ढुङ्गामा कला भर्दै गोविन्द बोटे

रासस/मध्यविन्दु

इँटाको सानो तीन कोठे घर । घर वरिपरि ढङ्गाको चाङ । खस्रा ढुङ्गालाई कुँदेर आकृति बनाउने काम चुनौतीपूर्ण छ । तर नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका-१३ का गोविन्द बोटे ढुङ्गामा आफ्नो कला भर्न लागिपर्नुभएको छ । सानै उमेरदेखि चित्रकला र हस्तकलामा होमिनुभएका बोटे विगत १६ वर्षदेखि व्यावसायिक रूपमा मूर्ति बनाउन थाल्नुभएको हो ।

बोटे टोलमा बस्दै आउनुभएका उहाँ पछिल्लो समय विभिन्न आकृतिका ढुङ्गाका मूर्ति बनाउन व्यस्त हुनुहुन्छ । त्रिचालीस वर्षीय गोविन्दले विभिन्न देवीदेवताका मूर्ति बनाउने गर्नुभएको छ । खोलाका ढुङ्गा ल्याएर आकर्षक मूर्ति कुद्नु उहाँको दैनिकी बनेको छ ।

“तीन दिनमा एउटा मूर्ति तयार पार्छु, आफ्नै हातले ढुङ्गालाई सुन्दर आकृति बनाउँदा निकै खुसी लाग्छ”, बोटेले भन्नुभयो, “यो कलाले आफू मरेर गए पनि युगैयुगसम्म जीवन्त रहने हुँदा आफूले गरेको पेसाप्रति सन्तुष्ट छु ।”

बोटेलाई परिवारको पनि उत्तिकै साथ सहयोग रहेको छ । बोटे समुदायका उहाँलाई बुबाले खोलामा माछा मारेर जीविकोपार्जन गर्दै हुर्काएको अझै याद छ । बुबाले खोलामा गएर माछा मार्ने काम गोविन्दलाई कति पनि मन परेको थिएन । सानैदेखि चित्र कोर्न मन पराउने उहाँ ढुङ्गाको मूर्ति बनाउन थालेपछि यो नै अहिले व्यावसायिक पेसा बनेको छ ।

“अहिलेसम्म पाँच सयभन्दा बढी देवीदेवताको मूर्ति बनाइसकेको छु”, बोटेले भन्नुभयो, “१५ वटाभन्दा धेरै सालिक बनाएर बिक्री गरिसकेको छु ।” ढुङ्गामा आकृति कुद्ने काम चुनौतीपूर्ण रहेको गोविन्दको भनाइ छ । एकाग्र भएर छिनो र ढुङ्गासँग खोल्नुपर्ने हुँदा कहिलेकाहीँ आँखा र टाउको दुखे पनि यही काममा आनन्द मिलेको उहाँले बताउनुभयो ।

“सालिक बनाउन २० दिनसम्म लाग्छ, एउटा सालिक बनाएको रु ४५ हजारसम्म लिने गरेको छु”, उहाँले भन्नुभयो । हिजोआज गोविन्दलाई ढुङ्गा कुद्न २१ वर्षीय छोरा कमलले पनि साथ दिन थालेका छन् । उमेरले भर्खर युवावस्थामा लागेका कमलको सोख पनि बुबाको जस्तै मूर्तिकार बन्ने छ ।

कक्षा १० सम्म पढेका कमल केही समय भारत गएर काम पनि गरिसकेका छन् । त्यहाँको रहनसहन नमिलेपछि उनी पुनः घर फर्किए । अहिले बुबासँगै उनी पनि मूर्ति बनाउन सिकिरहेका छन् । पछिल्लो समय लोपोन्मुख हुँदै गएको ढुङ्गाको मूर्तिलाई संरक्षण गर्न पनि आफूले बुबासँग मूर्ति बनाउन सिकिरहेको कमल बताउँछन् ।

“सुरुमा योभन्दा अरुनै केही रोजगारी गरौँ भन्ने थियो तर अन्तभन्दा यही मूर्ति बनाउनु नै ठीक लागेर बुबासँग काम गरिरहेको छु”, उहाँले भन्नुभयो, “ढुङ्गामा मूर्ति कुद्ने काम लोप भइसकेको छ यसको संरक्षण गर्नका लागि पनि मेहनत गरेको हुँ ।” बाबु छोरा गोविन्द र कमलले मूरि्तबनाउने पेसालाई थप व्यवस्थित बनाउन चाहेका छन् । यतिका वर्षबाट ढुङ्गाको मूर्ति बनाउने पेसामा आबद्ध रहेका बोटे परिवारलाई आजसम्म कुनै निकायको सहयोग नगरेको गुनासो गरेका छन् ।

“स्थानीय सरकारले ढुङ्गा कुँद्न आवश्यक पर्ने औजार सहयोग गरे राहत मिल्ने थियो”, गोविन्दले भन्नुभयो, “यो सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि कुनै निकायले पहल गरे हुने हो ।” सबैले यो मेहनत र पेसालाई बुझिदिए यो कला बचाउन सकिने उहाँको विश्वास छ। अहिलेका युवा यो ढुङ्गाको काम गर्ने इच्छा नदेखाउँदा यो पेसा नै मर्ने हो कि भन्ने चिन्ता गोविन्दमा देखिन्छ ।

“यसमा मेहनत र लगनशीलता चाहिन्छ, यो सिकाएरभन्दा पनि आफ्नै मनदेखि आउनुपर्छ”, उहाँले भन्नुभयो, “ढुङ्गाको मूर्ति बनाउने कलालाई अहिलेका युवालाई पुस्तान्तरण गरी संरक्षण गर्नुपर्ने आवश्यकता छ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker