दमौलीमा ३० जनाले गरे रगत दान

भञ्ज्याङ न्यूज

कोरोना कहर र निषेधाज्ञाका कारण रक्तदानका कार्यक्रम ठप्प छन् । यसअघि नियमितरूपमा रक्तदान हुँदै आए पनि कोरोना कहरले रक्तदानका कार्यक्रम रोकिएका छन्। नियमित रक्तदानले दमौली अस्पतालमा डायलासिस लगायतका बिरामीले सहजरूपमा रगत पाइरहेका थिए । गत वैशाख २२ गतेदेखि निषेधाज्ञा लागू भएपछि यहाँ रगतको अभाव छ । बिरामीले सहजरूपमा रगत पाउन सकेका छैनन् ।

रगतको अभाव र्टार्ने प्रयासस्वरुप लायन्स क्लब अफ तनहुँ र लियो क्लब अफ तनहुँले शनिबार यहाँ रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदानमा ३० जनाले रगतदान गरेको लियो क्लब अफ तनहुँका २०२१-२२ का अध्यक्ष सुनिल मिश्रले जानकारी दिनुभयो । “निषेधाज्ञाका कारण रगतको अभाव छ, रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्नका लागि रक्तदानको आयोजना गर्‍यौँ”, उहाँले भन्नुभयो ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले संकटको घडीमा रगतको अभाव टार्ने प्रयास गरेर क्लबले उदाहरणी कार्य गरेको बताउनुभयो। “सामाजिक संघसंस्थाले समाज सेवाको काम गर्नुपर्छ, आज रगतको अभाव भएका बेला दुइ संस्थाले गरेको कार्यक्रमले समाजमा राम्रो सन्देश प्रवाह गर्छ”, न्यौपानेले भन्नुभयो ।

जिल्ला अस्पताल रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा लायन्स क्लब अफ नेपाल ३२५ बी-१ का पूर्वगभर्नर अशोककुमार श्रेष्ठ, दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले रगतदान पुण्यदान भएको चर्चा गर्नुभयो । रगत अभावमा दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रका मिर्गौलापीडितलाई डायलासिसका लागि समस्या हुँदै आएको छ । नियमितरूपमा डायलासिस गराउँदै आएका मिर्गौलापीडित रगत खोज्न आफै हिँड्नुपर्ने अवस्था आएको छ ।

मिर्गौला केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले निषेधाज्ञाका कारण रक्तदान नहुँदा उपचार केन्द्रमा रगत अभाव भएको जानकारी दिनुभयो । कतिपय मिर्गौलापीडितले पोखरासम्म पुगेर रगत ल्याउने गरेका छन् भने कतिपयले आफन्त वा चिनेजानेका व्यक्तिलाई रक्तदानका लागि ल्याउने गरेका छन् ।

“दमौलीमै भएका आफन्त वा साथीभाइ आएर पनि रक्तदान गरिदिनुहुन्छ, कोही नपाएको खण्डमा भने पोखरा पुगेरै रगत ल्याउनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । केन्द्रमा हाल दैनिक ६३ जनाले डायलासिस गराइरहेका छन्। विसं २०७२ मंसिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलोपटक डायलासिस केन्द्र स्थापना भएको थियो । केन्द्रले हालसम्म करिब २५ हजारभन्दा बढी पटक डायलासिस सेवा प्रदान गरेको छ । केन्द्रमा नौवटा डायलासिस गराउने उपकरण छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker