म्याग्दे गाउँपालिका : स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई पोषण भत्ता दिइने

- भञ्ज्याङ समाचारदाता (म्याग्दे)
तनहुँको म्याग्दे गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई एक महिना बराबरको खाना र बस्नका लागि भत्ताको व्यवस्था गर्ने भएको छ । मातृ तथा नवशिशु स्वास्थ्य र पोषण प्रबर्द्धन एवं व्यवस्थापन कार्यक्रम बमोजिम गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई एक महिना बराबरको पोषण भत्ता उपलब्ध गराउने तयारी गरेको हो । सुरक्षित प्रसूति तथा कुपोषणमुक्त गाउँपालिका बनाउने उद्देश्यसहित यस्तो कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बताइन् । ‘स्वास्थ्य क्षेत्र सुदृढ गर्न तथा सुरक्षित प्रसूति एवं कुपोषणमुक्त बालबालिका बनाउन यो कार्यक्रम ल्याएका हौं’, उनले भनिन्, ‘यो कार्यक्रमले मातृ मृत्युदर घटाउनुका साथै आमा र शिशुको स्वास्थ्यलाई समेत फाइदा पुग्ने विश्वास छ ।’
प्रसूति हुनुभन्दा अगाडिको र भएपछिको १५/१५ दिनको समय गरी एक महिना अस्पताल वा स्वास्थ्य संस्थामा रहँदा पोषणयुक्त खाना (खाना, मासु, अण्डा, दूध, फलफूल, हर्लिक्स) व्यवस्थापन गर्ने वा सोबापत प्रतिदिन आठ सय रुपैयाँका दरले भत्ता उपलब्ध गराइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी गराए ।
त्यस्तै, सुत्केरीलाई घर पठाउँदा प्रतिव्यक्ति दुइ हजार रुपैयाँ यातायात खर्च र ६ हजार रुपैयाँ नवशिशु पोषण खर्च गरी आठ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले प्रसूति कुरुवाका लागि पनि भत्ताको व्यवस्था गरेको छ । ‘हामीले यो व्यवस्था नेपालमै पहिलो पटक शुरुवात गरेका छौ, महिलाले यो सुविधा पाउन थालिसकेका छन’, प्रशासकीय अधिकृत अधिकारीले बताए ।
गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा सम्भव नहुने जटिल प्रकृतिको गर्भवतीलाई अन्यत्र प्रसूति गराउन जाँदा पनि यातायात खर्चबापत पाँच हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । स्वास्थ्य संस्थामा ल्याउँदा र घर लैजादाको खर्चको व्यवस्थापन पनि गाउँपालिकाले मिलाउने व्यवस्था गरेको छ ।










