भानुको चन्द्रावती-पोखरीछाप सडक : निर्माण सक्नुपर्ने तीनदिन बाँकी रहदा जम्मा १२% काम

नारायण खड्का/दमौली

तनहुँको भानु नगरपालिकाको भानु मोटर मार्ग अन्तरगत चन्द्रावती-पोखरीछाप ठूलोढुङ्ग खण्डको कालोपत्रे गर्ने काम अलपत्र बनेको छ। निर्माणपक्षले सडक कालोपत्रे, नाला निर्माण लगायतका पूर्वाधार तयार गर्न जिम्मा लिएको समय सकिन तीन दिन बाँकी रहदा जम्मा १२ प्रतिशत मात्र भौतिक प्रगति देखिएको छ । २०७८ माघ १५ गतेभित्र उक्त सडक खण्डको १० किलोमिटर सडक कालोपत्रे, नाला निर्माण तथा ग्याबिङ्ग जाली भर्ने लगायतका कार्य निर्माण सम्पन्न गर्ने गरी २०७६ कात्तिक ४ गते शंकरमाली कन्ट्रक्सन काठमाडौंले सम्झौता गरेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयका इन्जिनियर धनमाया मिश्रका अनुसार निर्माण कम्पनीले उक्त सडक खण्ड निर्माणका लागि २३ करोड २ लाख ८० हजार रुपैयाँमा सम्झौता गरेको भएपनि हालसम्म भौतिक प्रगति १२ प्रतिशत मात्र देखिएको छ । यस्तै, निर्माण पक्षले ६ करोड ९१ लाख ८५ हजार रुपैयाँ निकासा लिएको कार्यालयले जनाएको छ ।

इन्जिनियर मिश्रले भनिन्, ‘सडकको भौतिक प्रगति १२ प्रतिशत देखिएको छ भने ३० प्रतिशत वित्तीय प्रगति छ । निर्माण सक्नुपर्ने समयसम्म काम सम्पन्न नभएकाले आगामि असार मसान्तसम्म म्याद थप्ने प्रक्रिया अगाडि बढाइएको छ ।’

प्रदेश सरकार अन्तरगत रहेको उक्त सडकका लागि यस आर्थिक वर्ष ३ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन भएपनि निर्माण पक्षको लापरवाहीका कारण हालसम्म सडक निर्माण कार्यले गतिलिन नसकेको पूर्वाधार विकास कार्यालय तनहुँले बताउँने गरेको छ ।

यता सडक निर्माणको जिम्मा लिएको शंकरमाली कन्ट्रक्सनले भने आफुले कामको सम्झौता लिए लगत्तै कोभिड-१९ संक्रमण फैलिपछि मुलुक लकडाउनको अवस्थामा पुगेको र आवश्यक मजदुर समेत पाउन नसक्दा काम अगाडि बढाउन नसकेको बताउँदै आएको छ ।

उक्त सडक खण्ड कालोपत्रे लगायतका कार्य गर्न शंकरमालीले अहिले दोश्रो निर्माण व्यवसायीलाई जिम्मा दिएको छ । सडक निर्माणको काम निर्माण व्यवसायी संगम खड्कालाई जिम्मा दिएको भानु नगरपालिका वडा नं. १३ का वडाध्यक्ष रामबहादुर बानियाँले बताए । उनले भने, ‘बाटो निर्माणका विषयमा बुधबार मात्र छलफल भएको छ । यस अगाडि जे जस्तो भएर काममा ढिलाइ भएपनि अब तत्काल निर्माणकार्यलाई अगाडि बढाउने सहमति भएको छ ।’

‘सडक निर्माण गर्न सम्झौता गर्ने निर्माण व्यवसायीले अहिले दोश्रो निर्माण व्यवसायीलाई जिम्मा दिएको छ’, वडाध्यक्ष बानियाँले भने, ‘अहिलेसम्मा सडकको केही ठाउँमा ग्याविङ्ग जाली भर्ने काम भएको देखिएको छ । अन्य काम भने सून्य अवस्थामै भएको हुँदा स्थानीय स्तरबाट सडक निर्माण कार्यलाई कुनै पनि अवरोध सृजना नगर्ने र यस अगाडिको निर्माण कम्पनिसंग भएको लेनदेनका विषयमा सम्बन्धित पक्षसंगै मागदाबी गर्ने सहमति भएको छ ।’

२०४९ सालमा चन्द्रावतीबाट पोखरीछापसम्म सडक विस्तार गरी यातायातका साधन सञ्चालन हुँदै आएको छ । सडक सञ्चालनमा आइएपछि हालसम्म यो सडकको स्तरोन्नती नहुँदा स्थानीयले सास्ति झेल्दै आएका छन् । वर्षामा हिलो र हिउँदमा धुलोको नियती झेल्दै आएको यो सडक खण्डमा सानो पानी पर्दा समेत सवारी साधान सञ्चालन नहुने अवस्थामा पुगेको छ ।

भानु मार्ग हुँदै गण्डकी प्रदेशकै नमुना समुदायीक होमस्टेका रुपमा विकास भएको टुटेपानी सामुदायिक होमस्टे जाने गरिन्छ । सडकको स्तरोन्नती नहुँदा यस होमस्टेमा सहजै पाहुना पुग्न नसक्ने अवस्था भएकाले हामस्टे सञ्चालकहरुले छिटो सडक निर्माण गरिदिन हारगुहार गर्दै आएपनि अहिलेसम्म कुनै सुनवाइ हुन सकेको छैन । यसै मार्ग हुँदा जिल्लाकै दोश्रो अग्लो पहाड मिर्लुङकोट, शहीदहरुको गाउँका रुपमा परिचित पुलिमराङ लगायतका ऐतिहासिक, धार्मिक, प्राकृतिक, साँस्कृतिक सम्पदाहरुको अध्ययन अवलोकन गर्न जाने बाटोको अवस्था नाजुक बन्दै गएको छ ।

त्यस्तै, अधुरो सडक खण्डको निर्माणको जिम्मा आफुले लिएको निर्माण व्यवसायी संगम खड्काले बताएका छन् । उनले भने, ‘सडक खण्ड कालोपत्रे, नाला निर्माण लगायतको काम गर्न सम्झौता गरेको शंकरमाली कन्ट्रक्शनले कोभिड-१९ लगायतका समस्याका कारण समयमै काम अगाडि बढाउन नसकेको बताएकाले अहिले सुरुवाती चरणबाटै निर्माणको काम गर्ने प्रक्रियामा अगाडि बढेको छु।’

‘सडक कालोपत्रे गर्ने कामको जिम्मा तीब्र गतिमा अगाडि बढाउने तयारीमा छु’, उनले भने, ‘यस अगाडिका निर्माण कम्पनीसंग भएको कारोवारको हिसावकिताब उहाँहरु आफैले मिलाउने गरी वडाअध्यक्ष सहितको रोहवरमा सहमति भएको छ । सडक निर्माण कार्यमा स्थानीयबाट कुनैपनि बाधा अवरोध नगर्ने गरी सहमति भएकाले अबका केही दिनमै कामलाई तीब्रता दिने तयारीमा छु ।’

यस्तै, सडक कालोपत्रे लगायतका काममा आफ्ना सवारी साधान तथा आवश्यक सामाग्रि खरिद गरेको रकम शंकरमाली कन्ट्रक्शनले भुक्तानी नदिएको भन्दै विभिन्न व्यक्तिहरुले जिल्ला प्रशासन कार्यालयमा ‘रकम उपलब्ध गराइदिन’ भन्दै निवेदन दर्ता गराएका छन् । सडक खन्नका लागि प्रयोग भएको जेसिभी, ट्याक्टर, विभिन्न पसलहरुबाट सामाग्रि खरिद गरी ठेकेदारले रकम भक्तानी नगरेको भन्दै २०७८ असोज २२ गते १५ जना व्यक्तिले ८२ लाख २६ हजार रुपैयाँ पाउनुपर्ने रकम सहितका निवेदन प्रशासनमा दर्ता गराएका छन् ।

जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय, भानु नगरपालिका, भानु-१३ वडा कार्यालयलाई समेत बोधार्थ दिई कुवेर खनाल, विष्णुलाल श्रेष्ठ, कुमार थापा, सुमन खनालले निवेदन दर्ता गराएका हुन । दर्ता गराइएको निवेदनमा कुवेर खनालले ३० लाख रुपैयाँ, सुमन खनालले १५ लाख रुपैयाँ, विष्णुलाल श्रेष्ठले १४ लाख रुपैयाँ, कुमार थापाले ८ लाख रुपैयाँ भुक्तानी पाउनुपर्ने दाबी गरेका छन् ।

त्यस्तै, निवेदनमा हविजुल्ला मियाँले २ लाख ८० हजार, प्रेम बहादुर अधिकारीले १ लाख ३० हजार रुपैयाँ, अनुप अधिकारी (चालक)ले १ लाख १५ हजार रुपैयाँ, तविउन निशा मियाँले ५५ हजार, कमला पराजुलीले ८५ हजार, सुष्मा अधिकारीले ३५ हजार, लक्ष्मी श्रीराज भण्डारीले ६ हजार, रमेश थापाले ७ हजार ५ सय, दिनेश परियार (चालक)ले ४० हजार, देवेन्द्र मास्केले १२ हजार ५ सय र राम बहादुर पाण्डेले ७६ हजार रुपैयाँ ठेकेदारबाट भुक्तानी पाउनेपर्ने दाबी गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker