पीसीआर ल्याव निर्माणका लागि व्यासलाई गण्डकी प्रदेशले ५० लाख दिने
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकामा स्थापना गर्न लागिएको पीसीआर प्रयोगशालाका लागि गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । पीसीआर रिपोर्ट आउन ढिलाई भएपछि नगरपालिकाको सक्रियतामा व्यास-१० दुम्सीमा पीसीआर परीक्षणका लागि प्रयोगशालाका लागि प्रदेश सरकारबाट ५० लाख रुपैयाँ उपलब्ध गराउने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिवद्धता जनाएका छन् ।
व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले मंगलबार ल्याबलाई सघाउनका लागि मुख्यमन्त्री गुरुङ तथा आर्थिक मामिला मन्त्री किरण गुरुङ लगायत मन्त्री र अधिकारीसँग आग्रह गरेका थिए । स्वास्थ्य मन्त्रालयका सचिव विनोद बहादुर कुँवार समेतको उपस्थितिमा मुख्यमन्त्रीको कार्यालयमा भएको छलफलका क्रममा मुख्यमन्त्री गुरुङले उक्त रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए ।
छलफलका क्रममा मुख्यमन्त्रीले प्रदेश सरकारले मात्र ल्याब सञ्चालन गर्ने प्रचलन भए पनि व्यासको ल्याबमा सघाउन तयार रहेको बताएको व्यासका प्रमुख प्रशासकिय अधिकृत सिग्देलले बताए । ‘ल्याब सञ्चालनका लागि केन्द्रीय सरकारबाट समेत २५ लाख रुपैयाँ सहयोग प्राप्त हुने भएको छ’, उनले भने, ‘हाम्रो अनुरोधमा मुख्यमन्त्री र आर्थिक मामिला मन्त्री सकारात्मक हुनुभयो, यो गौरवको विषय हो ।’
व्यास नगरपालिकाले विज्ञप्ति निकालेर ल्याबका लागि केन्दीय सरकार र प्रदेश सरकारलाई आभार प्रकट गरेको छ । आधारभूत स्वास्थ्य केन्द्रको भवनमा छिटो भन्दा छिटो प्रयोगशाला निर्माणको काम अगाडि बढाउने तयारीमा नगरपालिका लागि परेको छ ।










