घरबासका लागि कौरा नृत्य सिक्दै पाथर्दीका युवती

  • भञ्ज्याङ समाचारदाता (दमौली)

घरबास र सांस्कृतिक कार्यक्रम पर्यायवाची नै हो । घरबासमा पुग्ने पाहुना सांस्कृतिक कार्यक्रममा रमाउन चाहन्छन् । सोही कुरालाई मध्यनजर गर्दै तनहुँको भीमाद नगरपालिका-९ पाथर्दी सामुदायिक घरबास समितिले स्थानीय युवतीलाई कौरा नृत्य प्रशिक्षण प्रदान गरेको छ । गत वर्षदेखि शुरु भएको पाथर्दी सामुदायिक घरबासमा पर्यटकलाई आकर्षित गर्न समितिले पहिलोपटक यहाँका युवतीलाई कौरा नृत्य प्रशिक्षण दिएको हो । मगर समुदायमा निकै प्रचलित रहेको कौराले पर्यटक आकर्षित गर्न सक्ने भएकाले यहाँका युवतीलाई सहभागी गराइ कौरा नृत्य प्रशिक्षण गराइएको पाथर्दी सामुदायिक घरबास समितिका अध्यक्ष शिवकुमार आलेले जानकारी दिनुभयो ।

“घरबासमा आउने पर्यटकलाई स्वागत गर्न र नयाँपन दिन कौरा नृत्य देखाउन युवतीलाई यसबारेमा प्रशिक्षण दिएका छौं”, उहाँले भन्नुभयो । सामुदायिक घरबास समितिको सांस्कृतिक विभागले २० जना युवतीलाई सहभागी गराइ नृत्य सिकाएको छ । “पर्यटन र कृषिलाई सँगसँगै अगाडि बढाउने उद्देश्यले घरबास सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो, “यसमा सांस्कृतिक पाटो पनि जोडिन्छ ।”

मौलिक कला र संस्कृति जगेर्ना गर्दै थालिएको कौरा नृत्य प्रशिक्षणले पर्यटकलाई आकर्षित गर्नुका साथै संस्कृति संरक्षणमा पनि टेवा पुग्ने सोही वडाका अध्यक्ष इमानबहादुर थापाले बताउनुभयो । नृत्य निर्देशक सर्जन थापा मगरले युवतीलाई कौरा नृत्य प्रशिक्षण दिनुभएको छ ।

समितिका अध्यक्ष आलेका अनुसार यहाँका १० घरमा घरबास सञ्चालन गरिएको छ। यहाँ आउने पर्यटकलाई अर्गानिक खानेकुरा दिइन्छ । बोयर जातको बोकाको स्रोत केन्द्रका रुपमा परिचित यस गाउँमा प्रत्येक घरधुरीले व्यावसायिकरुपमा बाख्रापालन समेत गरिरहेका छन् । अध्यक्ष आलेका अनुसार पर्यटकलाई भट्ट, कोदोको रोटी, ढिँडो, लोकल कुखुरा, निउरो लगायतका खानेकुरा दिइन्छ ।

“गत वर्षेखि घरबास सञ्चालन गरिएको भए पनि केही व्यवस्थापनका काम अझै गर्न बाँकी छ”, आलेले भन्नुभयो, “तयारी हुँदै गर्दा कोरोनाले प्रभावित भयो ।” उहाँका अनुसार अहिले घरबास खुला नगरिएको र केही समयभित्रै सबै व्यवस्थापन सकाएर घरबास शुरुआत गरिनेछ । यहाँ आउने पर्यटकलाई सोही वडामा रहेको सिद्ध गुफा, चुलिडाँडा, इलुङ झरना लगायतको पनि भ्रमण गराइनेछ । पाथर्दी गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री नमूना वातावरणमैत्री कृषि गाउँसमेत हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker