आँवुखैरेनीमा सडक दुर्घटना न्यूनिकरणका लागि विकल्प खोजिदै

आँवुखैरेनी : तनहुँको आँवुखैरेनीमा दैनिक जसो हुने गरेको सडक दुर्घटना न्यूनिकरणका लागि विकल्प खोजिएको छ। पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी–३ चिसापानीमा दिनहुँजसो दुर्घटना भइरहेकाले उक्त सडकको सरोकारवाला निकायले बुधबार अनुगमन गरी दुर्घटन न्यूनिकरणका लागि विकल्प खोजिएको हो ।
उक्त स्थानमा केही दिनयता दैनिकजसो सवारी साधन दुर्घटना भइरहेकाले सडकको अवस्था र दुर्घटनाका कारण पहिचान गर्ने उद्देश्यले जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको नेतृत्वमा अनुगमन बुधबार सडकको अनुगमन गरिएको थियो ।
सडक दुर्घटना तत्काल र दीर्घकालिन समाधान गर्नका लागि सडक डिभिजन कार्यालयका प्रमुख पशुपति ज्ञवाली, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान लगायतका सरोकारवालाहरुले दुर्घटना न्यूनिकारणका विषयमा छलफल तथा अनुगमन गरेका थिए ।
उक्त ठाउँमा पछिल्लो एक महिनाको अवधिमा १३ वटा सवारी साधन चिप्लिएर दुर्घटनामा परेको बताइएको छ ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानका अनुसार सडक चिप्लने समस्याको समाधान खोजिएको छ । उनले भने, ‘तत्काललाई गति नियन्त्रण गर्न चार स्थानमा स्पीड ब्रेकर राख्ने तयारी गरिएको छ । भदौ दोस्रो सातासम्ममा सडक डिभिजनले चिप्लो खण्डमा कालोपत्रे गरी सडक मर्मत गर्ने सहमति भएको छ ।’










