शिवको महिना, पर्यटन र श्रृंगारिक आरती

के.बि. मसाल

श्रावण महिनामा बिशेष गरी शिव मन्दिरमा श्रृंगारिक आरती हुन्छ । श्रावण महिनालाई शिवको महिना पनि भनिन्छ । श्रावण महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । जुन कारणले तीर्थाटनका पर्यटकहरु आफुलाई पाएक पर्ने ठाउमा श्रृंगारिक आरती र शिव महापुराण वाचन भएका शिव मन्दिरमा पुग्ने गर्दछन । विशेष गरी श्रावणको सोमबार शिवजीको व्रत बस्ने महिलाहरु धेरै हुन्छन। पार्वतीले श्रावण महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको भन्ने लोक कथाले महिला तीर्थाटनका पर्यटकहरुले बढी महत्व दिएको पाइन्छ । हिन्दु शास्त्रमा श्रावणलाई मासोत्तम मास अर्थात सबैभन्दा उत्तम महिना र पवित्र मानिन्छ ।

हिन्दु धर्ममा आरती पूजा अर्चनाको एउटा विधि हो । आरतीमा बलिरहेको दिपक वा आरतीको थाली आराध्य समक्ष एक विशेष विधिले घुमाउने गरिन्छ। आरती सामान्यतः पूजाको अन्तिम समयमा गर्ने गरिन्छ। आरती खासगरी मंगल आरती, पूजा आरती, श्रृंगार आरती, भोग आरती, धूप आरती, संध्या आरती र शयन अरती समेत आठ किसिमका आरती हुन्छन । यी मध्य श्रृगार अर्थात श्रृंगारिक आरतीको बिशेष महत्व मानिन्छ । श्रृंगारिक आरती तीर्थाटनका पर्यटकहरुका लागि आकर्षण हुने गर्दछ । तीर्थयात्रीहरु श्रृगारिक आरती हेर्न शिव मन्दिर पुग्ने गर्दछन । साँझपख बत्तीको उज्यालोमा, चन्दन र फूलको सुवासमा, सगीतको लहरमा आरम्भ हुने आरतीले पर्यटकहरुमा आध्यात्मिक चेतना जगाउने गर्दछ ।

श्रृंगारिक आरती नेपाली मौलिक संस्कृति भने होइन । तर बदलिँदो समयसँगै धार्मिक सांस्कृतिक आरती पनि आयात भएको छ । श्रृंगारिक आरतीको सुरुवात भारतको बृन्दावन र उत्तर भारतीय वैष्णव परम्पराबाट भएको मानिन्छ । जहाँ कृष्ण–राधाको श्रृंगार, नृत्य, गीत र दीप–धूप सहितको आरतीलाई विशेष महत्व दिइन्छ। नेपालमा विशेष गरी केही शिव मन्दिर, धार्मिक संस्था र कथावाचन कार्यक्रमहरुमा समेत श्रृंगारिक आरती लोकप्रिय बन्दै गएको छ ।

श्रृंगारिक आरती भनेको इश्वरप्रति गरिने प्रेम अर्थात भावनात्मक आस्था हो। श्रृंगारिक आरती गर्दा धेरै बत्ती एउटै आरतीमा राखी साजसज्जा गरेर आकर्षक तरिकाले भक्तिभाव दर्शाइन्छ । आरती गर्ने बटुकहरुको पोशाक पनि एउटै हुन्छ । बिशेष गरी तीर्थाटनका पर्यटकहरु आरतीको समयमा खुशी हुन्छन । कोही आरतीको लोक भजनमा स्वर मिलाउँदै नाच्न थाल्दछन। लोक भजन स्थानीय भाषा, धुन र संस्कृतिमा आधारित हुन्छ। यसले जनजीवनका आस्था, मूल्य, अनुभव र विश्वासलाई भावपूर्ण ढङ्गले प्रस्तुत गर्ने गरिन्छ । लोक भजनको गायनले मन्दिरको वातावरणलाई भक्तिपूर्ण बनाउँछ । मन्दिरमा गुञ्जिने भजनले तीर्थयात्रीहरुको थकान मेटाउछ र साधनाको अनुभूति दिन्छ। अर्को तर्फ भजनले धार्मिक स्थलको सांस्कृतिक महत्व पनि उजागर गर्दछ । लोक भजन केवल गायन मात्र नभएर तीर्थस्थललाई जीवित, संस्कारयुक्त र आध्यात्मिक रुपमा समृद्ध बनाउने माध्यम पनि हो ।

श्रावण महिनाको बिशेष गरी सोमवार विवाहित महिलाहरु पतिको दीर्घायुको कामना र अविवाहित नारीहरु सुयोग्य बर मिलोस भन्ने कामनाका साथ शिवको आराधना गर्न शिवालयमा पुग्दछन। शिव मन्दिरमा जाँदा ॐ नमः शिवायको मन्त्रले शिवमा समर्पित हुन्छन । शैव धर्म मान्नेहरुको ॐ नमः शिवायको मन्त्र अत्यन्त महत्वपूर्ण मानिन्छ । शिव मन्दिरमा शिव महापुराण सत्संग ज्ञान महायज्ञ र श्रृंगारिक आरतीले तीर्थाटन पर्यटकहरुलाई मनमुग्द गराउछ । पूजाको अन्तिम समयमा गरिने आरती पुजा उपासनाको विधि हो। पर्यटकहरु शिव मन्दिरको दर्शनपछि श्रृंगारिक आरतीमा सहभागी हुने गर्छन । अर्को तर्फ संगीतमय श्रृंगारिक आरती हेर्न प्रत्येक साँझ शिव मन्दिरमा भेला हुने गर्छन। श्रृंगारिक आरतीको भजनमा कोही नाच्न थाल्दछन, कोही भजनको स्वरमा स्वर थप्दै ताली पिटेर आनन्द लिन्छन । आरतीको भजनले तीर्थाटनमा पुगेका पर्यटकलाई मन देखिनै सकरात्मक भाव जागेर आउँछ । आरतीको टुकी घ्यू वा तेलको दियो पनि हुन सक्छ। यसमा वैकल्पिक रुपबाट घ्यू, धूप तथा सुगन्धित पदार्थहरुको पनि मिश्रण गरिएको हुन्छ । तर आजभोली श्रृंगारिक आरतीमा पर्यटकहरुलाई आकर्षण गर्न फस्फोरस जस्ता केमिकल समेत प्रयोगमा ल्याउन थालेको देखिन्छ ।

सनातन परम्परामा भगवान शिवलाई कल्याणकारी देवता मानिन्छ । देवताका पनि देवता भनिने महादेवको पूजा अत्यन्त सरल र शीघ्र फलदायी मानिन्छ। भगवान शिवको पूजा, जप र तपस्याका लागि श्रावण महिना उत्तम मानिन्छ । श्रावण महिनामा महादेवको आराधना गर्नाले शिवभक्तले मनोकांक्षा प्राप्त गर्ने तीर्थाटनका पर्यटकहरुको विश्वास छ । शिव पुराण हिन्दू धर्मको १८ पुराणहरु मध्यको एक धार्मिक ग्रन्थ हो । यस पुराणमा भगवान शिवको बारेमा उल्लेख गरिएको छ । शिव महापुराणमा मुख्य रुपले शिव शक्ति र शिव महिमाको विशेष रुपमा वर्णन गरिएको छ । पुराणमा शिवलाई त्याग, तपस्या, वात्सल्य र करुणको मूर्तिको रुपमा लिइएको छ । शिव चाँडै सहज रुपमा प्रसन्न हुने र मनोवाञ्छित फल दिने देवता मानिन्छ । शिव भगवान भन्नसाथ कम्मरमा बाघको छाला बाँधेका, एक हातमा डमरु र अर्कोमा त्रिशूल बोकेका, सर्पको माला लगाएका, तीन नेत्र भएका, जटाधारी आकृति भएको मानिन्छ ।

पर्यटकहरुलाई शिवको यस्ता स्वरुप किन भएको होला भन्ने जान्ने उत्सुकता हुन्छ । शिव स्वरुपको रचना अर्थपूर्ण छ । शिवजीको जटालाई वायुमण्डल, त्यसमा सिउरिएको चन्द्रमालाई मन, डमरुलाई ध्वनी एवं संगीतको प्रतिक मानिएको छ। शिवले कम्मर मुनी बाघको छाला बाँधेका छन । बाघ हिंसाको प्रतिक हो । त्यसलाई कम्मरमुनी बाँध्नुको अर्थ हिंसालाई दबाउनु पर्छ भन्ने हो । त्यस्तै, शिवजीको आकृतिमा समानन्तर तीन वटा आँखा हुन्छ । बीचको तेस्रो आँखालाई अलौकिक सृष्टिको प्रतिक मानिन्छ। त्रिशूलको तीनवटा शूलले उदय, संरक्षण र विनासको संकेत गर्छ । सर्पले पर्यावरणमा रहेको विषाक्त पदार्थलाई आफ्नो गलामा समाहित गर्छ। शिवजीले सर्पको माला लगाउनुको अर्थ पनि पर्यावरणको शुद्धतासँग जोडिएको छ ।

श्रृंगारिक आरती मूलतः भक्ति र श्रद्धामा आधारित हुन्छ । तर पछिल्लो समय आरती प्रदर्शन र प्रतिस्पर्धामा रुपान्तरण हुँदै गएको छ । केही मन्दिरमा श्रृंगारिक आरतीमा लाखौं रुपैयाँको श्रृंगार सामग्री प्रयोग गरिन्छ । मन्दिर समितिहरुले विशेष आरती प्रायोजक तोक्छन जसले ठूलो रकम दान गर्छ त्यसको बदला उसलाई बत्ती बाल्न, पूजाको सामाग्री चढाउन, पोषाक लगाइ मञ्चमा उभिन अधिकार दिइन्छ । यो परम्परालाई केही मन्दिरहरूमा आरती टेन्डर प्रणाली नै भनिन थालिएको छ । अर्को तर्फ श्रृंगारिक आरतीको सांस्कृतिक एवं कलात्मक पक्षको पनि महत्व छ । श्रृंगारिक आरती आफैंमा एक सांस्कृतिक नाटय रुप हो। श्रृंगारिक आरतीमा संगीत, नृत्य, वेशभूषा, रङ्गसज्जा, लाइटिङ्ग र पूजाविधिको सांस्कृतिक कार्यक्रम प्रस्तुत हुन्छ । कतिपय मठमन्दिरहरुमा यो आरती धार्मिक नाटय अर्थात लीला प्रदर्शन गरिन्छ। यो परम्परा केवल धर्ममा सीमित नभई नेपाली कला, संगीत र नाटयशैलीको संवाहक पनि हो ।

श्रृंगारिक आरतीले पर्यटकहईलाई अवश्य आकर्षित गर्छ। तर जब ती पर्यटक मन्दिरमा भक्ति भन्दा आरती खर्च विवरण, कसले कति दियो भन्ने चर्चा सुन्छन तब उनीहरुको धार्मिक अनुभूति खण्डित हुन्छ । धार्मिक स्थलमा न्यानोपन, शान्ति, आध्यात्मिक उर्जा खोज्न गएका ती तीर्थाटनका पर्यटकहरु जब दानदाता र प्रायोजक बीचको होड देख्छन तब उनीहरु मन्दिर भन्दा मेलामा आएको महसुस गर्न थाल्छन । श्रृंगारिक आरती भित्रको श्रद्धा बाहिर प्रदर्शनको वस्तु बन्न हुदेन । श्रृंगारिक आरती नेपाली धार्मिक संस्कृति र पर्यटनको एक समृद्ध पक्ष हो । आरती पैसाको प्रदर्शन, प्रतिस्पर्धाको मञ्च र आडम्बरको अखडा बन्न थाल्छ, तब त्यसको पवित्रता ओझेलमा पर्छ। श्रृंगारिक आरतीको सौन्दर्यमा भक्ति मिसाएर त्यसलाई धर्म, दर्शन र पर्यटनको सेतु बनाउन पर्दछ । श्रृंगारिक आरती धार्मिक आस्थाको सुगन्ध हो । जहाँ भक्तिको फूल फुल्छ र सौन्दर्यमा भक्ति झल्किन्छ। यसले मन्दिरको आन्तरिक वातावरणलाई मात्र होइन, समग्र तीर्थक्षेत्रको सांस्कृतिक छवि र पर्यटन विकासलाई समेत समृद्ध बनाउँछ । यसको संरक्षण, प्रवद्र्धन र मर्यादित सञ्चालन जरुरी छ । ताकि श्रृंगारिक आरती केवल एक धार्मिक विधि नभएर आध्यात्मिक अनुभव र सांस्कृतिक उत्सवको पर्याय बन्न सकोस ।

अर्को तर्फ श्रावण महिनामा गेरु बस्त्र धारण गरेर बोलबम अलाप्दै यात्रा गर्ने तीर्थाटनका पर्यटकहरुको पनि लस्कर देखिन्छ । बोलबमको प्रारम्भ साउनको पहिलो सोमबारबाट सुरु हुन्छ । बोलबम यात्रालाई काँवरीया भनिन्छ । बोलबमका तीर्थयात्रीहरुले काँधमा बोक्ने बाँसको भाटालाई काँवर भनिन्छ । काँवरको दुई छेउमा घैला झुन्डयाएर त्यसमा पानी भरेर शिवजीको मन्दिरमा चढाइन्छ। मन्दिरमा त्यससँगै वेलपत्र, कुशको फूल, शमीको पात, नीलकमल र धतुराको फूलले पूजा गरिन्छ । पछिल्लो समय बोलबमको यात्रा युवा पुस्ताहरुमा पनि आकर्षण हुन थालेको छ । बोलबमको शाब्दीक अर्थ हो, शिवको मन्त्र जप्नु । बोलबमको यात्रामा शिवको मन्त्र उच्चारण गर्दा तीर्थाटनका पर्यटकहरुलाई फाइदा हुन्छ । बोलबमले सात्विक खानपान र उपवास बस्नुपर्ने प्रचलन छ । बोलबममा यात्रा गर्ने तीर्थाटनका पर्यटकहरुले तामासिक जीवनशैली पूर्णत त्याग्नु पर्दछ ।

विश्वको सबैभन्दा पुरानो ग्रन्थ वेद हो । वेदको अधारमा व्याख्या गरिने भएको हुनाले सनातन धर्मलाई वैदिक सनातन धर्म पनि भनिन्छ । सनातन धर्म सबैभन्दा पुरानो तर वैज्ञानिक धर्म मानिन्छ। सनातन धर्म कसैले चलाएको धर्म भने होइन । सनातन धर्मका प्रवर्तक पनि कोही हुँदैनन । साक्षात इश्वर नै सनातन धर्मका प्रवर्तक हुन भन्ने मान्यता रहेको छ। वैदिक सनातन धर्मलाई नै अचेल हिन्दु धर्म भनिन्छ । हिन्दुधर्म नेपालको आफ्नो मौलिक रैथाने धर्म हो । हिन्दुधर्मको मूल आधार वेद हो । वेदको विस्तार वेदव्यासले गरेका हुन । हिन्दुहरुको मूल ग्रन्थ गीता, महाभारत र पुराण लेख्ने व्यास नेपालकै धर्तीका सत्पुत्र हुन । रामायण लेख्ने वाल्मीकि नेपालकै भूमिमा बस्दथिए । तर नेपालमा हिन्दु धर्म मान्य मानिसहरु मात्र नभएर अन्य दश वटा धार्मिक समुदाय रहेका छन । नेपाली समाजमा सबै धर्म समान छन । हिन्दु हुन वा मुस्लिम, किरात हुन वा बौद्ध आपसी प्रगाढ सम्बन्ध रहेको छ । तीर्थाटन पर्यटनका लागि सबै धर्मका मठ मन्दिर, चर्च र मस्जितहरुमा पर्यटकहरु पुग्ने गर्दछन ।

तर मठ मन्दिरमा पुग्ने पर्यटकहरु सबै धर्मका लागि पुग्दैनन् । धर्म धारणा हो, देखावटी पन होइन । इश्वर प्रति विश्वास भए धर्म मान्ने हो । विश्वास नभए नमान्न पनि सकिन्छ, । तर धर्म पालनले धेरुै कुरा सिकाउछ। धर्म कर्तव्य र अनुशासन पनि हो। धर्म भनेको सदभाव पनि हो । सत्विचार पनि हो । सकारात्मक हुनु पनि हो। कृतज्ञ हुनुपनि हो। अर्थात मन शुद्ध हुनु पनि हो। कसैप्रति आग्रह र पूर्वाग्रह नराख्नु धर्म हो । कसैलाई हेला, हेय दृष्टिले हेर्ने, होच्याउने र ढाटछल नगर्नु पनि धर्म हो । अर्को तर्फ कसैको भावनामा चोट नपु¥याउनु पनि धर्म हो । सधै सन्तुलित, सकारात्मक र सही हुनु पनि धर्म हो ।

धार्मिक आस्थाको केन्द्र बन्न पुगेका मन्दिर, तीर्थस्थल र शक्तिपीठहरु केवल पूजाआजा र दर्शनका निम्ति मात्र नभएर सांस्कृतिक पहिचान, पर्यटकीय आकर्षण र शान्तिको खोजीको केन्द्रसमेत बनेका छन । धर्म कुनै एक जाति, सम्प्रदाय, वा अनुष्ठान मात्र होइन । यो त जीवन जीउने उच्चतर मार्ग हो । मन्दिर जानु धर्मको एक माध्यम त हो, तर धर्मको सार होइन । यदि मन्दिर जाँदा तपाईंको मनमा दया जाग्दैन, अरु प्रति आदरभाव राख्दैनौं, सत्य र कर्तव्य पालनमा चुक्नुहुन्छ भने, त्यो साँच्चिकै धर्म होइन केवल कर्मकाण्ड मात्र हो । धर्म भनेको केवल मन्दिर जानु, पूजा गर्नु, वा टीका लगाउनु मात्र होइन । धर्म भनेको आफ्नो सोच, आचरण र व्यवहार मार्फत सत्य, दया, र न्यायमा आधारित जीवन बिताउनु हो ।

आजभोली धर्म प्रदर्शन मुखी देखिएको छ। तर यसको वास्तविकता अन्तर्मनको चेतना र सदाचरणमा लुकेको छ । धर्मको नाममा कतिपय मन्दिरहरुमा धर्मको ब्यापार पनि हुने गरेको छ । लिन जान्ने दिन नजान्ने । मन्दिरमा दानदिदा अर्थात भेटी चढाउदा पुण्य कमाइन्छ । भगवानले बरदान दिन्छन जस्ता कुराहरुको विश्वासमा तीर्थयात्रीहरुले दान दिने गर्दछन । कहिले सस्ंथाको नाममा त कहिले सुख शान्तिको नाममा तीर्थयात्रीहरुले लाखौको रकम दान दिने गर्दछन । यसरी जम्मा हुने रकमको न त्यसको हिसाब हुन्छ, न कुनै आयकर हुन्छ, न त राज्यलाई फाईदा । तर मन्दिरमा पुग्ने तीर्थाटनका पर्यटकहरुलाई खानेपानी, शौचालय जस्ता अति आवस्यक कुराहरु पनि हुँदैन ।

आरतीमा कुनै एक जना प्रमुख हैन, सबै भक्तजन समान सहभागी बनुन। आरतीको सौन्दर्य सजावटमा होइन, भक्ति र संयोजनमा होस । मन्दिरले प्राप्त हुने दान सार्वजनिक गरियोस । दान दिने श्रद्धालुलाई दर्शनीय बनाउने होइन, सदुपयोग सुनिश्चित गरियोस । शिवको महिना साउने पर्वलाई क्षणिक आनन्द र रमाइलो पर्वको रुपमा मात्र नहेरी सनातन धर्म भित्र लुकेको सत्यलाई पहिचान गरी रमाउन सिकौं। अहंकार, घमण्ड र व्यभिचारी भावनालाई परित्याग गरी नैतिकवान र शुद्ध र पवित्र चिन्तनका साथ धर्म र संस्कृतिको संरक्षण गरौँ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker