नायक पल शाहविरुद्धको अनुसन्धान अन्तिम चरणमा, मुद्दा बुझाउने तयारी

बलात्कारको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार एक–दुई दिनमै पलविरुद्धको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत तनहुँमा बुझाउने तयारी छ । जबरजस्ती करणी (बलात्कार) मुद्दामा बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।

पलविरुद्ध तीनपटक म्याद थपिएको छ । पहिलोपटक सात दिन, दोस्रोपटक १२ दिन र तेस्रोपटक पाँच दिनको म्याद थपिएको छ ।

पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा एक १७ वर्षीया गायिकाले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी थिइन् ।

प्रहरी अनुसन्धानका क्रममा पलमाथिको आरोप प्रमाणित हुने प्रमाण जुटाएको प्रहरीको दाबी छ । प्रहरीले पलले किशोरीसँग गरेको कल रेकर्ड, म्यासेजलाई पनि प्रमाणका रूपमा लिइएको छ । यस्तै, पीडितले उजुरीमा लगाएको आरोपलाई विभिन्न कोणबाट पुष्टि गर्ने काम गरिएको छ । घटनामा नाम जोडिएका अरू व्यक्तिसँग पनि प्रहरीले सोधपुछ गरेको छ ।

यसअघि, पलविरुद्ध गएको बिहीबार नवलपुर जिल्ला अदालतमा बलात्कारको मुद्दा दायर भइसकेको छ । पलले ०७७ चैत ७ गते गैँडाकोटस्थित एक रिसोर्टमा सुटिङका लागि गएको बेला बलात्कार गरेको भन्दै जाहेरी दिइएको थियो । सोही जाहेरीपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

पलले भने गैँडाकोटमा आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन् । उनले आफूमाथि लगाइएको आरोप झुटो भएको दाबी गरेका छन् ।

गैँडाकोटमा रहेको रिसोर्टमा पल १०१ नम्बरको कोठामा बसेको र पीडित किशोरी १०२ नम्बर कोठामा बसेको बताइएको छ । सोही रात पल किशोरीको कोठामा गएर जबरजस्ती करणी गरेको आरोप छ ।

प्रहरी अनुसन्धानका क्रममा सुटिङ युनिट रिसोर्टमा बसेको पुष्टि भइसकेको छ । पीडित किशोरीले राति ११ बजे आफू बसेको कोठामा आएर पलले बलात्कार गरेको बयान दिएको प्रहरी स्रोतले जनाएको छ ।

गैँडाकोटमा पलको बयान भए पनि उनमाथि म्याद थपलगायत प्रक्रिया तनहुँबाट अगाडि बढेको हो । एकै प्रकृतिको घटना भएकाले एकै कार्यालयबाट मात्रै प्रक्रिया अगाडि बढाउन पाइने भएकाले तनहुँबाट म्याद थपलगायत प्रक्रिया गरिएको हो ।

पल प्रकरणमा नेपाली कलाकारका अभिव्यक्ति समेत विवादमा पर्दै आएका छन् । पछिल्लो समय पल प्रकरणमा अनावश्यक भ्रम फैलाउने काम गरेको भन्दै प्रहरी युट्युबरविरुद्ध समेत आक्रमक बनेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker