चुनाब पछिको सरकार र नेपालको प्राकृतिक स्रोतलाई उधोगमा रुपान्तरण
डा. प्रशान्त ध्वज अधिकारी

आज विश्वमा रहेका देशहरु कि आफ्नो स्रोतको परीचालनबाट धनी भएका छन्, कि प्रबिधिको बिकास गरी त्यसलाई नै स्रोतमा रुपान्तरण गरी । अति स्रोत हदा हुदै पनि सदुपयोग गर्न नसकी द्वन्द्वमा फसेका रास्ट्रबाट प्रबिधियुक्त रास्ट्रहरुले नै तिनीहरुको स्रोतबाट औधोकिकरणमा गई पुन फाइदा लिईरहेका छन ।
अहिलेको बिकासको आधार नै कसरी भएको स्रोतलाई पहिचान गरी अधिक्तम उपयोग गर्न सकिन्छ भन्ने सोचबाट विश्व समुदाय अघि बढिरहेको छ । नेपाल र हामी नेपाली स्रोत हुँदाहुँदै पनि सदुपयोग गर्न नसकी विकासमा धेरै नै पछि परिसकेको छौं । आजको संसारमा विकासको गति यति तीव्र छ कि कुनै अलमलमा परी समय खेर फाले, ती अलमलमा पर्ने देश पछि त परिहाल्छन् ।
त्यो बाहेक भविष्यमा यी मुलुक तीव्र गतिमा हिंडेका मुलुकका लागि चाहिने जनशक्ति पठाउने राष्ट्रको रुपमा चिनिंदै जानेछन् । यसको उदाहरण लिन लगभग हामी सँगसँगै राजनीतिक परिवर्तन गरेको देश कोरियालाई लिन सकिन्छ । उनीहरुको हाल वार्षिक प्रति आय ३० हजार डलर माथि छ भने, हाम्रो केवल १२०० डलर मुनि ।
दुःखको साथ भन्नु पर्दा विकासित राष्ट्रको एक मझौला परिवारले एक वर्षमा ट्वाइलेटजन्य सामग्री र पेपरमा मात्र खर्च गर्ने रकम हाम्रोमा सामान्य परिवारले कमाउन पूरा वर्ष दिन कुर्नुपर्छ । अनि हामी नेपाली कसरी आफूलाई विश्व मञ्चमा सम्मानित तरिकाबाट उठाइरहन सक्छौ । प्राकृतिक स्रोतलाई राज्यको सम्पन्नतासँग जोडेर हेरिन्छ, स्रोत भनेकै पदार्थहरुको उपस्थितिसँग सम्बन्धित छ ।
पदार्थ भन्नुनै समस्त वस्तुहरू हुन्, जसले ब्रहृमाण्ड बनेको छ । तर, सतह भित्र रहेको खनिज सम्पदाको रहस्य नेपालको लागि अझै अनुसन्धानकै बिषय भएको छ । खनिज सम्पदा प्राकृतिक स्रोतमध्ये एउटा महत्वपूर्ण स्रोत हो । पृथ्वीभित्र रहेका तामा, फलाम, कोइला, चुनढुङ्गा, पेट्रोलियम पदार्थ, ग्याँस, खरी, गेरु, शिशा, म्याग्नेसाइट, स्लेट आदिलाई खनिज भनेर चिनिन्छ ।
संसार आज नयाँ-नयाँ प्रबिधिको बिकास गरी उपभोगको बाटोमा छ । प्राकृतिक रुपमा उत्खनन भएका पदार्थहरुलाई मात्र उपभोग गर्दा नपुगेर कृतिम रुपमा पनि पदार्थहरुलाई प्रयोगशालामा उत्पदान गरी मानविय जिबनलाई अझ अगाडी बढाउने बाटोमा अनुसन्धानकर्ता लागिपरेका छन् । बीसौ शताब्दीलाई सिलिकन सेमिकन्डटर युगको रुपमा चिनिन्छ भने, अब आउने शताब्दीलाई कार्बन शताब्दीको युगमा लान बिश्व बैज्ञानिक जगत अघि बडीरहेको छ ।
तर ति अप्राकृतिक तरिकाबाट प्रयोगशालामा उत्पदित कार्बन वस्तुहरु (जस्तै, कार्बन न्यानो ट्यूब, ग्राफिन, आदिहरुको) उपयोगिताको नतिजा अझै आउन बाकी छ । यदि नतिजा अझ सकारात्मक भए सिलिकन सेमिकन्डटरको ठाउमा कार्बनप्रबिधि भित्रिने छ । यदि, यस्तो भए हामीले अहिले प्रयोग गरिराखेको इलेक्टि्रक प्रबिधिमा ठूलो परिबर्तनआउने छ।
स्रोत-खनिज पदार्थको हिसाबले नेपाल धनी राष्ट्रमै पर्दछ । नेपालको संविधान-२०७२ अनुसार अब यस्ता खनिज पदार्थहरु प्रदेश तथा स्थानीय सरकारको अधिकार क्षेत्रभित्र आउने भएकाले स्थानीय सरकारहरुले पनि उचित नीति अवलम्बन गर्नैपर्छ । नेपालमा खनिज पदार्थको उत्खननलाई अझ प्रभावकारी बनाउनका लागि बि.स. २०२४ मा भौगर्भिक विभागको स्थापना गरिएको थियो । जसले नेपालमा पाइने खनिजहरुबारे संक्षिप्तमा जानकारी बाहिर लेराएको छ ।
फलाम र चुनढुङ्गा नेपालमा पाइने बस्तुहरुमध्ये तुलनात्मक रुपमा बढी पाइने रुपमा लीइएको छ र केहि भएपनि हाल हामीले चुनढुङ्गालाई सिमेन्ट उधोगमा उपयोग गरी आएका पनि छौ । पेट्रोलियम पदार्थ पनि नेपालमा पाइने विभिन्न अध्ययनले देखाएको छ । नेपालका विभिन्न क्षेत्रमा पाइने हल्ला गरीएको युरेनीअम उत्खनन गरेर विक्री वा प्रशोधन गर्न सकिन्छ कि सकिँदैन त्यो भोलिका दिनमा अनुसन्धानले देखाउला । आणविक अस्त्र र ऊर्जाका लागि प्रयोग गरिने भएकाले युरेनीअमलाई “रणनीतिक खनिज” मानिन्छ । खानी तथा भूगर्भ विभागबाट प्राप्त जानकारी अनुसार नेपालमा पाइने खनिज उत्खननका लागि स्वदेशीदेखि विदेशी कम्पनीहरुसमेत आकर्षित भइरहे पनि नतिजा सन्तोसजनक अझै हुन् सकिरहेको छैन ।
यति हुँदाहुँदै पनि पदार्थिय दृष्टिकोणबाट रणनीतिक महत्व भएका र भबिस्यमा हुन् सक्ने पदार्थहरु जस्तै लिथियम, कोबाल्ट, निकल, इत्यादीको, हामीकोमा सम्बन्धित निकायबाट अध्ययन अनुसन्धानमा गई पहिचान गर्न जरुरी छ । प्रविधिको विकासले गर्दा मोटर-गाडी पनि इलेट्रिक युगमा जादै छन, त्यो बेलामा ब्याट्रीको लागि यी पदार्थ आबस्यक पर्ने भएकोले, आजको दिनमा यिनीहरुको माग उच्च छ ।
हिजो स-साना, ल्यापटप, मोबाइलमा खपत हुने ब्याट्रीमा प्रयोग गर्दा त, ति पदार्थहरुको माग उच्च थियो भने, गाडीको इलेकटि्रक युगमा रुपन्तरण हुने अबस्थामा माग के होला ? शक्तिराष्ट्रहरु उक्त महत्वपूर्ण पदार्थका अलवा अरु मुल्यवान वस्तुहरु पनि चन्द्रमाको सतहमा रहेको अनुमान गरीएकाले, त्यहाबाट पृथ्बीमा झार्नको लागि स्पेश इलिभेटरको अवधाणालाई मुर्त रुप दिन अघि बढदै छन् ।
त्यसैले, भविष्यमा शक्तिराष्ट्रहरुको प्रतिस्पर्धा निकलजन्य खनिजका लागि पनि हुन सक्ने देखिन्छ । किनकी रुस-युक्रेन युद्ध सुरु भएपछि निकलजस्ता धातुको मूल्य आकासिदा लन्डन मेटल एक्सचेन्जमा त्रास उत्पन्न गराइसकेको छ । खनिज सम्पदाको महत्व कति छ भन्ने कुरा युक्रेनमाथिको आक्रमण रोक्न अमेरिका र उसका सहयोगी देशहरुले क्रेम्लिनमाथि कडा प्रतिबन्ध लगाए पनि युरोप रुससँग तेल र ग्यास किन्न बाध्य छ । नेपालमा पानी पनि महत्वपूर्ण स्रोत हो, र अब यसको अझ उपयोग बढ्ने दिन आउन सक्छ ।
हिजोको दिनमा पानी पिउन, सिंचाई गर्न, सरसफाई र उर्जाको निम्ति मात्र प्रयोगमा थियो भने, अब इन्धनको रुपमा प्रयोग हुने दिन त्यति टाढा छ जस्तो लाग्दैन । प्रविधिले पानीमा रहेको हाईड्रोजन र अक्सिजनलाई टुक्राई हाईड्रोजनमा रुपान्तरण गरी हाम्रै नदीको पानीले गाडी कुदने दिन आउदा हाम्रों पानीको स्रोतको उपयोग अझ बढ्नेछ । किनकी, समुन्द्रको पानीमा हेभी मेटल तथा अरु बस्तुहरुको मिश्रण हुने भएकोले उक्त प्रविधिलाई प्रयोग गर्दा व्यवहारीक समस्या आउन सक्छ ।
अर्कोतिर डाडा-पहाडमा हुर्केको हामी यिनै डाडा नै बिकासको बाधक हो कि जस्तो लाग्थ्यो । तर यिनै डाडा-पहाडले नै भबिस्यमा हामीलाई धनि बनाउन सक्ने आधार पनि छ । अबको विकास निर्माणमा नदिजन्य पदार्थले मात्र बिश्व बजारमा निर्माण सामग्रीको माग थेग्न सक्दैन । यसको लागि भर डाडाको नै हो । अझ बाताबरणीय असन्तुलनले गर्दा हिमालको हिऊ पग्लने र समुन्दको सतह बढ्ने क्रम जारी छ। त्यसैले, केहि दसकपछि बिश्वका केहि प्रमुख सहरको अस्तित्व नै संकटमा पर्ने वाला छ ।
ठाउँ हुनेले नयाँ ठाउमा शहर बसाल्न सक्लान, तर यो पनि ठुलो खर्चिलो हुन् जान्छ । ठाउँ नहुनेले समुन्द्री तटबन्द बनाउन वा कृतिम टापू बनाउनु पर्नेछ । यसको लागि चाहियो ढुंगा माटो, हाम्रै छिमेकि मुलुक भारतलाई पनि विकास निर्माणको लागि यस्ता सामग्रीको अत्यधिक माग छ । बिदेशमा लामो समय बिभिन्न मुलुकको उपनिवेश भएको एक रास्ट्र घुम्ने मौका पाउदा, मैले सर्ग्हालय घुमेको थिंय । जुन पहाडमा थियो र सुन खानीसँग सम्बन्धित थियो ।
पहाडलाई सुरुंगको स्वरुपमा छिया-छिया बनाई त्यो रास्ट्रको दोहोन गरेको देख्दा लाग्यो, हामी नेपाली धेरै नै भाग्यमानी हो कि जस्तो । जे भएपनि हाम्रो पुर्खाले यो जमिन कसैको अधिनमा हुन् दिएनन । यो हिसाबले हृमम्रो देश भर्जिन ल्याण्डको रुपमा अझै छ । यी ठुला-ठुला पहाडमा के ढुंगा माटो मात्र होला र ? हामीले पहाड सुहाउदो फलफुल र अन्य बालीको विकास वा उत्खननको चरणमा जानै नसकेरा मात्र हो । जे-भएपनी हाम्रा यी पहाडहरु भबिस्यमा मुल्यवान हुने नै छन् ।
हामीले सतहमा भएको स्रोतमात्र राम्रोसँग परिचालन गर्न सकेको भए, आज नेपालको उपस्थिति नै अर्कै भैसक्थ्यो । कृतिम र सतह भित्रका स्रोतको उपयोग हुन् सक्ने आधार पनि भबिस्यमा बन्दै गर्लान, मुख्यत हामीले हाम्रो खनिज बस्तुहरुको सहिसँग पहिचान गर्नु आवस्यक छ । तर, चन्द्रधरातलिए बस्तुको उपयोग हाम्रो लागी हाललाई टाढाको बिषय हो । जे-भएपनी, नेपालमा स्रोतको सम्भावना भएकोले र यो रणनितिक महत्वको ठाउँमा अबस्थित भएकोले थिती बसाल्न र ब्यवस्थापन गर्न हामीले सकेनौ भने, हामी पनि लामो द्वन्दमा फस्न सक्छौ ।
स्वार्थको टकराबले भविष्यमा शक्तिराष्ट्रहरुको प्रतिस्पर्धा नेपालमा पनि हुनसक्छ। हामीले युक्रेनमा भएको लडाइ देखिरहेका छौ । ताइवानलाई लिएर अमेरिका र चीनको टकराब पनि देखिरहेका छौ । ताईवानलाई यी दुवै शक्तिले किन महत्व दिन्छन त ? किनकी, आजको दिन सम्म आइपुग्दा बिश्वजगतलाई चाहिने सेमिकन्डटरजन्य सामग्री जस्तै चिप्सहरुको आधा जस्तो हिस्सा ताईवानले लिदै आएको छ । त्यसैले गर्दा शक्तिराष्ट्रहरुको प्रतिस्पर्धाको स्वार्थ यहाँ पनि लुकेको छ ।
आजभोली, कुनै एक क्षेत्रमा पाइने खनिजको राष्ट्रव्यापी र बिश्वव्यापी महत्व र उपयोग हुन सक्ने भएकाले नेपालले पनि सहि खनिज उपयोग नीति बनाई सोहीअनुसार तिनवटै सरकारहरुले व्यवस्थापनको नीति लिई वातावरणीय समस्या र नयाँ पदार्थहरुको पहिचान गर्न सक्नुपर्छ, जस्ले गर्दा केन्द्रीय तथा स्थानिय सरकारहरुको आय विस्तारमा पनि उपलब्ध खनिजले काम गरोस । अन्त्यमा, आश गरौ चुनाब पछि आउने नया सरकारले नेपालको प्राकृतिक स्रोतहरुलाई नै प्राथमिक्तामा राखी उधोगमा रुपान्तरण गरी बिकासमा छलांग मार्दै जान सक्ने आधार बनाउन सकोस ।
(लेखक : न्यानो ल्याब, ताईवान, पदार्थीय ल्याब, द. कोरिया, न्युट्रो ल्याब, अमेरिका हुँदै हाल पदार्थीय ल्याब ब्राजिलमा आणविक र चुम्बिकीय न्यानो म्याटरियल्स हाईब्रिड प्रबिधि विकास सम्बन्धि बैज्ञानिक अनुसन्धानमा आबद्व छन् ।)










