विकासमा कम्युनिष्टले जस लिए : नेता पौडेल

- भञ्ज्याङ समाचारदाता (दमौली)
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले गरेको विकासमा कम्युनिष्टले जस लिएको आरोप लगाएका छन् । पाँच दिन कार्यक्रम बोकेर गृहजिल्ला आएका पौडेलले बुधबार ऋषिङ गाउँपालिकाको वडा नं. ४ र ६ जोड्ने ढाक्रे खोलामाथि निर्मित पुलको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् । गाउँगाउँमा गएका विकास र बाटाघाटा कांग्रेसले बनाएको हो । हामीले बनाएका बाटाघाटालाई नाम दिएर कम्युनिष्टले नक्कली प्रचार गरेको उनले आरोप लगाए ।
‘उद्यमशीलता विकासका लागि राज्यको सेवा र टेवासहित घरघरमा रोजगारीको व्यवस्था हुनुपर्छ’, नेता पौडेलले भने, गाउँमा रोजगारीको व्यवस्था नहुँदा युवा शक्ति पलायन हुनुपरेको छ । युवा शक्ति रोक्न गाउँमै रोजगारीको सिर्जना गर्नेतर्फ सरकार गम्भीर हुनुपर्दछ ।’
गाउँमा बाटो, बिजुली, शिक्षा, स्वास्थ्य पुर्याएर गाउँबाट भागेको मनलाई गाउँमै फर्काउनुपर्ने बताउँदै उनले भने, ‘संसद् पुनःस्थापनाको एकमात्र आशा अदालतमा रहेकाले अदालतले संविधानबमोजिम नै फैसला सुनाउने छ ।’
कार्यक्रममा राष्ट्रिय सभा सदस्य प्रकास पन्त, गण्डकी प्रदेसका प्रदेश सभा सदस्य डोवाटे विक र सरिता गुरुङ, संविधान सभा सदस्यद्वय रामचन्द्र पोखरेल र झुलबहादुर आले, जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्ले, कांग्रेस कार्यवाहक सभापति जितप्रकाश आले लगायतका नेताहरुले जनताको सारथी कांग्रेस भएको बताएका थिए ।
यस्तै, कार्यक्रममा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकाको दुइ विकट क्षेत्रलाई जोड्नका लागि आफ्नै पूर्ण बजेटमा पुल बनाएको बताए । तीन करोड ६० लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको र पुलले दुइ वडाका बासिन्दालाई आवत जावतमा सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले बताए ।










