आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तनहुँमा छ मतदानस्थल थप

मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समिति तनहुँले जिल्लामा छ मतदानस्थल थप गर्नका लागि निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका चार स्थानीय तहमा ती मतदानस्थल थप गर्न आयोगसमक्ष सिफारिस गरिएको हो ।

स्थानीय तहको सिफारिसका आधारमा समितिले मतदान स्थल थप गर्नका लागि आयोग समक्ष सिफारिस गरेको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । “स्थानीय तहले राजनीतिक दलको सहमतिका आधारमा मतदानस्थल थप गर्नका लागि सिफारिस समितिमा अनुरोध गरी पठाएबमोजिम मतदानस्थल थप्नका लागि आयोगसमक्ष सिफारिस गरी पठाएका हौँ”, उहाँले भन्नुभयो, “थपिएका मतदानस्थलमा रहने मतदाता पनि स्थानीय तहको सिफारिसबमोजिम स्थानान्तरण गरिनेछ ।”

उहाँका अनुसार बन्दीपुर गाउँपालिकामा एक, व्यास नगरपालिकामा दुई, शुक्लागण्डकी नगरपालिकामा दुई र आँबुखैरेनी गाउँपालिकामा एक मतदानस्थल थप गर्नका लागि सिफारिस भएको छ । “आयोगबाट निर्णय भएर आएपछि मतदानस्थल थप हुनेछ”, प्रमुख ढकालले भन्नुभयो । बन्दीपुर गाउँपालिका–६ स्थित साराङघाट कृषि सेवा केन्द्रमा मतदानस्थल थप्न सिफारिस गरिएको छ । उक्त मतदानस्थलमा स्थानीय तहको सिफारिसअनुसारका पाँच सय दश मतदाता कायम गरिएको छ ।

व्यास नगरपालिका–५ चिन्तुटारस्थित शुक्र आधारभूत विद्यालयमा मतदानस्थल गर्न सिफारिस गरिएको छ । उक्त मतदानस्थलमा जनजुक्त शाही मावि नेपालटारबाट स्थानीय तहको सिफारिसअनुसार पाँच सय आठ मतदाता कायम गरिएको छ ।

व्यास नगरपालिका–१० दुम्सीबजारस्थित शिव माध्यमिक विद्यालयमा मतदानस्थल थप्न सिफारिस गरिएको छ । उक्त मतदानस्थलमा स्थानीय तहको सिफारिसअनुसारका चण्डीदेवी राष्ट्रिय मावि कुमालटारीबाट चार सय ६३ र भानु मावि दुम्सीचौरबाट तीन सय ३२ गरी सात सय ९५ मतदाता कायम गरिएको छ ।

शुक्लागण्डकी नगरपालिका–२ स्थित शिला आधारभूत विद्यालय हलेदीमा मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । उक्त स्थलमा साविक हंशबाहिनी मावि एक्लेखेतमा मतदान गर्नेमध्ये सात सय तीन जना मतदाता कायम गरिएको छ । शुक्लागण्डकी नगरपालिका–३ कवासेस्थित शहीद कृष्ण माविमा मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । उक्त स्थलमा साविक निर्मल आधारभूत विद्यालय बनकेवामा मतदान गर्ने मतदातामध्ये स्थानीय तहको सिफारिसअनुसार एक हजार ५५ मतदात कायम गरिएको छ ।

आँबुखैरेनी गाउँपालिका–४ भाँगेस्थित छिम्केश्वरी माध्यमिक विद्यालयमा मतदानस्थल थप गर्नका लागि सिफारिस गरिएको छ । यसैगरी जिल्लाका विभिन्न ठाउँमा रहेका सात मतदानस्थलको नाम परिवर्तन र सात मतदानस्थलको स्थान परिवर्तनका लागि सिफारिस भएको छ । देवघाट गाउँपालिका–१ स्थित गाविस भवन मतदान स्थललाई पार्वती मावि कोटामा स्थान परिवर्तन गरिएको छ । देवघाट–२ स्थित सिद्ध आधारभूत विद्यालय कोटवैदी मतदानस्थललाई सर्वोदय आधारभूत विद्यालय ब्यागनमा स्थान परिवर्तन गरिएको छ ।

देवघाट–२ स्थित कमला आधारभूत विद्यालय सानुभञ्ज्याङलाई कालीगङ्गा मावि बैदीमा स्थान परिवर्तन गरिएको छ भने देवघाट–३ गाविस भवन लुङ्ग्रीन मतदानस्थलको नाम परिवर्तन गरी ३ नम्बर वडा कार्यालय भवन राख्न सिफारिस भएको छ ।

बन्दीपुर गाउँपालिका–६ गाविस भवन धरमपानीलाई अरुण मावि हटियाबजारमा स्थान परिवर्तनका लागि सिफारिस गरिएको छ । उक्त मतदानस्थलमा साराङघाट मतदानस्थलमा मतदान गर्ने पाँच सय १० मतदाताबाहेक साविकस्थलका सबै मतदाता कायम गर्न सिफारिस गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

व्यास–८ स्थित गाविस भवन फेदी मतदानस्थलको नाम परिवर्तन गरी ८ नम्बर वडा कार्यालय रिस्तीफेदी मतदानस्थल राख्न सिफारिस गरिएको छ । व्यास–९ स्थित नारायणचौर आधारभूत विद्यालय चण्डीथानको नाम परिवर्तन गरी नारायणचौर सामुदायिक भवन चण्डीथान राख्न सिफारिस गरिएको छ ।

शुक्लागण्डकी–१२ त्रिभुवन आधारभूत विद्यालय जसपुरलाई अमरज्योति आधारभूत विद्यालय रातमाटामा स्थान परिवर्तनका लागि सिफारिस गरिएको छ । भिमाद नगरपालिका–४ गाविस भवन तुरतुरेलाई अमरज्योति आधारभूत विद्यालय रातमाटामा स्थान परिवर्तनका लागि सिफारिस गरिएको छ । भिमाद–७ पोखरीछाप आधारभूत विद्यालय पोखरीछापलाई ७ नम्बर वडा कार्यालय पोखरीछाप नाम परिवर्तन गर्न सिफारिस गरिएको छ ।

भिमाद–९ स्थित हिमालय आधारभूत विद्यालय च्यानडाँडालाई भिमाद सामुदायिक भवन च्यानडाँडामा स्थान परिवर्तनका लागि सिफारिस गरिएको छ । आँबुखैरेनी–६ गाविस भवन हिलेखर्कलाई कन्यादेवी मावि हिलेखर्कमा स्थान परिवर्तनका लागि सिफारिस गरिएको छ । ऋषिङ–७ गाविस भवन अर्खलछापलाई ७ नम्बर वडा कार्यालय भवन अर्खलछाप र ऋषिङ–८ गाविस भवन पल्ट्याङलाई ८ नम्बर वडा कार्यालय पल्ट्ङयाङ नाम परिवर्तन गर्न सिफारिस गरिएको छ ।

जिल्लामा विसं २०७७ माघ १५ र १६ गतेको बैठकको निर्णयअनुसार एक सय ३६ मतदानस्थल र दुई सय ९७ मतदान केन्द्र कायम भएको थियो । सोही निर्णयका आधारमा जिल्लामा मतदानस्थल कायम गरी गत वैशाखमा स्थानीय तह निर्वाचन सम्पन्न भएको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी जिल्लामा कायम रहेका मतदान केन्द्र र मतदानस्थल थपघट र स्थानान्तरणका लागि स्थानीय तहको सिफारिस बमोजिम आयोगमा पठाइएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताउनुभयो ।

जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले मतदानस्थल निर्धारणका लागि सिफारिस गर्दा साविकमा कायम रहेका मतदानस्थललाई आधार मानी सामान्य त्रुटि मात्र सच्याउनुपर्ने वा नयाँ मतदानस्थल थप्नुपर्ने वा साविकमा रहेका मतदानस्थल हटाउनुपर्ने वा गाभ्नुपर्ने वा एक मतदानस्थलमा रहेका मतदातालाई अर्को मतदानस्थलमा सार्नुपर्नेलगायतका विषयमा सर्वसम्मत निर्णय गर्नुपर्ने प्रावधान रहेको थियो ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने समितिमा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख वा प्रतिनिधि सदस्य, जिल्ला समन्वय अधिकारी सदस्य, जिल्लास्थित सुरक्षा निकायका प्रमुख सदस्य र जिल्ला निर्वाचन अधिकारी सदस्य सचिव रहने व्यवस्था छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker