व्यास नगरपालिकाद्वारा चौध ढुङ्गा उद्योगलाई उत्खनन अनुमति

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका भित्रका चौध वटा स्लेट ढुङ्गा उद्योगलाई उत्खनन गर्ने अनुमति दिइएको छ । नगरपालिकाले स्लेट ढुङ्गा उत्खननसम्बन्धी कार्यविधि बमोजिम कानूनीरुपमा ढुङ्गा उद्योगलाई अनुमति दिएको हो । व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले कार्यविधिबमोजिम प्रक्रिया पुगेका १४ वटा उद्योगका सञ्चालकलाई अनुमति प्रमाणपत्र हस्तान्तरण गरेका छन् । उत्खनन अनुुमति हस्तान्तरण कार्यक्रममा नगर प्रमुख न्यौपानेले स्लेट ढुङ्गा उद्योगलाई व्यवस्थापन गर्न कार्यविधिअनुसार व्यवस्थित गर्न लागिएको बताए ।

नगरपालिकाभित्र उद्योगमैत्री वातावरण बनाउनको लागि प्रयास गरिरहेको र उद्योगले वातावरणीय पक्षलाई जोगाउँदै प्राकृतिक स्रोतको व्यवस्थित तरिकाले उत्खनन गर्नुपर्नेमा उनले जोड दिए। जिल्लामा दर्ता भएका १९ मध्ये पहिलो चरणामा १४ उद्योगलाई अनुमति प्रदान गरिएको नगरपालिकाका नगरप्रमुख न्यौपानेले जानकारी दिए ।

नगरपालिकाले आफ्नो पालिकाभित्र सञ्चालनमा रहेका उद्योगले नगरपालिकाबाट अनुमति लिएर मात्रै सञ्चालन गर्न यसअघि नै आग्रह गरेको थियो । व्यास नगरपालिका-१० र ११ मा सञ्चालनमा रहेका उद्योगले दिएको निवेदन अनुसार कानूनी प्रक्रिया पूरा गरेका उद्योगलाई उत्खनन अनुमति प्रदान गरिएको व्यास नगरपालिकाका वरिष्ठ अधिकृत राजेन्द्र कार्कीले जानकारी दिए ।

नगरपालिकाको कार्यविधि अनुसार स्लेट ढुङ्गा उद्योगलाई एक वर्षको लागि अनुमति दिइएको हो । वातावरणलाई जोगाउँदै अस्वस्थ प्रतिस्पर्धा नभई स्वस्थ प्रतिस्पर्धाबाट आफ्नो व्यवसायलाई मर्यादित बनाएर सञ्चालन गर्न प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले आग्रह गरे । नगरपालिकाले कार्यविधि अनुसार करको दायरामा ल्याएर स्लेट तथा ढुङ्गा उद्योगलाई व्यवस्थित गर्नु राम्रो पक्ष भएको तनहुँ स्लेट ढुङ्गा उत्खनन व्यावसायी समितिका अध्यक्ष इश्वर पौडेलले बताए ।

नगरपालिकाले कार्यविधिअनुसार स्लेट ढुङ्गा उद्योग सञ्चालनको लागि कम्तीमा पाँच रोपनी आवश्यक पर्ने र प्रतिरोपनी वाषिर्क रु दुइ हजारका दरले कर बुझाउनुपर्ने व्यवस्था रहेको व्यास नगरपालिकाका शाखा अधिकृत विमल गिरीले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker