किसान नेता एकदेव आलेको ५२औं स्मृति दिवस

- भञ्ज्याङ समाचारदाता (दमौली)
एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानले क्रान्तिकारी किसान नेता एकदेव आलेको ५२औँ स्मृति दिवस सोमबार दमौलीमा मनाइएको छ । प्रतिष्ठानका संरक्षक एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका अध्यक्ष शंकर बराल, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य बलराम सुवेदी, नेकपा गण्डकी प्रदेश कमिटीका सदस्य अतिन्द्रकेशरी न्यौपाने, प्रतिष्ठानका निर्वतमान अध्यक्ष श्रीराम कार्की, जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार कृष्ण घिमिरे लगायतले किसान नेता आलेको योगदानको चर्चा गरेका थिए ।
वक्ताहरुले एकदेव आलेको सपना पूरा गर्न कम्युनिष्ट एकजुट हुनुपर्ने बताउँदै अहिले सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी विभाजन हुने चरणमा पुगेपछि एकदेव आलेसँगै जनताको सपना पनि तुहिएको जिकिर गरे ।
स्मृति दिविसका अवसरमा व्यास नगरपालिका-३ स्थित दुर्गा मन्दिर नजिक रहेको एकदेव आलेको स्मारकमा माल्यार्पण गरिएको थियो । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, नेकपा केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ लगायतले स्वर्गीय आलेको शालिकमा माल्यार्पण गरेका थिए ।
क्रान्तिकारी किसान नेता आलेको जन्म विसं १९८० मा व्यास नगरपालिका-५ मानुङमा पिता पहलमान आले र आमा बोइमायाको आलेको कोखबाट भएको थियो । गरिब परिवारमा जन्मिएका आले बाल्यकाल मै भारतका विभिन्न शहरमा मजदुरी गर्न गएको बताइन्छ । त्यही क्रममा आले ब्रिटिस सेनामा भर्ना भएका थिए । आलेले तत्कालिन ब्रिटिस सेनामा भर्ना भई दोस्रो विश्वयुद्धमा भाग लिएका थिए ।
दोस्रो विश्वयुद्धको क्रममा ब्रिटिस सेनाको पक्षमा लडेका आलेपछि भारतको स्वतन्त्रता संग्राममा सुभाषचन्द्र बोसको आजाद हिन्द फौजमा सामेल भई भारतको स्वतन्त्रताको आन्दोलनमा सक्रिय भएका थिए । मुक्ति सेनाको कमाण्डर रहेका आलेको नेतृत्वमा तनहुँको तत्कालीन सदरमुकाम बन्दिपुर वीरगञ्ज र भैरहवा कब्जा भएको थियो ।
वि.सं. २००८ मा डा. के आइ सिंको नेतृत्वमा सिंह दरबार कब्जा गर्ने टोलीको सदस्य समेत आले बनेका थिए । वि.सं. २००७ मा राणा शासन अन्त्य गर्ने क्रममा भारत, कांग्रेस र राणाबीच भएको त्रिपक्षीय सम्झौता (जसलाई दिल्ली सम्झौता समेत भनिन्छ), लाई धोका हो भन्दै पुष्पलाल श्रेष्ठले कम्युनिष्ट पार्टी गठन गरेपछि एकदेव आले कम्युनिष्ट बनेका थिए ।










