तनहुँको आँबुखैरेनीमा नेकपा माओवादीले अध्यक्ष र उपाध्यक्ष जित्यो
भञ्ज्याङ न्यूज

तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी) केन्द्रका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अध्यक्ष पदमा निर्वाचित चुमानले तीन हजार ९४० मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गिरबहादुर थापाले दुई हजार २३० मत प्राप्त गरेका छन् ।
यस्तै, गाउँपालिकाको उपाध्यक्षमा अर्यालले दुई हजार ८४८ मत प्राप्त गरी विजयी भएकी छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी पवित्रा गौलीले दुई हजार १८३ मत प्राप्त गरेकी छन् ।
छ वटा वडा रहेको आँबुखैरेनीमा नेकपा माओवादीले तीन, नेपाली कांग्रेसले दुई र नेकपा (एमाले)ले एक वडा जितेको छ । माओवादीले आँबुखैरेनी वडा नम्बर १, २ र ५ मा विजय हासिल गरेको छ । नेपाली कांग्रेसले वडा नम्बर ३ र ४ मा विजय हासिल गरेको छ भने नेकपा एमालेले वडा नम्बर ६ मा विजय हासिल गरेको छ ।










