घिरिङको अत्रौलीमा शित भण्डार भवन
भञ्ज्याङ समाचारदाता/घिरिङ

तनहुँको घिरिङ गाउँपालिकाले अत्रौली शित भण्डार निर्माण कार्य अगाडि बढाएको छ । गाउँपालिकाले वडा नं. १ को अत्रौलीमा अत्रौली शित भण्डारको भवन निर्माण कार्यको शिलान्यास गरेको छ ।

गाउँपालिकाका अध्यक्ष रन बहादुर रानाले भवनको शिलान्यास गर्दै उत्पादित कृषि उपजलाई शित भण्डारमा भण्डारण गरी बजार भाउ राम्रो भएको समयमा बिक्री वितरण गर्न कृषकलाई सहज बनाउने उद्देश्यका साथ आफ्नै लगानिमा शित भण्डार निर्माण कार्य अगाडि बढाएको बताए ।

गाउँपालिकाले कृषि उत्पादन वृद्धि गर्नका लागि उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई जोड दिएको बताउँदै अध्यक्ष रानाले कृषकको उत्पादनलाई बजारिकरणलाई प्राथमिकता दिने बताए । २०८० मंसिर १४ गते भित्र शित भण्डार भवन निर्माण सम्पन्न गर्ने गरी आर.एन.सि.एस. कश्याप जे./भी.ले भ्याट सहित २ करोड १० लाख ८८ हजार २८६ रुपैयाँमा भवन निर्मणको जिम्मा लिएको गाउँपालिकाकी उपाध्यक्ष सरस्वती सिग्देलले बताइन् ।

अत्रौली शित भण्डार शिलान्यास समारोहमा वडाध्यक्ष गंगाराम कुमाल, एमाले नेता विष्णुभक्त सिग्देल लगायतले कृषकको उत्पादनलाई भण्डारण गरी आर्थिक लाभ लिन ठेवा पुग्ने विश्वास व्यक्त गर्दै समयमै भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सबैले पहल गर्नुपर्ने बताए ।










