जिल्ला प्रशासन कार्यालय तनहुँमा पर्याप्त कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती

जिल्ला प्रशासन कार्यालय तनहुँमा पर्याप्त कर्मचारी नहुँदा दैनिक सेवा लिन आउने सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । कर्मचारी थोरै भएकाले काम ढिलो हुँदा दैनिक कार्यालयको परिसरमा सेवाग्राहीको भीड लाग्ने गरेको छ ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका–११ का रामु गुरुङ्ले राहदानी फाराम भर्न झण्डै तीन घण्टा लाइनमा बस्नुपरेको दुखेसो पोख्नुभयो । पछिल्लो समयमा कार्यालयमा राहदानीको लागि आउने सेवाग्राहीको सङ्ख्या बढी रहेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
दैनिक सय जना क्षमताको लागि राहदानी फाराम खुलपनि अहिले दुई सय बढी सेवाग्राही आउन थालेपछि कर्मचारीलाई काम गर्न कठिन भएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताउनुभयो । बढी भीड हुने भएकोले टाढाबाट आएका सेवाग्राहीलाई बास बस्न नपरोस् भनेर कार्यालय समयपछि पनि सेवा दिन थालिएको उहाँले जानकारी दिनुभयो ।
एकै स्थानबाट सेवाग्राहीलाई सेवा दिन गाह्रो भएपछि जिल्लाको पूर्व र पश्चिम दुई स्थानमा इलाका प्रशासन कार्यालय थप गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको उहाँले बताउनुभयो । मन्त्रालयबाट चालु आर्थिक वर्षभित्र एउटा इलाका प्रशासन कार्यालय थप गर्ने गरी प्रक्रिया अघि बढाइसकेको छ । उहाँले भन्नुभयो, “पश्चिम क्षेत्रमा यसै आवदेखि सेवा दिने गरी इलाका प्रशासन कार्यालय स्थापना गर्न मन्त्रालयले तदारुकता देखाएको छ ।”
दरबन्दीअनुसारको कर्मचारी नहुँदा सेवाग्राहीलाई सहजरुपमा सेवा प्रवाह गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कर्मचारी नहुँदा झेल्नुपरेको समस्याका विषयमा गृह मन्त्रालय र विभागमा जानकारी गराइएपछि चालु आर्थिक वर्षमा एउटा इलाका कार्यालय थप गर्ने कार्य अघि बढेको गैरेले जानकारी दिनुभयो । पहिलेको जनसङ्ख्याअनुसार दरबन्दी कायम भएपनि अहिले जनसङ्ख्या बढेर दोब्बर हुँदा पुरानै दरबन्दीका कर्मचारीले सेवा दिन कठिनाई भएको उहाँले स्वीकार गर्नुभयो ।
अहिले प्रायःकाम कम्प्युटरमार्फत हुने भएपनि अपरेटरको दरबन्दी रिक्त भएपछि करारमा कर्मचारी नियुक्त गरी कामकाज गर्नुपरेको उहाँले बताउनुभयो ।
जिल्ला प्र्रशासन कार्यालयमा नागरिकता, राहदानी बनाउन, सङ्घ सस्था दर्ता, नविकरण, पेन्सनसम्बन्धी, दलित जनजाति प्रमाणित, नागरिकताको प्रतिलिपिलगायत कामका लागि दैनिक तीन सयभन्दा धेरै सेवाग्राही आउने गरेका छन् ।










