इलामको चियावारीमा पर्यटकहरुको लुकामारी
के.बि मसाल

इलामको कन्याम जानु भएको छ ? इलामको कन्याममा स्काइ वाक टावर निर्माण गरिएको छ । नयाँ नयाँ साहसिक पर्यटकीय खेलको गन्तव्य भएको छ । यो स्काइ वाक नेपालकै पहिलो हो । यो स्काइ टावर ३ स्टेपमा बनेको छ । दुइ वटा स्टेप चढेर माथि पुगेपछि त्यहाँ पारदर्शी सिसा जडान गरिएको छ । सिसामा उभिँदा पर्यटकहरुलाई आकाशमै उभिए जस्तो महसुस हुने छ । टावरबाट पूर्वी नेपालका १६ जिल्ला, कन्याम वरिपरि चिया बगान, रमणीय डाँडाकाँडा, कञ्चनजंघा हिमालदेखि दार्जिलिङ सिलिगुढीसम्मका रमाइला दृश्य, सूर्योदय र सूर्यास्त समेत देख्न सकिन्छ । टावरसँगै स्काइ रेस्टुरेन्ट पनि सञ्चालन छ । स्काइ वाक गर्ने पर्यटकले भिडियो खिच्ने, ड्रोनबाट फोटो र भिडियो बनाउने मात्र होइन साँस्कृतिक पहिरन लगाएर पर्यटकहरुले फोटो खिच्ने सुबिधा पनि छ ।
आजभोली इलामको कन्याम, पाथीभरा, फिक्कल लगगायत धेरै ठाउमा पर्यटकहरु पुग्दछन । विशेषगरी हरियो गलैंचाझै देखिने कन्याम चियाबारीमा पर्यटकहरु लुकामारी खेल्दछन । कन्याम चियाबारी घुम्ने र भोलिपल्ट झुल्केघाम हेर्ने पर्यटकको सख्या धेरै हुन्छ । नीलो आकाश र थोरै देखिने सेतो हिमाल पृष्ठभूमिमा राखेर आफूसँगै हरियो चियाबारी तस्बिरमा अटाउन पर्यटक लालयित हुन्छन् । हिमाल, पहाड र तराइ एकैठाउँबाट हेर्न सकिने, इलामको चियाबारीले पर्यटकहरु लोभिन्छन । पर्यटकलाई झापा जिल्लाको सिमाना छाडेर इलाम लाग्नेबित्तिकै रमाइलो अनुभव हुन्छ । कोल्बुङको उकालो सुरु भएसँगै मेची राजमार्ग वरपर चियाका बुट्टामात्र होइन, इलामे किसानको पौरख समेत पर्यटकहरुले बाटोमै देख्दछन । अकबरे खोर्सानी, मौसमी र बेमौसमी तरकारी, फलफूल अनि काँक्रा किसानहरुले उज्यालो नहुँदै सडकसम्म ल्याइसकेका हुन्छन् ।
पर्यटकहरु इलाम जाँदा बाटोमा पर्ने कुटीडाँडाको सिँढी उक्लिएर बहिनी पाथीभराको मन्दिर पुगिन्छ । सानो पाथीभरा मन्दिर इलामको रोङ गाउँपालिकामा पर्दछ । सानो पाथीभरा मन्दिर पुग्न कुटीडाँडादेखि ८ सय मिटर उकालो पर्यटकहरुले पैदल यात्रा गर्नु पर्दछ । बहिनी पाथीभरा जान १ हजार ३३ ओटा खुडिकला अर्थात सिढी चढदा पर्यटकले छुट्टै अनुभूति गर्दछन । इलामको पाथीभरालाई ताप्लेजुङको पाथीभरा देवीकी अन्तरी बहिनी भनेर चिनिने गर्दछ । बहिनी पाथीभरा मन्दिरमा प्रत्येक शनिबार र मगलबार अन्य दिन भन्दा तीर्थाटन पर्यटकहरुको भीड लाग्ने गर्दछ । मन्दिरमा विवाह, व्रतबन्ध तथा पुराणजस्ता उत्सव पनि हुने गर्दछ । बहिनी पाथीभरा दर्शन पछि मेची राजमार्ग आसपासमा दर्जनौं गाउँहरु र प्राकृतिक सम्पदाको अवलोकन गर्दै कन्याममा पुगिन्छ ।
कन्याम मेची राजमार्ग सँगै जोडिएको छ । कन्याम इलामको सूर्योदय नगरपालिकामा पर्दछ । कन्याम झापाबाट इलाम जादा बाटोमा नै पदर्छ । धेरै पर्यटकहरु इलाम जादा कन्यामबाट नै फर्कने गर्दछन । तराइ र राजधानी लगायतबाट इलाम जादा सवैभन्दा पहिला कन्याम आउने भएकाले पनि धेरै पर्यटकलाई इलामको प्रमुख पर्यटकिय गन्तब्य कन्यामनै हो जस्तो लाग्छ । चियावारीको सुन्दरताले कन्याम धेरै पर्यटकहरुको रोजाइमा पर्दछ । तर चियावारी कन्याममा मात्र छैन । इलाम जिल्लाका अन्य धेरै गाउँमा पनि प्राकृतिक चुचुरा भित्र हरिया चियाका बुट्टा छ । कन्याम तराइको गर्मीबाट केही दिन र समयको लागि इलाम जाने पर्यटकहरुका लागि सितल छहारी जस्तै छ । अझ गर्मी छल्न जाने पर्यटकहरुका लागि त कन्याम प्राकृतिक एयर कन्डिशन नै बनिदिन्छ । भुइ कुहिरोको घुम्टोभित्र लुकाउँदै पर्यटकलाई कन्यामले नयाँ उमंग थप्ने गर्दछ । छिनछिनमा बदली रहने मौसम र क्षणभरमै ढपक्क ढाक्ने भुइकुहीरो बीच मुस्कुराउने कन्यामको विषेशताले पर्यटकहरुलाई लोभ्याउने गर्दछ । क्षण भरमै भुइकुहिरो लाग्ने र क्षणभरमै मौषम खुल्ने कन्यामको बिषेशता नै हो ।
पछिल्लो समय मेचीराजमार्गलाई फराकिलो वनाउदै आकर्षक पूर्वाधार निर्माण भएपछि कन्यामको सुन्दर्यता झनै थपिएको छ । बिभिन्न जातजातीको भेषभूसामा सजिएर घोडाचढीको आनन्द लिदै चियावारी फन्को मार्ने, लुकामारी खेल्ने, सेल्फी खिच्ने र टिकटक वनाउने अबसर कन्याममा भएपछि युवा पुस्ता रमाएका छन । कन्यामका थुम्काथुम्कामा पुग्नका लागि घोडा चढने गरेका पर्यटक परम्परागत पहिरन लगाएर चिया बगानमा तस्बीर खिचेर रमाउँछन् । कन्याममा विभिन्न जातजातिका पोशाक लगाएर फोटो खिच्ने पर्यटकहरु पनि धेरै हुन्छन । युवा पर्यटकहरुले राइ, गुरुङ, लिम्बू, शेर्पा, तामाङ, मगर, सुनुवार, लोपोन्मुख लेप्चा जातिको पोशाक लगाएर फोटो मात्र होइन टिकटक र भिडिओ समेत बनाउँछन । परम्परागत पहिरनमा पर्यटक आकर्षित हुन थालेपछि कन्यामका पर्यटन व्यवसायीले मनग्य आम्दानी गर्न थालेका छन् । कन्याममा अहिले फोटो व्यवसायीको संख्या समेत बढदै गएको छ । चियाको पर्याय बनेको कन्याम वनभोज स्थलले पनि चर्चित छ । कन्याम, नजिकैको हाँसपोखरी, कुटीडाँडा, पाथीभरा मन्दिर, करफोक, फिक्कललगायत क्षेत्रमा तराइमा असाध्यै गर्मी हुने भएकाले चिसोको आनन्द लिन पर्यटक पुग्ने गर्दछन । चियाबगानको दृश्यावलोकन, पिकनिक तथा घुमफिरका लागि कन्याम पुग्ने पर्यटकहरुले दिन बितेको पत्तै पाउँदैनन् । विशेष गरेर शनिबार कन्याममा धेरै पर्यटक पुग्ने गरेका छन् । शनिबारको दिन त मेची राजमार्ग क्षेत्रमा ट्राफिक जाम हुने गर्दछ । इलाम जाने पर्यटकहरु दिउँसो कन्याम र रात अन्तुमा बिताउने योजना बनाएर जाने गर्दछन् ।
नेपालकै ठूलो अर्थोडक्स चिया कारखाना, ऐतिहासिक चिया बगान रहेको कन्याममा टि टेस्टिङ तथा प्रमोसोनल सेन्टर, सहिद पार्क र बिभिन्न जातजातीको भेषभूसाको प्रदर्शन जस्ता पूर्वाधार बिकासले पनि खोज अनुसन्धानमा जाने पर्यटकहरुका लागि सहज भएको छ । कन्यामकै पर्यटकीय विषेशताका कारण हर्कटे, पाल्टांगी, छिपिटार, फिक्कललगायत क्षेत्रमा दर्जनौं सुविधा सम्पन्न होटलहरु खुलेका छन्। स्थानीयलाई सानो लगानीमा पनि राम्रो आम्दानी लिनकालागि कन्याम क्षेत्रका कोशेली घरले सघाएको छ । हिमश्रृंखलासहित नेपाल र भारतका थुप्रै स्थान कन्यामबाट देख्न सकिन्छ । चलचित्र र म्यूजिक भिडियोको सुटिङ कन्याममा आजभोली बाक्लै हुने गरेको छ । बाह्रै महिना आन्तरिक तथा बाहृय पर्यटकहरुको घुइँचो लाग्ने कन्याममा भारतको दार्जिलिङ, सिक्किम, मिरिक, कालेङपोङ, करसाङ, सिलगुढी लगायतका शहर र नेपालका झापा मोरङ उदयपुर, काठमाण्डौं, सुनसरी, इटहरी लगायतका विभिन्न जिल्लाबाट कन्याम पयर्टकहरु पुग्दछन । बाह्रै महिना चिसो हावापानी, लहरै मिलेर डाँडै ढाक्ने गरी रहेको चिया बगान, लभडाँडा, देउराली डाँडा, हावासँगै सुसाउने सल्लाघारी, लेप्चा र नेवार जातीको परम्परागत सांस्कृतिक, ग्रामीण रहनसहन र रीतिरिवाज कन्यामका प्रमुख आकर्षणहरु हुन्।
कन्यामबाट करिब १० किलोमिटरमा फिक्कल र १३ किलोमिटरमा अन्तुडाँडा पर्छ । फिक्कलमा पर्यटकहरुले छुर्पी, बम्बइसन, ललीपप, घ्यू, अकबरे खुर्सानीलगायत स्थानीय उत्पादन आफुले चाहेका बस्तुहरु किन्न सक्दछन । इलाममा बसोबास गर्ने लोपोन्मुख जाति लेप्चाको पनि यही क्षेत्रमा बसोबास छ । इलामको भौगोलिक बनोट, चिया, अम्लिसो, अदुवा, अलैँची, अकबरे खुर्सानी, ओलनजस्ता नगदे बालीले सुधारिएको जीवनशैली देख्दा पर्यटकहरु दंग पर्दछन । प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता, अनुकूल हावापानी, जैविक विविधताको प्रचुरता र विभिन्न जनजातिहरुको मौलिक संस्कृतिको अध्यन अवलोकन गर्न तेस्रो मुलुकबाट पनि पर्यटकहरु बर्सेनी इलाम पुग्दछन । इलाम पाँचथर र झापाको बीचमा पर्दछ । सन्दकपुर, माईपोखरी, श्रीअन्तु, कन्याम, छिन्तापु, ढापपोखरी, सिद्धिथुम्का, गजुरमुखी, माङसेबुङ, भालुढुङ्गा, इलामको बजार, झयाउपोखरी, गुफाथुम्कीजस्ता पर्यटकीय स्थलहरु इलाम पुगेपछि पुग्न सके राम्रो हुन्छ ।
इलामलाई धेरै पर्यटकहरुले स्वर्गको उपमा लिने गर्दछन् । कसैले इलामलाई नकुँदिएको हिरा समेत भन्ने गर्दछन । इलाम पहाडकी रानी, नगदेबालीको खानी जस्ता उपनामले पनि चिनिन्छ । इलामलाई विभिन्न ‘अ’को जिल्ला भनेर पनि चिनिन्छ । ‘अ’को अर्थ अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन -दुध), अम्लिसो, आलु र अतिथि सत्कार हुन्छ । पूर्व-पश्चिम राजमार्गको चारआलीबाट ७८ किलोमिटर मेची राजमार्गको यात्रा गरेपछि इलाम बजार पुगिन्छ । पर्यटक भित्राउन खासै नयाँ कुरा चाहिँदैन । तर नौलो अनि फरक हुन आवश्यक पर्ने रहेछ । इलाममा चियाबारीको लभडाँडा भन्ने स्थानमा जमिनबाट ठाडो पारेर उठाइएको हातको नाडीमा लिस्नो अर्थात भर्याङ निर्माण गरिएको छ । लिस्नोबाट चढेर हत्केलामा पुगी तस्विर खिचाउनेको भीड नै लाग्ने गर्दछ । इलामको चोकबजारमा राखिएको चिया टिप्दै गरेको मूर्तिले सबै पर्यटकहरुलाई स्वागत गर्दछ । चियाको बोटबाट चिया टिपेर डोकोमा राख्दै गरेको झैँ देखिने मूर्ति इलामको पहिचान भएको छ ।
नेपालमा सबैभन्दा पहिला चिया रोपिएको ठाउँ भएका कारण पनि लभडाँडा क्षेत्र ऐतिहासिक मानिन्छ । चियाबगान क्षेत्रको लभडाँडा क्षेत्रमा नेपालमा चियाखेती सुरुआत गर्ने इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाको प्रतिमासहित पर्यटनको लागि पूर्वाधार निर्माण गरिएको छ । गजराजसिंह थापा तत्कालीन श्री ३ प्रधानमन्त्री जगबहादुर राणाका ज्वाइँ थिए । चिया भिरालो पहाडी क्षेत्रमा उत्पादन हुने नगदेबाली हो । चिया उत्पादनको शुरुआत चीनबाट भएको मानिन्छ । नेपालमा चियाखेतीको इतिहास करिब १४३ बर्ष पुरानो रहेको छ । चियाको बेर्ना चीन सरकारले प्रधानमन्त्री जँगबहादुर राणालाई उपहार दिएका थिए । विक्रम सम्बत १९२० मा इलाममा बडाहाकिम भएका गजराज सिंह थापाले चीनबाट उपहारस्वरुप प्राप्त चियाको विरुवा इलामको चियाबगानमा रोपेपछि नेपालमा चिया खेतीको सुरुवात भएको मानिन्छ । चियाको वैज्ञानिक नाम क्यामेलिया साइनेनसिस हो । चिया मुख्य गरी तीन चिनिया, आसामी र क्याम्बोड प्रजातीका बिरुवा हुन्छन । चियावारीबाट टिपेको चियालाई तीन किसिममा तयारी गरिन्छ । कालो चिया, हरियो चिया र ओलाङचिया हुन्छ । सिटीसी र अर्थोडक्स कालो चिया हो । हरियो चिया फरमेन्टेड गरिएको हुँदैन । ओलाङ चिया आधी फरमेन्टेड गरिएको हुन्छ । करिब १६० बर्ष अगाडि अर्थात वि.सं. १९२० मा इलाममा प्रवेश गरको चिया खेतीले व्यावसायिक रुप लिएको करिब ६ दशक मात्र भएको छ । इलाममा उत्पादित चिया भारत, पाकिस्तान, बंगलादेश, जर्मन, अमेरिका, जापान, हल्यान्ड आदि देशमा निर्यात गरीन्छ ।
इलाम बजारदेखि १३ किलोमिटर उत्तरको रामसार क्षेत्रमा सूचीकृत माईपोखरी इलाम जादा पुग्नै पर्ने हुन्छ । माईपोखरी क्षेत्रमा विभिन्न प्रजातीका चराचचुरुङ्गी, दुर्लभ वन्यजन्तु र वनस्पती पाइन्छन् । माईपोखरी नेपालको मात्र नभएर विश्वको एक संरक्षण क्षेत्र तथा पर्यटकीय गन्तव्य हो । माई अर्थात आमा र पोखरी अर्थात तलाउ शाब्दिक अर्थ भएको ९ वटा कुनामा फैलिएको माईपोखरीबाट जलदेवताको जन्म भएको विश्वास गरिन्छ । बलिप्रथा निषेध रहेको माईपोखरीमा मनोकामना पूर्ण होस भनेर भाकल गर्ने र परेवा उडाउने प्रचलन रहेको छ । अन्तुडाँडा सूर्योदयका लागि उत्कृष्ट गन्तव्य हो । अन्तुडाँडाबाट कञ्चनजंघा हिमाल र भारतीय सीमावर्ती क्षेत्रको राम्ररी अवलोकन गर्न सकिन्छ । नेपालको पूर्वी सिमाना मेची नदीको उदगमस्थल समेत अन्तु क्षेत्रमा पर्दछ । अन्तुमा पर्यटक झुल्केघामको दृश्यावलोकन गर्न पुग्दछन । यस्तै अन्तु पोखरीमा डुङ्गा सयर गर्न र घोडचढी गरी चिया बगान डुल्न पर्यटकहरु रुचाउँछन् । चियाबारी, फूलबारीभित्र चिटिक्कै सजाइएका काठेघर अनि स्थानीय उत्पादनको स्वाद चखाउँदै चलाइएका होमस्टेले पनि अन्तुमा पर्यटकलाई तान्ने गरेको छ । इलामको पूर्वी क्षेत्रमा पर्ने अन्तुमा लोपोन्मुख लेप्चा जातिको संस्कृति, अन्तु पोखरी, हराभरा चियाबारी, अतिथि सत्कार अन्तुमा पर्यटकका लागि लोभलाग्दो हुन्छ । इलाममा पछिल्लो समय होटलहरूमा भन्दा होमस्टेमा बस्ने पर्यटकहरु बढदै गएका छन् । विदेशी पर्यटकहरु समेत महिनौंसम्म इलामका होमस्टेमा बसेर चियाबगानको रसस्वाद लिने गर्दछन ।
सन्दकपुर इलामको उत्तरी क्षेत्रमा पर्दछ । भारतसँग सिमा जोडिएको सन्दकपुर पुग्न सदरमुकामबाट करिब ५० किलोमिटर पार गर्नुपर्छ। सन्दकपुरबाट सगरमाथा, कञ्चनजंगा लगायत नेपाल, भारत र भुटानका थुप्रै हिमालको दृश्य अवलोकन गर्न सकिन्छ । यो क्षेत्र धार्मिक र जैविक विविधताले पनि महत्वपूर्ण छ । यहाँ चैत वैशाखमा डाँडै ढाक्ने गरी ढकमक्क फुलेको गुराँसले पर्यटकहरुको मन लोभ्याउने गर्दछ। सन्दकपुर सगरमाथा र कञ्चनजंगा हिमाललाई १ सय ८० डिग्रीको सोझो रेखामा देख्न सकिने दक्षिण एशियाकै एक मात्र स्थान हो । सन्दकपुरबाट सूर्योदय र सूर्यास्तको राम्रो अवलोकन गर्न सकिन्छ । सन्दकपुर पुग्ने पर्यटकले दर्जनौं प्रजातिका लालीगुराँस हेरेर आनन्द लिने गर्दछन् । सन्दकपुरमा असोज, कात्तिक, चैत र वैशाखमा पर्यटकहरुको चाप बढि हुने गर्दछ । पुस र माघ महिनामा हिमपात हुने भएकाले यो मौसममा हिउँ खेल्न पुग्ने पर्यटकको सख्या बढि हुन्छ । इलाम बजारबाट सन्दकपुर जान माबु, कालपोखरी हुँदै मोटरबाट यात्रा गर्न सकिन्छ ।










