इलामको चियावारीमा पर्यटकहरुको लुकामारी

के.बि मसाल

इलामको कन्याम जानु भएको छ ? इलामको कन्याममा स्काइ वाक टावर निर्माण गरिएको छ । नयाँ नयाँ साहसिक पर्यटकीय खेलको गन्तव्य भएको छ । यो स्काइ वाक नेपालकै पहिलो हो । यो स्काइ टावर ३ स्टेपमा बनेको छ । दुइ वटा स्टेप चढेर माथि पुगेपछि त्यहाँ पारदर्शी सिसा जडान गरिएको छ । सिसामा उभिँदा पर्यटकहरुलाई आकाशमै उभिए जस्तो महसुस हुने छ । टावरबाट पूर्वी नेपालका १६ जिल्ला, कन्याम वरिपरि चिया बगान, रमणीय डाँडाकाँडा, कञ्चनजंघा हिमालदेखि दार्जिलिङ सिलिगुढीसम्मका रमाइला दृश्य, सूर्योदय र सूर्यास्त समेत देख्न सकिन्छ । टावरसँगै स्काइ रेस्टुरेन्ट पनि सञ्चालन छ । स्काइ वाक गर्ने पर्यटकले भिडियो खिच्ने, ड्रोनबाट फोटो र भिडियो बनाउने मात्र होइन साँस्कृतिक पहिरन लगाएर पर्यटकहरुले फोटो खिच्ने सुबिधा पनि छ ।

आजभोली इलामको कन्याम, पाथीभरा, फिक्कल लगगायत धेरै ठाउमा पर्यटकहरु पुग्दछन । विशेषगरी हरियो गलैंचाझै देखिने कन्याम चियाबारीमा पर्यटकहरु लुकामारी खेल्दछन । कन्याम चियाबारी घुम्ने र भोलिपल्ट झुल्केघाम हेर्ने पर्यटकको सख्या धेरै हुन्छ । नीलो आकाश र थोरै देखिने सेतो हिमाल पृष्ठभूमिमा राखेर आफूसँगै हरियो चियाबारी तस्बिरमा अटाउन पर्यटक लालयित हुन्छन् । हिमाल, पहाड र तराइ एकैठाउँबाट हेर्न सकिने, इलामको चियाबारीले पर्यटकहरु लोभिन्छन । पर्यटकलाई झापा जिल्लाको सिमाना छाडेर इलाम लाग्नेबित्तिकै रमाइलो अनुभव हुन्छ । कोल्बुङको उकालो सुरु भएसँगै मेची राजमार्ग वरपर चियाका बुट्टामात्र होइन, इलामे किसानको पौरख समेत पर्यटकहरुले बाटोमै देख्दछन । अकबरे खोर्सानी, मौसमी र बेमौसमी तरकारी, फलफूल अनि काँक्रा किसानहरुले उज्यालो नहुँदै सडकसम्म ल्याइसकेका हुन्छन् ।

पर्यटकहरु इलाम जाँदा बाटोमा पर्ने कुटीडाँडाको सिँढी उक्लिएर बहिनी पाथीभराको मन्दिर पुगिन्छ । सानो पाथीभरा मन्दिर इलामको रोङ गाउँपालिकामा पर्दछ । सानो पाथीभरा मन्दिर पुग्न कुटीडाँडादेखि ८ सय मिटर उकालो पर्यटकहरुले पैदल यात्रा गर्नु पर्दछ । बहिनी पाथीभरा जान १ हजार ३३ ओटा खुडिकला अर्थात सिढी चढदा पर्यटकले छुट्टै अनुभूति गर्दछन । इलामको पाथीभरालाई ताप्लेजुङको पाथीभरा देवीकी अन्तरी बहिनी भनेर चिनिने गर्दछ । बहिनी पाथीभरा मन्दिरमा प्रत्येक शनिबार र मगलबार अन्य दिन भन्दा तीर्थाटन पर्यटकहरुको भीड लाग्ने गर्दछ । मन्दिरमा विवाह, व्रतबन्ध तथा पुराणजस्ता उत्सव पनि हुने गर्दछ । बहिनी पाथीभरा दर्शन पछि मेची राजमार्ग आसपासमा दर्जनौं गाउँहरु र प्राकृतिक सम्पदाको अवलोकन गर्दै कन्याममा पुगिन्छ ।

कन्याम मेची राजमार्ग सँगै जोडिएको छ । कन्याम इलामको सूर्योदय नगरपालिकामा पर्दछ । कन्याम झापाबाट इलाम जादा बाटोमा नै पदर्छ । धेरै पर्यटकहरु इलाम जादा कन्यामबाट नै फर्कने गर्दछन । तराइ र राजधानी लगायतबाट इलाम जादा सवैभन्दा पहिला कन्याम आउने भएकाले पनि धेरै पर्यटकलाई इलामको प्रमुख पर्यटकिय गन्तब्य कन्यामनै हो जस्तो लाग्छ । चियावारीको सुन्दरताले कन्याम धेरै पर्यटकहरुको रोजाइमा पर्दछ । तर चियावारी कन्याममा मात्र छैन । इलाम जिल्लाका अन्य धेरै गाउँमा पनि प्राकृतिक चुचुरा भित्र हरिया चियाका बुट्टा छ । कन्याम तराइको गर्मीबाट केही दिन र समयको लागि इलाम जाने पर्यटकहरुका लागि सितल छहारी जस्तै छ । अझ गर्मी छल्न जाने पर्यटकहरुका लागि त कन्याम प्राकृतिक एयर कन्डिशन नै बनिदिन्छ । भुइ कुहिरोको घुम्टोभित्र लुकाउँदै पर्यटकलाई कन्यामले नयाँ उमंग थप्ने गर्दछ । छिनछिनमा बदली रहने मौसम र क्षणभरमै ढपक्क ढाक्ने भुइकुहीरो बीच मुस्कुराउने कन्यामको विषेशताले पर्यटकहरुलाई लोभ्याउने गर्दछ । क्षण भरमै भुइकुहिरो लाग्ने र क्षणभरमै मौषम खुल्ने कन्यामको बिषेशता नै हो ।

पछिल्लो समय मेचीराजमार्गलाई फराकिलो वनाउदै आकर्षक पूर्वाधार निर्माण भएपछि कन्यामको सुन्दर्यता झनै थपिएको छ । बिभिन्न जातजातीको भेषभूसामा सजिएर घोडाचढीको आनन्द लिदै चियावारी फन्को मार्ने, लुकामारी खेल्ने, सेल्फी खिच्ने र टिकटक वनाउने अबसर कन्याममा भएपछि युवा पुस्ता रमाएका छन । कन्यामका थुम्काथुम्कामा पुग्नका लागि घोडा चढने गरेका पर्यटक परम्परागत पहिरन लगाएर चिया बगानमा तस्बीर खिचेर रमाउँछन् । कन्याममा विभिन्न जातजातिका पोशाक लगाएर फोटो खिच्ने पर्यटकहरु पनि धेरै हुन्छन । युवा पर्यटकहरुले राइ, गुरुङ, लिम्बू, शेर्पा, तामाङ, मगर, सुनुवार, लोपोन्मुख लेप्चा जातिको पोशाक लगाएर फोटो मात्र होइन टिकटक र भिडिओ समेत बनाउँछन । परम्परागत पहिरनमा पर्यटक आकर्षित हुन थालेपछि कन्यामका पर्यटन व्यवसायीले मनग्य आम्दानी गर्न थालेका छन् । कन्याममा अहिले फोटो व्यवसायीको संख्या समेत बढदै गएको छ । चियाको पर्याय बनेको कन्याम वनभोज स्थलले पनि चर्चित छ । कन्याम, नजिकैको हाँसपोखरी, कुटीडाँडा, पाथीभरा मन्दिर, करफोक, फिक्कललगायत क्षेत्रमा तराइमा असाध्यै गर्मी हुने भएकाले चिसोको आनन्द लिन पर्यटक पुग्ने गर्दछन । चियाबगानको दृश्यावलोकन, पिकनिक तथा घुमफिरका लागि कन्याम पुग्ने पर्यटकहरुले दिन बितेको पत्तै पाउँदैनन् । विशेष गरेर शनिबार कन्याममा धेरै पर्यटक पुग्ने गरेका छन् । शनिबारको दिन त मेची राजमार्ग क्षेत्रमा ट्राफिक जाम हुने गर्दछ । इलाम जाने पर्यटकहरु दिउँसो कन्याम र रात अन्तुमा बिताउने योजना बनाएर जाने गर्दछन् ।

नेपालकै ठूलो अर्थोडक्स चिया कारखाना, ऐतिहासिक चिया बगान रहेको कन्याममा टि टेस्टिङ तथा प्रमोसोनल सेन्टर, सहिद पार्क र बिभिन्न जातजातीको भेषभूसाको प्रदर्शन जस्ता पूर्वाधार बिकासले पनि खोज अनुसन्धानमा जाने पर्यटकहरुका लागि सहज भएको छ । कन्यामकै पर्यटकीय विषेशताका कारण हर्कटे, पाल्टांगी, छिपिटार, फिक्कललगायत क्षेत्रमा दर्जनौं सुविधा सम्पन्न होटलहरु खुलेका छन्। स्थानीयलाई सानो लगानीमा पनि राम्रो आम्दानी लिनकालागि कन्याम क्षेत्रका कोशेली घरले सघाएको छ । हिमश्रृंखलासहित नेपाल र भारतका थुप्रै स्थान कन्यामबाट देख्न सकिन्छ । चलचित्र र म्यूजिक भिडियोको सुटिङ कन्याममा आजभोली बाक्लै हुने गरेको छ । बाह्रै महिना आन्तरिक तथा बाहृय पर्यटकहरुको घुइँचो लाग्ने कन्याममा भारतको दार्जिलिङ, सिक्किम, मिरिक, कालेङपोङ, करसाङ, सिलगुढी लगायतका शहर र नेपालका झापा मोरङ उदयपुर, काठमाण्डौं, सुनसरी, इटहरी लगायतका विभिन्न जिल्लाबाट कन्याम पयर्टकहरु पुग्दछन । बाह्रै महिना चिसो हावापानी, लहरै मिलेर डाँडै ढाक्ने गरी रहेको चिया बगान, लभडाँडा, देउराली डाँडा, हावासँगै सुसाउने सल्लाघारी, लेप्चा र नेवार जातीको परम्परागत सांस्कृतिक, ग्रामीण रहनसहन र रीतिरिवाज कन्यामका प्रमुख आकर्षणहरु हुन्।

कन्यामबाट करिब १० किलोमिटरमा फिक्कल र १३ किलोमिटरमा अन्तुडाँडा पर्छ । फिक्कलमा पर्यटकहरुले छुर्पी, बम्बइसन, ललीपप, घ्यू, अकबरे खुर्सानीलगायत स्थानीय उत्पादन आफुले चाहेका बस्तुहरु किन्न सक्दछन । इलाममा बसोबास गर्ने लोपोन्मुख जाति लेप्चाको पनि यही क्षेत्रमा बसोबास छ । इलामको भौगोलिक बनोट, चिया, अम्लिसो, अदुवा, अलैँची, अकबरे खुर्सानी, ओलनजस्ता नगदे बालीले सुधारिएको जीवनशैली देख्दा पर्यटकहरु दंग पर्दछन । प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता, अनुकूल हावापानी, जैविक विविधताको प्रचुरता र विभिन्न जनजातिहरुको मौलिक संस्कृतिको अध्यन अवलोकन गर्न तेस्रो मुलुकबाट पनि पर्यटकहरु बर्सेनी इलाम पुग्दछन । इलाम पाँचथर र झापाको बीचमा पर्दछ । सन्दकपुर, माईपोखरी, श्रीअन्तु, कन्याम, छिन्तापु, ढापपोखरी, सिद्धिथुम्का, गजुरमुखी, माङसेबुङ, भालुढुङ्गा, इलामको बजार, झयाउपोखरी, गुफाथुम्कीजस्ता पर्यटकीय स्थलहरु इलाम पुगेपछि पुग्न सके राम्रो हुन्छ ।

इलामलाई धेरै पर्यटकहरुले स्वर्गको उपमा लिने गर्दछन् । कसैले इलामलाई नकुँदिएको हिरा समेत भन्ने गर्दछन । इलाम पहाडकी रानी, नगदेबालीको खानी जस्ता उपनामले पनि चिनिन्छ । इलामलाई विभिन्न ‘अ’को जिल्ला भनेर पनि चिनिन्छ । ‘अ’को अर्थ अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन -दुध), अम्लिसो, आलु र अतिथि सत्कार हुन्छ । पूर्व-पश्चिम राजमार्गको चारआलीबाट ७८ किलोमिटर मेची राजमार्गको यात्रा गरेपछि इलाम बजार पुगिन्छ । पर्यटक भित्राउन खासै नयाँ कुरा चाहिँदैन । तर नौलो अनि फरक हुन आवश्यक पर्ने रहेछ । इलाममा चियाबारीको लभडाँडा भन्ने स्थानमा जमिनबाट ठाडो पारेर उठाइएको हातको नाडीमा लिस्नो अर्थात भर्‍याङ निर्माण गरिएको छ । लिस्नोबाट चढेर हत्केलामा पुगी तस्विर खिचाउनेको भीड नै लाग्ने गर्दछ । इलामको चोकबजारमा राखिएको चिया टिप्दै गरेको मूर्तिले सबै पर्यटकहरुलाई स्वागत गर्दछ । चियाको बोटबाट चिया टिपेर डोकोमा राख्दै गरेको झैँ देखिने मूर्ति इलामको पहिचान भएको छ ।

नेपालमा सबैभन्दा पहिला चिया रोपिएको ठाउँ भएका कारण पनि लभडाँडा क्षेत्र ऐतिहासिक मानिन्छ । चियाबगान क्षेत्रको लभडाँडा क्षेत्रमा नेपालमा चियाखेती सुरुआत गर्ने इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाको प्रतिमासहित पर्यटनको लागि पूर्वाधार निर्माण गरिएको छ । गजराजसिंह थापा तत्कालीन श्री ३ प्रधानमन्त्री जगबहादुर राणाका ज्वाइँ थिए । चिया भिरालो पहाडी क्षेत्रमा उत्पादन हुने नगदेबाली हो । चिया उत्पादनको शुरुआत चीनबाट भएको मानिन्छ । नेपालमा चियाखेतीको इतिहास करिब १४३ बर्ष पुरानो रहेको छ । चियाको बेर्ना चीन सरकारले प्रधानमन्त्री जँगबहादुर राणालाई उपहार दिएका थिए । विक्रम सम्बत १९२० मा इलाममा बडाहाकिम भएका गजराज सिंह थापाले चीनबाट उपहारस्वरुप प्राप्त चियाको विरुवा इलामको चियाबगानमा रोपेपछि नेपालमा चिया खेतीको सुरुवात भएको मानिन्छ । चियाको वैज्ञानिक नाम क्यामेलिया साइनेनसिस हो । चिया मुख्य गरी तीन चिनिया, आसामी र क्याम्बोड प्रजातीका बिरुवा हुन्छन । चियावारीबाट टिपेको चियालाई तीन किसिममा तयारी गरिन्छ । कालो चिया, हरियो चिया र ओलाङचिया हुन्छ । सिटीसी र अर्थोडक्स कालो चिया हो । हरियो चिया फरमेन्टेड गरिएको हुँदैन । ओलाङ चिया आधी फरमेन्टेड गरिएको हुन्छ । करिब १६० बर्ष अगाडि अर्थात वि.सं. १९२० मा इलाममा प्रवेश गरको चिया खेतीले व्यावसायिक रुप लिएको करिब ६ दशक मात्र भएको छ । इलाममा उत्पादित चिया भारत, पाकिस्तान, बंगलादेश, जर्मन, अमेरिका, जापान, हल्यान्ड आदि देशमा निर्यात गरीन्छ ।

इलाम बजारदेखि १३ किलोमिटर उत्तरको रामसार क्षेत्रमा सूचीकृत माईपोखरी इलाम जादा पुग्नै पर्ने हुन्छ । माईपोखरी क्षेत्रमा विभिन्न प्रजातीका चराचचुरुङ्गी, दुर्लभ वन्यजन्तु र वनस्पती पाइन्छन् । माईपोखरी नेपालको मात्र नभएर विश्वको एक संरक्षण क्षेत्र तथा पर्यटकीय गन्तव्य हो । माई अर्थात आमा र पोखरी अर्थात तलाउ शाब्दिक अर्थ भएको ९ वटा कुनामा फैलिएको माईपोखरीबाट जलदेवताको जन्म भएको विश्वास गरिन्छ । बलिप्रथा निषेध रहेको माईपोखरीमा मनोकामना पूर्ण होस भनेर भाकल गर्ने र परेवा उडाउने प्रचलन रहेको छ । अन्तुडाँडा सूर्योदयका लागि उत्कृष्ट गन्तव्य हो । अन्तुडाँडाबाट कञ्चनजंघा हिमाल र भारतीय सीमावर्ती क्षेत्रको राम्ररी अवलोकन गर्न सकिन्छ । नेपालको पूर्वी सिमाना मेची नदीको उदगमस्थल समेत अन्तु क्षेत्रमा पर्दछ । अन्तुमा पर्यटक झुल्केघामको दृश्यावलोकन गर्न पुग्दछन । यस्तै अन्तु पोखरीमा डुङ्गा सयर गर्न र घोडचढी गरी चिया बगान डुल्न पर्यटकहरु रुचाउँछन् । चियाबारी, फूलबारीभित्र चिटिक्कै सजाइएका काठेघर अनि स्थानीय उत्पादनको स्वाद चखाउँदै चलाइएका होमस्टेले पनि अन्तुमा पर्यटकलाई तान्ने गरेको छ । इलामको पूर्वी क्षेत्रमा पर्ने अन्तुमा लोपोन्मुख लेप्चा जातिको संस्कृति, अन्तु पोखरी, हराभरा चियाबारी, अतिथि सत्कार अन्तुमा पर्यटकका लागि लोभलाग्दो हुन्छ । इलाममा पछिल्लो समय होटलहरूमा भन्दा होमस्टेमा बस्ने पर्यटकहरु बढदै गएका छन् । विदेशी पर्यटकहरु समेत महिनौंसम्म इलामका होमस्टेमा बसेर चियाबगानको रसस्वाद लिने गर्दछन ।

सन्दकपुर इलामको उत्तरी क्षेत्रमा पर्दछ । भारतसँग सिमा जोडिएको सन्दकपुर पुग्न सदरमुकामबाट करिब ५० किलोमिटर पार गर्नुपर्छ। सन्दकपुरबाट सगरमाथा, कञ्चनजंगा लगायत नेपाल, भारत र भुटानका थुप्रै हिमालको दृश्य अवलोकन गर्न सकिन्छ । यो क्षेत्र धार्मिक र जैविक विविधताले पनि महत्वपूर्ण छ । यहाँ चैत वैशाखमा डाँडै ढाक्ने गरी ढकमक्क फुलेको गुराँसले पर्यटकहरुको मन लोभ्याउने गर्दछ। सन्दकपुर सगरमाथा र कञ्चनजंगा हिमाललाई १ सय ८० डिग्रीको सोझो रेखामा देख्न सकिने दक्षिण एशियाकै एक मात्र स्थान हो । सन्दकपुरबाट सूर्योदय र सूर्यास्तको राम्रो अवलोकन गर्न सकिन्छ । सन्दकपुर पुग्ने पर्यटकले दर्जनौं प्रजातिका लालीगुराँस हेरेर आनन्द लिने गर्दछन् । सन्दकपुरमा असोज, कात्तिक, चैत र वैशाखमा पर्यटकहरुको चाप बढि हुने गर्दछ । पुस र माघ महिनामा हिमपात हुने भएकाले यो मौसममा हिउँ खेल्न पुग्ने पर्यटकको सख्या बढि हुन्छ । इलाम बजारबाट सन्दकपुर जान माबु, कालपोखरी हुँदै मोटरबाट यात्रा गर्न सकिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker