कृषि उपजमा लागत घटाउन यान्त्रिकीकरणमा जोड

कृष्ण न्यौपाने

लागत घटाउँदै उत्पादन बढाउन तनहुँका सरोकारवाला निकायले कृषि यान्त्रिकरणमा जोड दिएका छन् । परम्परागत रुपमा गरिँदै आएको कृषि व्यवसायमा लागत घटाउन कृषि ज्ञान केन्द्र, स्थानीय तहले कृषि यान्त्रिकरणमा जोड दिएका हुन् ।

सोही बमोजिम ज्ञान केन्द्र तनहुँले जिल्लाका कृषकलाई अनुदानमा उपकरण वितरण गरेको छ । केन्द्रले आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकका कृषकलाई ९० प्रतिशत अनुदानमा उपकरण वितरण गरेको हो ।

मकै, भटमास तथा चैते धान कार्यक्रममार्फत मार्कीचोकका कृषकलाई रु आठ लाख सात हजार ५०० बराबरको कृषि उपकरणहरु हस्तान्तरण गरिएको केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । त्यसमध्ये ९० प्रतिशतबापतको रु सात लाख २० हजार ४५० ज्ञान केन्द्रले अनुदान दिएको छ भने १० प्रतिशतबापतको रु ८० हजार ७५० कृषकले बेहोर्नुपर्नेछ । केन्द्रले मार्कीचोकस्थित पारिजात ताजा तरकारी उत्पादन समूहलाई मकै छोडाउने मेसिन, मकै बीउ, विभिन्न प्रकारका विषादीलगायत वितरण गरेको छ ।

ज्ञान केन्द्रले ३५० रोपनीमा लगाउन ४३७ केजी मकै बीउ (सिपी जात), एक सय रोपनी लगाउनका लागि एक सय २५ केजी मकै बीउ (उन्नत जात), आठ मकै छोडाउने मेसिन, पाँच मकै बीउ रोप्ने मेसिन, दुई वटा धार गोड्ने मेसिन र १० थान स्प्रेयर लगायतका सामग्री वितरण गरेको छ ।

तिवारीका अनुसार पछिल्लो समय मकै, भटमास खेती गर्ने कृषकको सङ्ख्या घट्दै गएकाले अनुदान दिएर यसखेतीतर्फ कृषकको आकर्षण बढाउन खोजिएको छ । उहाँका अनुसार जिल्लाका हरेक पालिकामा तीन वटा ब्लक बनाएर कार्यक्रम सञ्चालन गरिएको छ ।

मार्कीचोकका कृषक सोलबहादुर चितौरेले कृषि उपकरणमार्फत् कृषि खेती गर्दा समयको बचतसँगै लागत घटाउन सहयोग पुग्ने बताउनुभयो । “परम्परागत रुपमा गरिने कृषिखेतीले निर्वाह गर्न मात्रै पुग्छ, कृषिमा यान्त्रिकरण अहिलेको आवश्यकता भइसकेको छ,” चितौरेले भन्नुभयो । गोरु पाल्ने चलन घट्नु र युवाहरु विदेशिने कारणले खेतबारी बाँझो हुने क्रम बढ्दो छ । गाउँघरमा रहेका जग्गालाई बाँझो हुन नदिन र कृषितर्फ आकर्षित गराउन व्यास नगरपालिकाले कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले पचास प्रतिशत अनुदानमा १४ वटा हाते ट्याक्टर वितरण गरिएको कृषि शाखा प्रमुख विश्वराज वाग्लेले जानकारी दिनुभयो ।

किसानको माग अनुसार प्रत्येक वर्ष हाते ट्याक्टर अनुदानमा वितरण हुँदै आएको छ । “यस वर्ष २० जनाले हाते ट्याक्टर माग गर्नुभएको थियो । अहिलेलाई १४ वटा ट्याक्टर वितरण गरेका छौँ”, वाग्लेले भन्नुभयो । आधुनिक र व्यावसायिक खेती प्रणालीमा अग्रसर गराउन किसानलाई आवश्यक औजार, तालीम लगायतको सहयोग नगरपालिकाबाट हुँदै आएको छ ।

व्यास नगरपालिका–५ का बलबहादुर श्रेष्ठले भनेको समयमा गोरु नपाइएकाले हाते ट्याक्टर अनुदानमा लिएको बताउनुभयो । “आवश्यक परेको बेला हलगोरु पाइँदैन, हाते ट्याक्टरले जोत्न पनि सजिलो छ”, उहाँले भन्नुभयो ।

घिरिङ गाउँपालिकाले पनि कृषकलाई विभिन्न कृषि उपकरण वितरण गरेको छ । गाउँपालिकाले पचास प्रतिशत अनुदानमा हाते ट्याक्टर, थ्रेसर मेसिन र बेसार पिस्ने मेसिन कृषकलाई हस्तान्तरण गरेको हो । ३२ कृषकलाई हाते ट्याक्टर, पाँच कृषकलाई धान झाँट्ने थ्रेसर मेसिन र एक कृषकलाई बेसार पिस्ने मेसिन सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिनुभयो ।

गाउँपालिकाले सूचना प्रकाशित गरी इच्छुक कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजारको लागि निवेदन दिन आह्वान गरेको थियो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker