बुद्धसिंह मार्गलाई पृथ्वीराजमार्गसंग जोड्न घुमाउनेमा पुल निर्माणमा ढिलाइ
भञ्ज्याङ न्यूज
पृथ्वीराजमार्गको विकल्पका रुपमा रहेको बुद्धसिंह मार्ग कालोपत्र गर्ने कार्य अगाडि बढाइएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा तनहुँको दमौलीदेखि चितवनको घुमाउनेसम्म जोडिने बुद्धसिं मार्ग कालोपत्र गर्न लागिएको हो । दमौलीदेखि सुढेसम्मको दश किलोमिटर सडक कालोपत्रका लागि टेन्डर भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।
कार्यालयका अधिकृत दधिराज पौडेलले उक्त सडकखण्डमा कालोपत्रका लागि टेण्डर निकालिएको जानकारी दिए । प्रदेश सरकारले यो मार्गलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले यस वर्ष उक्त सडकका लागि ४६ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । ‘प्रदेश सरकारले यो मार्गलाई प्राथमिकतामा राखेको छ, नीति तथा कार्यक्रममा पनि समावेश भएको छ’, विश्वकर्माले भने, ‘पृथ्वी राजमार्गको विकल्प बन्न सक्ने यो बाटो स्तरोन्नतिमा प्रदेश सरकार प्रतिबद्ध छ ।’
चितवनको घुमाउनेमा पक्की पुल नहुँदा दमौलीबाट गएका सवारी साधन पार गर्न मिल्दैन । ‘घुमाउनेमा पुल निर्माणमा ढिलाइ भएकाले पनि भए वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सकिएको छैन’, उनले भने ।
विसं २०७५ माघमा सम्झौता भएको पुल विसं २०७८ पुस मसान्तसम्म सम्पन्न गर्नुपर्ने समयसीमा थियो । पुलको काम ३० प्रतिशत मात्रै सकिएको छ । हेटौंडास्थित मृत सञ्जीवनी कम्पनीले पुलको डिजाइन परिवर्तन र मुग्लिङ-नारायणगढ सडक आयोजनाको अवरोधका कारण काममा ढिलाइ भएको दाबी गर्दै आएको थियो ।
१०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने उक्त पुल आधुनिक ‘आर्क’ डिजाइनमा बन्नेछ । पुलको लागत रु आठ करोड २६ लाख रहेको छ । उक्त पुल निर्माण सम्पन्न भएपछि गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न जिल्लाका नागरिकलाई चितवनसहित पूर्वी र पश्चिम तराइ जान २५ किलोमिटर छोटो दूरी पर्छ ।
पोखरा-नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराइका विभिन्न जिल्लामा जान समय बचत हुन्छ । उक्त पुल निर्माणपछि घुमाउनेबाट तनहुँ सदरमुकाम दमौली निस्कन अहिले प्रयोग भइरहेको मुग्लिङ, आँबुखैरेनी र डुम्रे हुँदै जाने सडकभन्दा २५ किलोटिमर छोटो पर्न जान्छ ।
तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमित रुपमा साना बसहरू तथा दुइपांग्रे सवारी साधन आउने जाने गरे पनि दुइपांग्रे सवारी साधन भने झोलुङ्गेपुल तरेर मुग्लिङ-नारायणगढ सडकमा निस्कन्छ भने बस तथा अन्य सवारी साधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन् ।
करिब तीन दशक अगाडि यो सडकको ट्रयाक खोलिए पनि बजेट अभावमा काम अगाडि बढ्न सकेको छैन । पोखरा र दमौलीलाई नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गमा पर्ने साराङघाट केही वर्षअघिसम्म सुनसान र उजाड थियो । सडकको ट्रयाक खुलेसँगै यो मार्गमा अहिले व्यापारिक चहलपहलसमेत बढेको छ ।
बुद्धसिं मार्गमा यातायात सञ्चालन सुरु भएपछि सडक क्षेत्रमा पर्ने साना बस्तीहरु अहिले बजार बनेका छन् । यो सडक अन्तर्गत पर्ने सबैभन्दा ठूलो बजार सराङघाट हो । बुद्धसिंह मार्गमा हाल दमौलीबाट दैनिक ६/७ वटा बस र उत्तिकै संख्यामा जीपहरु चल्ने गर्छन् ।
उक्त सवारी साधन आँबुखैरनी गाउँपालिका-६ को घुमाउनेसम्म पुगेर पुनः दमौलीतर्फनै र्फकन्छन् । घुमाउनेमा मोटरेवल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर र्फकन बाध्य छन्। मोटरसाइकल भने डोर्याएर मुग्लिङ-नारायणगढ सडक खण्डसम्म ल्याउन सकिन्छ ।
यस्तै, शुक्रबार बिहान पृथ्वीरजामार्गको आँवुखैरेनी-मुग्लिन खण्डमा सडक भाँसिएर सडक अवरुद्ध हुँदा यो मार्गको आवश्यकता र महत्वका विषयमा पुनः चर्चा चल्न थालेको छ ।










