प्राज्ञिक लेख तथा प्रतिवेदन लेखन कार्यशाला गोष्ठी
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा प्राज्ञिक लेख तथा प्रतिवेदन लेखन कार्यशाला गोष्ठी सुरु गरिएको छ । क्याम्पसको शोध तथा अनुसन्धान समितिले शानिबारबाट दुइ दिने कार्यशाला गोष्ठीको सञ्चालन गरेको हो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रम्हदत्त तिमल्सेनाको अध्यक्षतामा आयोजित गोष्ठीको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले शुभारम्भ गरेका थिए । कार्यक्रममा उपाध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पसको सेवा आयोगका संयोजक एवं व्यास-१ का वडा अध्यक्ष रमेशचन्द्र हड्खले र क्याम्पस प्रमुख महाप्रसाद हड्खले लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
शोध तथा अनुसन्धान समिति संयोजक सागर पौडेलको अध्यक्षतामा आयोजित गोष्ठीको पहिलो दिन त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका एशोसियट प्रोफेसर डा. ध्रुवलाल पाण्डेले प्राज्ञिक लेखनका तत्वहरु, समस्याको कथन, सन्दर्भ सामग्री, विश्लेषण, विधि लगायतका विषयमा सहजीकरण गरेका थिए ।
गोष्ठीमा आँबुखैरेनी क्याम्पस, तनहुँ शारदा क्याम्पस, पुर्कोट कालिका क्याम्पस, बन्दिपुर क्याम्पस, जनज्योति क्याम्पस, पुष्पलता जनएकता क्याम्पस लगायतका क्याम्पसका प्राध्यापकहरुको समेत सहभागिता रहेको थियो । गोष्ठीको दोस्रो दिन काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका प्रा.डा. लक्ष्मण ज्ञावलीले सहजीकरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।










