जनप्रतिनिधि शासक होइन सेवक बन्नुपर्छ : कांग्रेस नेता पौडेल

कांग्रेस व्यास नगर समितिको विजय उत्सव

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जनप्रतिनिधि शासक नभई जनताको सेवक बन्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस व्यास नगर समितिले सोमबार बिहान दमौलीमा आयोजना गरेको विजय र्‍याली पछिको कोणसभालाई सम्बोधन गर्दै उनले जनताको शिर उच्च राख्दै जनप्रतिनिधिले जनताको सेवा गर्नुपर्ने बताए ।

‘हामीले जनतालाई गाउँमै बसौबसौ बनाउन राजनीति गरेका हौं, त्यो अभियानमा हामी सबै लाग्नुपर्छ’, उनले भने, ‘तनहुँलाई नमुना जिल्ला बनाउँछौं, हाम्रो राजनीति भनेको सम्पूर्ण जनतालाई गाउँमै बसौबसौ बनाउने लक्ष्य हो ।’

उनले राष्ट्रमा राजनीतिक स्थायीत्व, सुशासन ल्याउने विकास अगाडि बढाउन, सामाजिक न्याय कायम गरेर नेपाललाई सफल बनाउने अभियानमा आफु लागेको बताएका छन् । गठबन्धनकै कारण कांग्रेसले धेरै सिट हासिल गरेको दाबी गर्दै वरिष्ठ नेता पौडेलले भने, ‘देशको विकास लागि यो गठबन्धन भएको हो । राष्ट्रियता र प्रजातन्त्रको रक्षार्थ, परिवर्तनका लागि गठबन्धनको आवश्यकाता छ । यो गठबन्धन स्थानीय चुनावमा मात्र नभई आउँदा चुनावमा पनि कायम रहन्छ ।’

यस्तै, कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराइले अब कांग्रेस सकियो, अब पचास वर्षसम्म कांग्रेस उठ्न सक्दैन भन्नेहरु अहिले पाओ पछारिएजस्तै गरी पछारिएको बताए । ‘अहिले कांग्रेस र्सवाधिक ठूलो पार्टीको रुपमा अगाडि आएको छ’, उनले भने, ‘तालमेल नमिल्दा हिजो चाहेका कुनै पनि काम गर्न सकिएन । अब स्थानीय, प्रदेश र संघमा तालमेल गरी विकासको कामलाई जुरुक्क उठाउँछौं । अब विकास कसरी गर्नुपर्छ भन्ने कुरा यो पाँच वर्षमा अन्य दललाई पनि कांग्रेसले सिकाउँछ ।’

तनहुँको व्यास नगरपालिकाको प्रमुख पदमा कडा प्रतिस्पर्धाका बीच नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपाने पुनः दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई २५२ मत अन्तरले पराजित गर्दै न्यौपाने निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह पालिका र कांग्रेसकै पूर्व सहमाहमन्त्री गोविन्दराज जोशीको समेत गृह पालिका रहेको व्यास नगरपालिकाको स्थानीय निर्वाचन विशेष चासो र चर्चाको विषयमा हेरिएको थियो । व्यासको निर्वाचनलाई वरिष्ठ नेता पौडेलको राजनीतिक विरासत जोगाउने र जोशीको गुम्न लागेको राजनीतिक विरासत फर्काउने अस्त्रका रुपमा हेरिएको थियो ।

व्यासको प्रमुखमा निर्वाचित बैकुण्ठ न्यौपानेलाई बधाई दिंदै एमालेबाट उपप्रमुख पदकी उम्मेदवार बसुन्धरा घर्ती । तस्विर : भञ्ज्याङ

व्यास नगरपालिकाको प्रमुखमा पुनः निर्वाचित भएपछि मतदातालाई धन्यवाद व्यक्त गर्दै नवनिर्वाचित नगर प्रमुख बैकुण्ठ न्यौपानले पहिलो कार्यकालमा आफुले सुरु गरेका अधुरा कामलाई पूर्णता दिने र जनताका आवश्यकातालाई पुरा गर्न आफु लागि पर्ने बताएका छन्।

१२ हजार ७८ मत प्राप्त गरी कांग्रेसका उम्मेदवार न्यौपाने निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८२६ मत प्राप्त गरेका छन् । पूर्व सहमाहमन्त्री जोशीका छोरा दीपकराज जोशी नेकपा एमालेसंग तालमेल गरी चुनावी मैदानमा उत्रिएका थिए ।

स्थानीय तह निर्वाचन अन्तर्गत व्यास नगरपालिकाको उपप्रमुख पदमा कांग्रेसका इन्दिरा दरैले १३ हजार चार सय ९८ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का वसुन्धरा घर्तीले १० हजार ४२ मत प्राप्त गरेकी छन् ।

जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामध्ये नेपाली कांग्रेसले पाँच, नेकपा एमालेले चार र नेकपा माओवादी केन्द्रले एक पालिका जितेको छ । तनहुँको ८५ वडामध्ये नेपाली कांग्रेसले ४६, नेकपा (एमाले)ले २८ र नेकपा माओवादी केन्द्रले ७ वडा जितेको छ । स्वतन्त्रबाट चार जना वडाध्यक्षमा र ३४० जना वडा सदस्य गरी ४४५ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker