राजनीतिक विरासत फर्काउने/जोगाउने रुपमा हेरिएको व्यासमा मतगणना जारी, आठ वडाको नतिजा सार्वजनिक
भञ्ज्याङ न्यूज

स्थानीय तह सदस्य निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ । तनहुँको १० वटा पालिका मध्ये अब व्यास नगरपालिकाको मात्र अन्तिम मतपरिणाम आउन बाँकी छ । व्यास नगरपालिका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहपालिका पनि हो । यो पालिकामा कस्ले बाजी मार्छ अहिले सबैको चर्चा र चाँसोको विषय बनेको छ ।
व्यासको मेयर पदका लागि वरिष्ठ नेता पौडेल निकट निवर्तमान मेयर बैकुण्ठ न्यौपाने पुनः उम्मेदवार बनी चुनावी मैदानमा उत्रिएका छन् । कांग्रेसले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेका पूर्व सहमहामन्त्री गोविन्दा राजा जोशीले आफ्नो गुम्न लागेको राजनीतिक विरासत फर्काउन छोरा दिपकलाई मेयर पदको स्वतन्त्र उम्मेदवार बनाएर चुनावी मैदानमा भिडाएका छन् ।
तनहुँ वरिष्ठ नेता पौडेल र पूर्व सहमामन्त्री जोशीको गृह जिल्ला र गृहपालिका व्यास हो । यी दुइ नेताबीच आफ्नो राजनीतिक विरासत जोगाउने र फर्काउने प्रतिस्पर्धा भएको छ । चुनावी मैदानमा नेपाली कांग्रेसका उम्मेदवार न्यौपाने र स्वतन्त्र उम्मेदवार जोशी बीच चुनावी प्रतिस्पर्धा देखिएपनि यसको भित्री पाटो वरिष्ठ नेता पौडेलको राजनीतिक विरासत जोगाउने र पूर्व सहमाहामन्त्री जोशीको गुम्नलागेको राजनीतिक विरासत फर्काउने अस्त्रका रुपमा हेरिएको छ ।
केन्द्रीय राजनीतिमा लामो समयदेखि दबदबा कायम गरेका रामचन्द्र पौडेल, शंकर भण्डारी, प्रदिप पौडेल, गोविन्द भट्टराइ, ध्रुब वाग्ले लगायतका झण्डै एक दर्जन नेताको गृह जिल्ला तनहुँमा कारबाहीमा परेका गोविन्दराज जोशी समक्ष स्थानीय निर्वाचनमा कम्जोर देखिनेत होइनन् ! सबैको चाँसो र चर्चाको विषय बनेको छ ।
विशेषगरी कांग्रेसका वरिष्ठ नेता पौडेल निकट नेतासँग आक्रामक देखिएका जोशीले एमालेसँग तालमेल गरी छोरा दीपकराजलाई ब्यासमा मेयर पदको स्वतन्त्र उम्मेदवार बनाएर उठाएपछि अब आउने व्यासको मत परिणामले को कति शक्तिशाली भन्ने पुष्टि गर्छ होला !
वैशाख ३० गते भएको निर्वाचनमा व्यास-८ को रिस्ती फेदी मतदान केन्द्रमा मेयरका स्वतन्त्र उम्मेदवार माथी आक्रमण भएपछि उक्त मतदान स्थलको निर्वाचन रद्ध भएको थियो ।
वैशाख ३० गते रद्ध भएको निर्वाचन पुनः जेठ ४ गते मतदान गरी त्यो वडा मतपरिणाम पनि सार्वजनिक भइसकेको छ । वडा नं. ८ को सार्वजनिक अन्तिम मतपरिणाम अनुसार वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार युवराज गुरुङ विजयी भएका छन् । गुरुङले ९१४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका विजय दुवाडीले २७२ मत प्राप्त गरेका छन् ।
सदस्यहरुमा कांग्रेसकै रामप्रसाद मिश्र ८२७, थमानसिं गुरुङ ७६८, विष्णुमायाँ राना ९११, सुनिता सुनार १५६० मत प्राप्त गरी निर्वाचित भएका छन् ।
विवादित र चर्चित बनेको यो वडामा मेयर पदका उम्मेदवार बैकुण्ठ न्यौपानेले ७७८, दिपकराज जोशीले ३५० र उपमेयर पदका उम्मेदवार इन्दिरा दरैले ८६६ र वसुन्धरा र्घर्तीले २६९ मत प्राप्त गर्न सफल भएका छन् ।
त्यस्तै, १४ वटा वडा रहेको व्यास नगरपालिकामा हालसम्म आठ वडाको नतिजा सार्वजनिक भएको छ । जेठ ४ गतेदेखि सुरु भएको मतगणना अनुसार आज बिहानसम्म आठ वडाको नतिजा सार्वजनिक गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८ को नतिजा सार्वजनिक गरिसकेको छ । सार्वजनिक मतपरिणाम अनुसार वडा नं. १, २, ३, ६ र ८ मा नेपाली कांग्रेस र वडा नं. ४, ५ र ७ मा नेकपा एमालेका उम्मेदवार अध्यक्षमा निर्वाचित भएका छन् ।
व्यास नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा रमेशचन्द्र हड्खले, खुल्ला सदस्यमा पूर्णबहादुर थापा, मणिजङ बस्नेत, महिला सदस्यमा किस्ना दुरा गुरुङ, दलित महिला सदस्यमा सुनिता सुनार निर्वाचित भएका छन् ।
वडा नम्बर २ को अध्यक्षमा काशीराम श्रेष्ठ, खुल्ला सदस्यमा सुरेश वाग्ले, जगतबहादुर क्षेत्री, महिला सदस्यमा साना रफत मियाँ, दलित महिला सदस्यमा सविता रसाइली निर्वाचित भएका छन् ।
वडा नम्बर ३ को अध्यक्षमा अनुप राना, खुल्ला सदस्यमा शान्तिरमण वाग्ले, दधिराज सुवेदी, महिला सदस्यमा विनु श्रेष्ठ र दलित महिला सदस्यमा श्रीमाया विक निर्वाचित भएका छन् ।
वडा नम्बर ४ को अध्यक्षमा मनबहादुर गुरुङ, खुल्ला सदस्यमा सरोज भण्डारी, कर्णबहादुर गुरुङ, महिला सदस्यमा गौकुमारी न्यौपाने र दलित महिला सदस्यमा राधा विक निर्वाचित भएका छन् ।
वडा नम्बर ५ को अध्यक्षमा विष्णुकुमार श्रेष्ठ निर्वाचित भएका छन् । खुल्ला सदस्यमा खिमबहादुर थापा, सुन्दर वाग्ले, महिला सदस्यमा केशरीमाया थापा र दलित महिला सदस्यमा लक्ष्मी विक निर्वाचित भएका छन् ।
वडा नम्बर ६ को अध्यक्षमा जीवन गुरुङ निर्वाचित भएका छन् । खुल्ला सदस्यमा ढालप्रसाद घिमिरे, सूर्यकान्त काफ्ले, महिला सदस्यमा बालकुमारी श्रेष्ठ र दलित महिला सदस्यमा बुद्धिमाया विक निर्वाचित भएका छन् ।
वडा नम्बर ७ को अध्यक्षमा कृष्णप्रसाद न्यौपाने विजयी भएका छन् । खुल्ला सदस्यमा टिकाबहादुर गुरुङ, सुवास वाग्ले, महिला सदस्मा निला घिमिरे र दलित सदस्यमा सरस्वती विक निर्वाचित भएका छन् ।
व्यास नगरपालिकाको वडा नं. ९, १०, ११, १२, १३ र १४ को मतगणना कार्य चलिरहेको छ ।










