नेपालका लागि एआई विलासिता होइन, समानता, रूपान्तरण र न्यायको साधन होः सञ्चारमन्त्री गुरुङ

काठमाडौं । चीनको सांघाई वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन २०२५ लाई यही साउन १० गते सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले एआईका उपलब्धिहरूको पहुँचमा समानताको वकालत गरेका छन् ।

मन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘एआईका उपलब्धिहरूमा सबैलाई लाभ दिनु पर्छ। हामी विकासशील राष्ट्रहरूका लागि कम्प्यूटिङको शक्ति, ओपन मोडलहरू र डेटा सेटहरू प्रदान गर्न अन्तर्राष्ट्रिय सहयोगको आग्रह गर्छौँ।’

विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलन २०२५ र विश्वव्यापी एआई शासनसम्बन्धी उक्त उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न मन्त्री पृथ्वीसुब्बा गुरुङले पारदर्शिता, समावेशिता, जबाफदेहिता र एआईको गैर–सैन्यीकरणलाई प्रवर्द्धन गर्ने संयुक्त राष्ट्रसङ्घको नेतृत्वको चार्टरलाई समर्थन गर्ने बताए ।

सम्मेलनमा सम्बोधन गर्दै मन्त्री गुरुङले भने, ‘एआईले हाम्रो अर्को पुस्तालाई सशक्त बनाउनुपर्छ। हामी विश्वव्यापी रूपमा एआई साक्षरता र नैतिक नवप्रवर्तन प्रवर्द्धन गर्न विश्व एआई शिक्षा कोषका लागि आह्वान गर्छौँ।’

सम्बोधनका क्रममा मन्त्री पृथ्वीसुब्बा गुरुङले एआईमा नेपालको दृष्टिकोण, समावेशी तथा मानव–केन्द्रित विकासका लागि एआई रहेको बताए । उनले भने, ‘नेपाल डिजिटल छलाङको सीमामा उभिएको छ। अन्तिम स्वीकृतिको चरणमा रहेको हाम्रो राष्ट्रिय एआई नीतिले हाम्रा राष्ट्रिय प्राथमिकताहरूसँग तारतम्य मिलेको समावेशी र नैतिक एआई इकोसिस्टमको परिकल्पना गरेको छ।’

एआईसम्बन्धी उक्त विश्व सम्मेलनमा मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको एआई लक्ष्यका बारेमा स्पष्ट पार्दै नेपालले रणनीति र अन्तर्राष्ट्रिय सहकार्यका लागि राष्ट्रिय एआई केन्द्र स्थापना गर्ने, अग्रणी विश्वविद्यालयहरूमा एआई उत्कृष्टता केन्द्रहरू र सबै प्रदेशहरूमा नवप्रवर्तन हबहरू सुरु गर्ने, शासन, सार्वजनिक सेवा, विपद् प्रतिक्रिया, कृषि, शिक्षा र स्वास्थ्यमा एआईलाई प्रवर्द्धन गर्ने र विद्यालयदेखि विश्वविद्यालय तहसम्म एआई र डिजिटल साक्षरतालाई अनिवार्य बनाएर हाम्रा युवालाई एआई युगका लागि तयार गर्ने लक्ष्य रहेको बताए ।

मन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘नेपालका लागि एआई विलासिता होइन, बरु समानता, रूपान्तरण र दुर्गम क्षेत्रमा टेलिमेडिसिनदेखि हाम्रो नागरिक एपमार्फत रियल टाइममा नागरिक सेवा दिनेसम्मको न्यायको साधन हो। हामी साझेदारी, डेटा पूर्वाधार र एआई सीपहरू निर्माण गरिरहेका छौँ ताकि परम्परागत विकासका अवरोधहरूलाई नाघेर अगाडी बढ्न सकियोस् र प्रविधिले सबैको सेवा गर्न सुनिश्चित गर्न सकियोस्।’

करिब एक हजारभन्दा बढी अन्तर्राष्ट्रिय विज्ञ तथा नीति निर्माताहरूको उक्त सम्मेलनमा सम्बोधन गर्दै मन्त्री पृथ्वीसुब्बा गुरुङले भने, “एआईको क्रममा मानवता बिना प्रविधि अराजकता होस नैतिकता बिना नवप्रवर्तन जोखिम हो भन्ने हामीले मनन गर्न पर्छ। नेपालले खुला सहकार्य, एआईको जिम्मेवार विकास र नैतिक शासनप्रति आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्‍याउँछ। हामी सबै राष्ट्रहरू-ठुला र सानालाई निष्पक्ष, सुरक्षित र रूपान्तरणकारी एआई भविष्यको निर्माणमा सहभागी हुन आह्वान गर्छौँ।एआईले विशेषाधिकार प्राप्त केहीलाई होइन सम्पूर्ण मानव जातिको उत्थान गरोस् भन्ने सुनिश्चित गर्नु हाम्रो साझा चुनौती हो।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker