हप्तादिन नाघ्यो बेपत्ता कम्लेसको अवस्था पत्ता लागेन, थप एकसहित ६ जना पक्राउ, दुई युवती पनि अनुसन्धानको घेरामा

दमौली : तनहुँको व्यास नगरपालिका–१३ बेलबासका कम्लेस चन्द ठकुरी रहस्यमय रूपमा बेपत्ता भएको एक हप्ता नाघेको छ । बेपत्ता भएको हप्तादिन नाघेपनि हालसम्म उनको अवस्थाका विषयमा केही खुल्न सकेको छैन् ।

कम्लेस बेपत्ता घटनामा संलग्न रहेको आरोपमा तनहुँ प्रहरीले छ जनालाई पक्राउ गरी खोजी तथा अनुसन्धान अगाडि बढाएको छ भने दुई जना युवतीलाई समेत अनुसन्धानको घेरामा राखेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार २६ वर्षीय चन्द गत साउन ७ गते राती ऋषिङ्ग गाउँपालिका–१ झापुटारबाट एक्कासि सम्पर्कविहीन बनेका थिए । घटना सार्वजनिक भएपछि परिवारले संलग्न हुन सक्ने आशंकामा केही युवाहरूविरुद्ध बेपत्ता सम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले प्रहरीको प्रारम्भिक अनुसन्धानबाट संलग्नताको आशंकामा ६ जना युवालाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार थप अनुसन्धानका लागि दुई युवतीलाई पनि अनुसन्धानको घेरामा राखिएको छ ।

“हामीले घटनाको प्राविधिक पक्षलाई समेत ध्यानमा राखेर अनुसन्धान गरिरहेका छौं”, प्रनाउ थापाले भने, “घटनास्थलमा भएका गतिविधिहरूको विस्तृत अध्ययन भइरहेको छ ।”

यसैबीच, घटनाको प्रकृति झनै रहस्यमय बन्दै गएको छ । प्रदेश प्रहरी कार्यालय पोखराबाट एक प्रहरी निरीक्षकको नेतृत्वमा प्राविधिक टोली घटनास्थलमा परिचालित भएको छ । खोजीका लागि स्थानीय, प्रहरी र आफन्तहरूले संयुक्त प्रयास जारी राखे पनि हालसम्म कम्लेसको अत्तोपत्तो लाग्न सकेको छैन ।

बेपत्ता कम्लेसका बुवा दिलबहादुर चन्दले दोषीलाई कडा कारबाहीको माग गरेका छन् । “मेरो छोरालाई केही युवाहरूले लखेटेका रहेछन्, कसैले ढुंगा हानेको त कसैले धारिलो हतियार प्रहार गरेको भन्ने सुनिएको छ”, उनले भने, “प्रहरी कार्यालयमा न्याय माग्न आएका छौँ, छोराको कि लास कि सास चाहिन्छ ।”

प्रनाउ थापाका अनुसार हाल संलग्नको आशंकामा युवाहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर विस्तृत अनुसन्धान भइरहेको छ । उनले भने, “सबै कोणबाट अनुसन्धान भइरहेको छ, सत्य तथ्य चाँडैन बाहिर ल्याइनेछ ।”

यस घटनाले स्थानीयस्तरमा त्रास उत्पन्न गराएको छ भने प्रहरीमाथि निष्पक्ष र प्रभावकारी अनुसन्धानको अपेक्षा बढेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker