तनहुँमा कोरोना संक्रमण बढ्यो : जिपी कोइराला र दमौली अस्पतालमा अक्सिजन उत्पादन
नारायण खड्का
तनहुँमा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले मंगलबार सार्वजनिक गरेको विवरणमा तनहुँका ४१ जनामा कोरोना संक्रमण भएको उल्लेख गरिएको छ। सार्वजनिक विवरणमा एन्टिजेनबाट गरिएको परीक्षणमा २८ जना र पिसिआरबाट गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, मंगलबार शुक्लागण्डकी नगरपालिकाका ११ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । ४६ जनाको एन्टिजेन परीक्षण गरिएकामा ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी गराएका छन् ।
केहीलाई रुघाखोकी र ज्वरो आउने लक्षण देखिएपछि उनिहरुको एन्टिजेन गर्दा ११ जनालाई संक्रमण पुष्टी भएको प्रमुख श्रीवास्तवले बताए । कर्मचारी बाहेक थप दुइ जनामा पनि कोरोना पुष्टि भएको छ। कर्मचारीलाई कोरोना देखिएपनि कार्यालयको सेवा भने बन्द गरिएको छैन् । बुधबार बैठक बसेर कार्यालयको सेवा बन्द गर्ने नगर्नेबारे निर्ण्र्ाागरिने प्रमुख प्रशासकीय अधिकृत लिलावल्लभ न्यौपानेले बताए । पछिल्लो समय कोरोना संक्रमण निकै त्रि्र गतिमा फैलिएकाले अनिवार्य स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरिएको छ ।
यस्तै, कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्लाका स्वास्थ्य संस्थाहरुले उपचार सेवा प्रवाहका लागि आवश्यक तायरी गरेका छन् । जिल्लामा ९ वटा भेन्टिलेटर सहितका १२ बेडको आईसियु कक्ष तयारी अवस्थामा राखिएको छ । दमौली अस्पताल र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले आफ्नै अक्सिजन प्लान्ट निर्माण गरी उत्पादन सुरु गरेका छन् ।
शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले यहि पुष २७ गतेबाट अक्सिजन उत्पादन सुरु गरेको छ । गत आर्थिक वर्ष२०७७/०७८ मा सुरु गरिएको प्लान्ट जडान कार्य सम्पन्न गरी अहिले दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन गर्न सुरु गरेको छ ।
संघीय सरकारबाट प्राप्त २ करोड १८ लाख रुपैयाँ लागतमा केन्द्रमा अक्सिजन प्लान्ट जडान गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेेष्ठले बताए। उनले भने, ‘उपचार केन्द्र नजिक रहेको विद्युत्को ट्रान्सर्फमरको क्षमता बढाउनुपर्ने भएकाले अक्सिजन उत्पादनमा करिब तीन महिना ढिलाइ भयो, अहिले हामी प्रयाप्त मात्रमा अक्सिजन उत्पादन गरी बिक्रीबितरण गर्नसक्ने अवस्थामा पुगेका छौं ।’
‘कोरोना भाइरस संक्रमणको पहिलो र दोस्रो लहरमा अक्सिजन सिलिन्डर नभएर ग्यारेज, उद्योग र यत्रतत्र फालिएका सिलिन्डर ल्याएर जिल्ला बाहिराबाट अक्सिजन भरेर ल्याउनुपर्ने अवस्था थियो’, उनले भने, ‘अहिले केन्द्रमा नै अक्सिजन उत्पादन हुन्छ । प्लान्टबाट सिधै विरामीको बेडसम्म अक्सिजन पुर्याएका छौ । आवश्यक परे अन्य जिल्लालाई पनि बिक्री गर्न सक्छौं र घरघरमै लग्न चाहानेका लागि पनि उपलब्ध गराउने व्यवस्था मिलाएका छौं ।’
‘पहिले समयमा अक्सिजन उपलब्ध नहुँदा संक्रमितको उपचारमा धेरै समस्य आएको थियो’, डा. श्रेष्ठले भने, ‘अब भने जिल्लाबासीलाई आवश्यक मात्रको अक्सिजन हाम्रै ठाउँमा उत्पादन गर्न सक्छौं । जिल्लामा अक्सिजन पाइएन भनेर अन्यत्र खोज्दै भौतारिनु पर्ने अवस्थाको अन्त्य भएको छ ।’
जिल्लाका १० पालिकाको संयुक्त लगानीमा ३० वेड क्षमताको कोभिड आइसोलेशन भवन निर्माण गरी उपचार केन्द्रलाई हस्तान्तरण गरिसकेका छन् । ओमिक्रोन भेरियन्टको जोखिम बढेसंगै ५ वटा भेन्टिलेटर सहितको आइसियु कक्ष, २५ वेडको एचडियु कक्ष लगायतका उपकरण जडान गरी भवन तयारी अवस्थामा राखिएको केन्द्रले जनाएको छ ।
यस्तै, जिल्लाको सदरमुकाम स्थित दमौली अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट गत असोज ८ गतेबाट नै अक्सिजन उत्पादन सुरु गरिसकिएको छ । गत आर्थिक वर्षमा प्रदेश सरकारबाट ७५ लाख रुपैयाँ बजेट प्राप्त भएको थियो । उक्त बजेटबाट अक्सिजन प्लान्ट निर्माणका लागि ४८ लाख रुपैयाँ खर्च भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल पौड्यालले बताए ।
जडान भएको अक्सिजन प्लान्टबाट एक दिनमा १५/२० सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने अस्पतालले जनाएको छ। अस्पतालमा भेन्टिलेटर सहितको आइसोलेशन कक्ष, अक्सिजन प्लान्ट लगायतका अन्य आवश्यक उपकरणहरु जडान हुँदा जिल्लाबासीले जिल्लामानै उच्चस्तरीय उपचार सेवा पाउने भएको उनले बताए । अस्पतालमा ४ वटा भेन्टिलेटर सहितको ७ वेडको आइसियु कक्ष, २८ वटा अक्सिजन कन्सन्ट्रेटर, ११० वटा अक्सिजन सिलिन्डर जडान भएका छन् ।
कोरोना भाइरसको पहिलो र दोस्रो लहर संक्रमण फैलदा जिल्लामा अक्सिजन सहितको उपचार सेवा नपाउँदा गम्भिर प्रकृतिका संक्रमित बाहिरी जिल्ला जानुपर्ने बाँध्यता थियो । कोरोना संक्रमण फैलिएसंगै जिल्लामा अहिले भन्टिलेटर सहितका उपचार कक्ष र अक्सिजन उत्पादन गर्ने पूर्वधार तयार भएसंगै उपचार सेवा सहज हुने भएको छ ।










