र नभई शैक्षिक नेतृत्वदायी पनि हो। स्थानीय तहले तथ्यमा आधारित शिक्षा योजना, सक्षम शिक्षक, आधुनिक शिक्षणशैली, प्रविधिको अर्थपूर्ण प्रयोग, आधारभूत सिकाइ, समावेशी वातावरण, स्थानीय ज्ञान र पारदर्शी अनुगमनलाई एकीकृत रूपमा अघि बढाउनुपर्छ। विद्यालय सुधारका लागि ठूलो बजेट मात्र पर्याप्त हुँदैन। स्पष्ट दृष्टिकोण, सक्षम नेतृत्व, शिक्षकको पेशागत विकास, अभिभावकको सहभागिता, समुदायको सहयोग र विद्यार्थीको सिकाइप्रतिको प्रतिबद्धता आवश्यक हुन्छ। स्थानीय तहले विद्यालयलाई केवल प्रशासनिक संस्था नभई बालबालिकाको ज्ञान, सीप, चरित्र र भविष्य निर्माण गर्ने केन्द्रका रूपमा विकास गर्न सके विद्यालय तहको शिक्षा गुणस्तरीय, व्यवहारिक, सिर्जनशील र समयानुकूल बन्न सक्छ।
(लेखक जनज्योति क्याम्पस, भिमाद, तनहुँका सहप्राध्यापक हुन् ।)
Email: shivachapgai5@gmail.com
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker