हामी कविता संग्रह विमोचन : राष्ट्रिय एकता र सहमतिको विकल्प छैन : प्रदेश प्रमुख शेरचन

- भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले देशको विकासका लागि राष्ट्रिय एकता र सहमतिको विकल्प नभएको बताएका छन् । तनहुँको दुलेगौडामा साहित्यकार शेषमणी आचार्यद्वारा लेखिएको ‘हामी’ कविता संग्रहको शनिबार विमोचन गर्दै शेरचनले राष्ट्रिय एकता भए मात्र समृद्धी नेपालको सपना पुरा हुने बताए ।
सो अवसरमा प्रमुख शेरचनले साहित्यकारहरुलाई देशको राष्ट्रियता जोगाउने गरी कलम चलाउन आग्रह गरे । बर्तमान राजनीतिका बारेमा धेरै बोल्न नमिल्ने अवस्था भएको बताउदै शेरचनले साहित्यको माध्यमबाट बर्तमान राजनीतिको अवस्था चित्रण गरेर जनतालाई बुझाउन आग्रह समेत गरेका थिए ।
उनले देशमा रहेका प्राकृतिक स्रोत र साधन प्रशस्त भएपनि सहिसदुपयोग हुन नसक्दा विदेशी आयातित बस्तुहरुमा निर्भर रहनुपर्ने नेपालीका लागि लज्जाको विषय भएको बताए । शुक्ला साहित्य संगमको आयोजनामा भएको विमोचन कार्यक्रममा सर्जक आचार्य सहित यहाँका साहित्यकारहरु टुकादेवि आचार्य, जनार्दन दाहाल लगायतले कविता संग्रह उत्कृष्ट भएको प्रतिकृया दिएका थिए ।
आयोजक संस्थाको नियमित काब्य श्रृंखलाको १७६औँ भाग समेत रहेको उक्त अवसरमा सहभागि भएका गण्डकी प्रदेश भित्रका साहित्यकारहरुले आफ्ना रचनाहरु वाचन गरेका थिए । संगमका अध्यक्ष बेणुप्रसाद खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा खैरेनी माध्यामिक विद्यालयका प्रधानाध्यापक केशवराज घिमिरे, गितल प्रतिष्ठान तनहुँका अध्यक्ष आकाश अधिकारी, गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष सागर उदास, साहित्यकारहरु जीवन सागर, ऋषिराम लम्साल, अनुप लामिछाने, कल्पना गैह्रे सुवेदी लगायतका स्रष्टाले आ-आफ्ना सृजना वाचन गरेका थिए ।










