मल माग्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइयो
भञ्ज्याङ समाचारदाता/दमौली

अखिल नेपाल किसान महासंघ तनहुँले मल माग्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । धान रोपाइ सुरु भइसक्दा पनि मल नपाउँदा कृषकलाई समस्या भएको भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।
मुख्यबाली लगाउने बेलामा रसायनिक मलको चरम अभाव भएकाले कृषि उत्पादन घट्न गई खाद्य सुरक्षामा समेत आँच आउने भएकाले समयमै मल उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाइएको महासंघका जिल्ला अध्यक्ष सोमराज तिमिल्सिनाले बताए ।
रसायनिक मलको आपूर्तिमा भएको चरम अभावको अन्त्य गरी गुणस्तरीय मल समयमै सहज ढङ्गले उपलब्ध गराउन, इन्धनमा भएको मूल्यवृद्धि घटाउन र किसान र कृषिक्षेत्रसँग सम्बन्धित विषयलाई अविलम्ब पूरा गर्न माग गरिएको छ ।
महासंघका गण्डकी प्रदेश संयोजक गोबर्द्धन गौलीले धान रोपाइ सुरु भइसक्दा पनि सरकारले मल दिन नसक्नु किसानका लागि पीडादायी रहेको बताए । राज्यले किसानको माग सुनुवाई नगरे कडा आन्दोलन गर्ने बताउँदै उनले आन्दोलन किसानका लागि रहर नभई बाध्यता भएको बताए ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले ज्ञापनपत्र बुझ्दै सम्बन्धित निकायमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । यसैगरी महासंघले सोमबारै कृषि सामग्री संस्थानमा समेत धर्ना दिएको थियो ।










