आर्थिक वर्ष ०७८/७९ मा चार पक्की पुल निर्माण सम्पन्न

भञ्ज्याङ समाचारदाता/दमौली

पूर्वाधार विकास कार्यालयमार्फत आर्थिक वर्ष ०७८/७९ मा चार पक्की पुल निर्माण सम्पन्न भएका छन् । जिल्लाका विभिन्न ठाउँमा करिब रु १६ करोड बराबरका ती पक्की पुल निर्माण सम्पन्न भएका हुन् ।

विभिन्न मितिमा निर्माण सुरु भएका उक्त पुल आर्थिक वर्ष ०७८/७९ मा निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ । कार्यालयले रिस्तीखोला मोटरेबल पुल सोतीबेँसी, बुडुवाखोला मोटरेबल पुल, फेदीखोला मोटरेबल पुल र रिस्तीखोला मोटरेबल पुल बगुवा निर्माण सम्पन्न गरेको कार्यालयका सूचना अधिकारी धनमाया मिश्रले बताइन् ।

फेदीखोला मोटरेबल पुल रु चार करोड २८ लाख ३२ हजार, बुडुवा खोला पुल रु दुइ करोड नौ लाख, रिस्ती बगुवाखोला पुल रु चार करोड २५ लाख र रिस्ती सोतीबेँसीको पुल रु चार करोड ७१ लाख ३६ हजारको लागतमा सम्पन्न भएको हो ।

फेदी खोलामा २५ मिटर, बुडुवा खोलामा १९ दशमलव आठ मिटर, रिस्ती बगुवा ५२ मिटर र सोतीबेँसीमा ४१ मिटर लामो स्पान टाइपको मोटरेबल पुल निर्माण भएको मिश्रले बताइन् । उक्त आर्थिक वर्षमा सातवटा पुल सम्पन्न गर्ने लक्ष्य राखिए पनि जेठ र असारमा वर्षाका कारण काम गर्न कठिनाइ भएपछि तीनवटा पुल निर्माण सम्पन्न हुन नसकेको उनले बताइन् ।

उनले भनिन्, “सातवटा पुल सम्पन्न हुन्छ भन्ने लक्ष्य थियो, तर तीनवटा पुलको काममा ढिलाइ भयो, चारवटा मात्रै सम्पन्न भएको छ ।” करिब रु ११ करोडको लागतमा निर्माण सम्पन्न हुने तीन पुलहरू अन्तिम चरणमा पुगेको छ । ज्वालाखोला मोटरेबल पुल रु तीन करोड २१ लाख, द्रोपद खोला मोटरेबल पुल रु तीन करोड ८३ लाख र बरखोला पुल रु तीन करोड ३६ लाखको लागतमा निर्माण भइरहेको कार्यालयले जनाएको छ ।

कार्यालयले आवमा ६४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । उक्त वर्ष रु एक अर्ब ३१ करोड सात हजार ४० विनियोजन भएकामा रु ८४ करोड ७६ लाख १४ हजार खर्च भएको जनाइएको छ । पूँजीगततर्फ कूल रु एक अर्ब २८ करोड ६२ लाख ८२ हजार विनियोजन भएकामा रु ८३ करोड ३४ लाख पाँच हजार खर्च भएको कार्यालयले जनाएको छ । चालुतर्फ विनियोजित रु दुइ करोड ४४ लाख ५८ हजारमध्ये रु एक करोड ४२ लाख नौ हजार खर्च भएको छ ।

आवको मसान्तको समयमा विकास निर्माणको काम गर्ने प्रवृत्तिका कारण कार्यालयले विकास बजेट सोचे अनुरुपको खर्च गर्न नसकेको हो । मिश्रले भनिन्, “जेठ असारमा पानी परेर काम हुन नसकेपछि लक्ष्य अनुसारको प्रगति हासिल हुन सकेन ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker